‘सापटी काका’ जसले चामल साटेर फि तिर्थे

विजय नेपाल
पौष २१, २०८०
sapati kaka 1

पोखरा । २०४६ सालतिरको घटना हो, बाबु बित्दा ४ कक्षामात्र पढ्थे उनी । त्यसपछि एक दशकसम्म त आफूले पेटभरि खान नपाएको तीतो यथार्थ छ, उनीसँग । अहिलेका चर्चित लेखक तथा निर्देशक दिवाकर भण्डारीले भलाकुसारीबीच विगतको कहानी यसरी कहे ।

‘दुःख थियो । दुःखमात्र हैन, धेरै दुःख थियो । पैत्रिक सम्पत्ति नभएको होइन, खेतबाली पनि हुन्थ्यो । आम्दानीको स्रोत नभएकोले कात्तिक–मंसिरमा धान थन्काएपछि त्यही धान कुटेर चामल बेच्न धेरै पटक घान्द्रुकतिर गएको सम्झना छ,’ उनले विगत सम्झे, ‘चामल सर्लक्कै बेचेपछि स्कुलको फि तिर्ने, कापीकलम किन्न तथा लत्ताकपडा किन्ने गर्दथें ।’

कास्की ढिकुरपोखरीको लेवाडेमा जन्मिएका भण्डारीको अहिले बसोबास पोखरा लेकसाइडमा छ । संघर्षकालमा निकै दुःख भोगेका उनी अहिले सबैको प्रेरणादायी हुन् । अनवरत कला क्षेत्रमा तल्लीन हुने उनले धेरै कलाकार जन्माएका छन् ।

उनका बाबुले ३ बिहे गरे । उनी कान्छीपट्टिका हुन् । कान्छीतिर ४ छोरा र ३ छोरी जन्मिएकोमा उनी माहिला हुन् । उनीमाथि २ दिदी छन् ।

कक्षा ८ पढ्दा उनी नाटक खेल्थे । हिरोको नक्कल गर्ने गर्थे । नाँच्न त्यति नजाने पनि उनी नाटक भनेपछि हुरुक्कै हुन्थे । त्यतिबेलै उनमा नजानिँदो तवरले कलाको रस बसिसकेको छ ।

२०५२ सालतिर एसएलसी दिएर बसेको बेला मनीष श्रेष्ठ निर्देशित टेलिफिल्म ‘धुन’ को सुटिङ युनिट पोखरा आएको थियो । दिवाकार दाइका छोराले सुटिङ युनिटको गाडी चलाउँदा रहेछन् । उनीसँग त्यही गाडीमा पोखरा आउँदाजाँदा ख्यालख्यालैमा एउटा सिनमा चान्स पाए । गज्जब खेले । तर उनले आफ्नो अभिनय हेर्न पाएनन् । किनकी घरमा टेलिभिजन थिएन । टेलिभिजनमा उनलाई देखेका साथीसंगीले राम्रो खेलेको भनी प्रशंसा गरेछन् । अरुको घरमा जाँदा टिभी बन्द गरिदिनेसम्मको घटना भोगेका उनले आफ्नो अभिनयको प्रशंसाले निको माने ।

मनिषले काठमाडौंमा त्यसबेला त्रिवेणी टे«निङ कल्चर सेन्टर चलाउँथे । दिवाकरलाई काठमाडौं जान अफर पनि नगरेका होइनन्, तर दिवाकार भाइबहिनीको जिम्मेवारी आफ्नो थाप्लोमा भएको भन्दै इन्कार गरे । उनले टेलिफिल्म खेलेवापत १ सय रुपैयाँको नोट थापे । उनी निकै खूशी भए ।

