प्याराग्लाइडिङ उडानमा सहमति

आदर्श समाज सम्वाददाता
पौष १५, २०८०
paragliding (1)

पोखरा । सुरक्षाको विषयलाई लिएर पोखरामा करिब २ सातासम्म रोकिएको प्याराग्लाइडिङ पुनः सञ्चालन भएको छ ।

नेपाल हवाई खेलकुद संस्था (ना) को पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र व्यवसायीहरुबीच बिहीबार भएको छलफलमा प्याराग्लाइडिङ सञ्चालनको सहमति जुटेको हो । सहमतिपछि नेपाल हवाई खेलकुद संस्था (ना) ले शनिबार सम्पूर्ण कम्पनीहरुलाई आफ्नो व्यवसाय नियमपूर्वक सञ्चालनका लागि सूचना जारी गरिसकेको अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहीबारको सहमतिमा उडान सुरक्षालाई उच्च प्राथमिकता दिई ‘फस्ट कम, फस्ट सर्भिसेज’ तथा प्राधिकरणबाट प्रदान गरिएको आधिकारिक एजेन्सी प्रमाणपत्रमा तोकिएको अधिकार क्षेत्रभित्र रही सुरक्षितरुपमा स्लट र सेड्युल व्यवस्थापनमा प्राधिकरणबाट तोकिएको स्थान र मान्द्रेढुंगा क्षेत्रबाट उडान सुचारु गर्न सकिने सहमति भएको हो । प्याराग्लाइडिङ सञ्चालनका लागि प्राधिकरणका तर्फबाट प्रबन्धक समिता शाक्यले शुक्रबार नालाई पत्र लेख्दै स्थगित सम्पूर्ण प्याराग्लाइडिङ उडानहरु पुनः सुचार गर्न निर्देशन दिएकोमा सोको सर्कुलर नाले शनिबार सबै कम्पनीहरुमा गरेको हो । प्याराग्लाइडिङ अब आइतबारदेखि नियमितरुपमा सञ्चालन हुने अध्यक्ष भट्टराईले बताए ।

आइतबारदेखि ‘फस्ट कम, फस्ट सर्भिसेज’ आधारमा नियमित हुने

व्यवसायीको आन्तरिक विवादका कारण प्राधिकरणले हवाई सुरक्षाको कारण देखाउँदै गत २९ मंसिरदेखि प्याराग्लाइडिङ उडान रोकेको थियो ।

प्याराग्लाइडिङ कम्पनीले आफैं उडाउन पाउने र त्यसको दररेट पनि आफ्नै हिसाबले लिन पाउनुपर्ने माग गर्दै आएकोमा उत्पन्न विवाद साम्य नहुँदा क्यान एक्कासि प्याराग्लाइडिङ उडान नै रोकेको थियो । सहमतिबमोजिम अबदेखि प्याराग्लाइडिङ सञ्चालन गर्ने दररेट कम्पनीले फस्ट कम, फस्ट सर्भिसेज आधारमा स्वयं आफ्नो ढंगले लिन पाउने छन् ।

नाले यसअघि प्रतिउडान १२ हजारसम्म शुल्क असुल गर्दै आएको थियो । पोखरामा ५ दर्जन प्याराग्लाइडिङ कम्पनी सञ्चालित छन् ।

पोखराको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने प्याराग्लाइडिङ उडान रोकिँदा पोखरा सडक महोत्सव सन्दर्भ पारेर पोखरा घुम्न आउनेहरुलाई निराश बनाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width