उक्त रकमबाट आमालाई फरिया (साडी) किनेको बताए । मात्र ८५ रुपैयाँ पर्‍यो । बचेको १० रुपैयाँको फिल्म हेरे । त्यसबेला पोखराको विन्ध्यवासिनी फिल्म हलमा ‘नीरमाया’ फिल्म लागेको थियो । घर जान १० चाहिन्थ्यो । बसपार्कमा बसका खलासीलाई अनुरोध गरे, ‘मसँग ५ मात्र छ । लैजाने भए लैजाऊ ।’ खलासीले हप्काउँदै ‘ल ल पछाडि बस’ भनेपछि दिवाकर ५ रुपैयाँ तिरेर ढिकुरपोखरी गए ।

२०५२ सालतिर उनी दोहोरीगीत गाउन विभिन्न प्रतियोगितामा पुग्थे । अहिले चल्तीका जीवन दाहाल, तारापति सुवेदी पनि प्रतियोगितामा भेटिन्थे । उनले ठट्यौलीमा भने, ‘उनीहरु पोखराकै अलि जान्ने केटीहरु लिएर जान्थे । म गाउँकै केटी लिएर दोहोरी गाउन जाँदा म फेल हुन्थें ।’ आफू कुनै पनि पार्टीतिर नलाग्दा पछि परेको उनलाई किंचित महसुस भने रहेछ । भने, ‘अरुहरुले पार्टीका गीत गाए । म पार्टीका गीत गाउन चाहिनँ ।’ उनका लोकदोहोरीकै ८ एल्बम आए । त्यसैताका हो उनले ढिकुरपोखरी सांस्कृतिक क्लब खोलेको ।

यत्तिकैमा उनी रोजगारीको सिलसिलामा दुवई हानिए । ढिकुरपोखरीमा घर बनाउँदा ९ लाख ऋण थियो । विदेशमा श्रमपसिना बगाएपछि उनले केही कमाए । घरको ऋण तिरे । भाइबहिनीलाई पढाए । पोखराको लेकसाइडमा घर बनाउन सके ।

हाँस्य सिरियल मेरी बास्सैको २०० वटा भाग स्क्रिप्ट त सापटी काका अर्थात् दिवाकर भण्डारीकै हो

साउदी अरबबाट छुट्टीमा आउँदा राजु परियार, बिमाकुमारी दूरालाई लिएर ‘एउटै मिल्यो हजारौं हजारमा’ लोकदोहोरीको अर्को एल्बम निकाले । उनले साउदीमै अर्को एल्बम निकाले । विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्थे । त्यहाँ विभिन्न हाउभाउमा अभिनय गरेर हसाउँथे । ‘शुक्रबार’ नामक पत्रिकामा लेखरचना लेख्न थाले ।

उनी फिल्मको स्क्रिप्ट पनि लेख्छन् । फिल्म ‘प्रेमप्रसाद’ को स्क्रिप्ट पूरा गरिसकेको बताउने उनले अर्को फिल्मको लागि स्क्रिप्ट लेख्दैछन् । दिवाकर भन्छन्, ‘ल ठिक छ नामक फिल्मका लागि कथा लेखिरहेको छु । कसले माग्छन् थाहा छैन ।’

बहत्तरको विनासकारी भूकम्पपछि उनले कस्तोखालको भवन बनाउनुपर्छ भनी ‘भवन निर्माण आचारसंहिता’ नामक टेलिफिल्म लेखेका छन् । पोखरा महानगरपालिकामा प्रस्तावका लागि लिएर गएको आपूm कुनै पनि पार्टीमा नहुँदा स्वीकृत नभएको गुनासो पोखे । उनले बालविवाह, बहुविवाह नाटक लेखेका छन् भने भिजिट नेपाल २०२० नामक सडक नाटक प्रदर्श नै भएको थियो । सञ्चार मन्त्रालयले लिएको थियो । क्षयरोगविरुद्ध सडक नाटक लेखे । ‘दाइजो’ शीर्षकको नाटक लेख्नुका साथै अभिनय गरे । ‘दाइजो’ निकै रुचाइयो । आफैंले लेखेका सडक नाटक १ सय ५० जति भएको उनको दाबी छ । क्षयरोगविरुद्ध सचेतना दिलाउने ‘सोमरसको फल’ नाटक त तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटै जिल्लामा प्रदर्शन गरिएको उनले स्मरण गरे । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा नाटक प्रदर्शन गरिएको हो । त्यसबेला आफूलाई विभिन्न संघ–संस्थाले नाटक लेख्ने, निर्देशन गर्ने तथा खेल्ने पनि गर्दा दिनको ८० रुपैयाँ पारिश्रमिक दिने गरेको दिवाकर बताउँछन् । परिवार नियोजनबारे जानकारी दिन उनले लेखेको नाटकलाई युएसआइडीले आर्थिक सहयोग गरेको थियो । पोखराबाट उत्पादित सफल दूधको प्रचारमा नाटक देखाउँदै विभिन्न जिल्ला घुमे ।

एकान्तमा बसे भने मेरी बाँस्सैको स्क्रिप्ट ४ घण्टामै भ्याउँछन् । राजनीतिक पहुँचको भरमा हुँदोरहेछ । पत्रकारितामा उनले कलाबारे बढी लेखे । राजनीति मर्यादित ढंगले गर्नुपर्छ । तर नेपालमा त्यस्तो छैन । नेपाल पत्रकार महासंघ कास्कीले आफूलाई सदस्यताबाट हटाएकोमा उनको ठूलो चित्त दुखाइ रहेछ ।

उनले करिब १४ फिल्म, ६ सिरियल खेलेका छन् । ‘राज’, ‘कन्यादान’, ‘चिनो’, ‘नाइ नभन्नु ल २’, ‘किडन्याप’, ‘छेस्को’, ‘नबोले नि हाँसिदेऊ एक फेर’, ‘मेरी मुमा’, ‘किट्न्याभ’, ‘टु आवर इन अफ माइ लाइफ’ लगायत फिल्ममा उनको विभिन्न भूूमिकामा अभिनय छ । हालैमात्र एक फिल्ममा उनले अभियनका लागि साइन गरिसकेको बताए । माघदेखि सुटिङमा जाने उक्त फिचर फिल्ममा उनी प्रिन्सिपलको भूमिकामा देखिने छन् ।

८ वर्षअघि ‘ल खत्तम’ निर्देशन गर्दैगर्दा उनी नेपाल टेलिभिजनबाट प्रसारित हाँस्य सिरियल ‘मेरी बास्सै’ मा बुमम्यानबाट प्रवेश गरेका हुन् । ‘ल खत्तम’ फेवा टेलिभिजनबाट प्रसारण हुन्थ्यो । कलाकारलाई पारिश्रमिक दिन अप्ठेरो परेको बेलामा फेवाले प्रसारणवापत पैसा नदिएको उनको गुनासो छ । त्यसैबेला उनी पोखराको बिग एफएममा कार्यक्रम पनि चलाउँथे । उनी सुटिङका लागि काठमाडौं आउजाउ गर्न थाले । निकै परिश्रम गरे । उनको इमानदारिताको प्रशंसा हुन थाल्यो । पछिल्लो समय निर्देशनको जिम्मेवारी पाएका उनले लामो समयसम्म ‘मेरी बास्सै’ निर्देशन गरे । तीमध्ये २०० वटा भागको त स्क्रिप्ट पनि उनैको हो । मेरी बास्सै अहिले ८३५ भाग पुगिसकेको छ । ‘सापटी काका’ पात्र उनलाई दर्शकले खुबै रुचाउँछन् । र, उनी दिवाकर भण्डारीभन्दा सापटी काकाबाटै जनजनमा बस्न सफल छन् । ‘मेरी बास्सै’ मा जोडिनुमा उनले राजु पौडेल (राजु मास्टर) को प्रेरणा मान्छन् । ‘मेरी बास्सै’ त्यहीं हाँस्य सिरियल हो, जसले सीताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्ने बुढा) लगायतलाई चर्चित बनायो ।

पोखरामा छँदा उनले हाँस्य जोडी राजेन्द्र र युवराजसँग मिलेर ‘गडबडी’ निर्माण गरेका थिए । ‘गडबडी’ पछि ‘ए के ४७’ निर्माण गरे । अभिनयमा पनि देखिन्थे । साथीहरुको सहकार्यमा उनले अपिल त्रिपाठी निर्देशित ‘खिचडी’ बनाए । राजु पौडेल (राजु मास्टर) सँग मिलेर ‘ल खत्तम’ निर्देशन थालेका थिए । ‘ल खत्तम’ बाट आफूले जमेर र राम्रोसँग निर्देशन गर्न थालेको उनको अनुभव छ । २०६७ सालमा फिल्म ‘मेरी गंगा’ उनैले निर्माण गरेका हुन् । उनैको निर्देशन रहेको उक्त फिल्म भने खासै चलेन ।

२०५५÷५६ सालतिर सन्तोष पन्तको ‘हिजो आजका कुरा’ टेलिफिल्ममा अभिनयका लागि ४ पटकसम्म लाइन बसे । तर अवसर पाएनन् । भन्छन्, ‘हिजो आजका कुरा’ मा मेरो पालो कहिल्यै आएन । सन्तोष पन्तका सहयोगीलाई दूध चियासम्म खुवाउन नसक्दा अवसर पाइनँ । खासमा उनीहरुलाई बाहिर लगेर दूध चिया खुवाए एक–दुइटा डाइलग मिलाउँदा रहेछन् । आफूसँग कहाँ पैसा हुनु । कति पटक काठमाडौंको सडकमै रात कटाएको तीतो यथार्थ छ ।’

उनी पछि ‘माफ पाम’, ‘खासखुस’ मा देखिए । ‘खासखुस’ मा उनी माग्ने दाइको भूमिकामा देखिए । ‘जिरे खुर्सानी’ पनि खेले । ‘मायामाया’, ‘माइतीको भाइलाई’, ‘स्वामी राजै’ लगायत म्यूजिक भिडियोको निर्देशन उनैले गरेका हुन् । कुनै बेला अभिनय नपाएर फर्केका उनी आफैंले कैयौंलाई पर्दामा उतारे भने आफैं पनि ५० भन्दा बढी म्यूजिक भिडियोमा देखिए ।

‘देशको राजनीति जस्तो छ, कलाकारिता क्षेत्र पनि उस्तै हो,’ उनी भन्छन्, ‘राजनीतिमा धेरै परिवर्तन भयो भने पनि त्यस्तो अनुभूति जनताले गर्न पाएका छैनन् । कलाकारिता परिवर्तन भयो भनेपनि धेरैले अझै पारिश्रमिक पाउँदैनन् ।’ उनका अनुसार धेरै कलाकार शोषित पीडित छन् । रुची छ र अभिनय क्षमता छ तर पैसा छैन । कलाकारले कमाएकोमध्ये पारदर्शीरुपमा कर तिर्नुपर्छ । कलाकारका संघ–संस्थाहरु राजनीतिका गोटी हुन् । उनका अनुसार केही कलाकारले २० वर्षदेखि एउटै गीत स्टेजमा गाएर खाएको खायै छन् । जसले १२/१५ लाख खर्चेर म्यूजिक भिडियो बनायो, त्यसले अवसर नै नपाउने अवस्था छ ।

भण्डारी कलाकारितामा समसामयिक विषयलाई उठान गर्न रुचाउँछन् । केही न केही लेखिरहन्छन् । समय खेर फाल्दैनन् । तर आफू पूर्णरुपमा कलाकार नै भएको बताउँछन् । ‘लेखनी बाध्यताले ल्यायो,’ उनको भनाइ छ । कुराकानी बिटमा मार्दै गर्दा उनी भन्छन्, ‘संघर्ष गर्दागर्दै क्यामराको अगाडि मर्न पाइयोस् ।’

Related News

सम्बन्धित समाचार

hero news full width