पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान

धनबहादुर गुरुङ
मंसिर २३, २०८०
pumdikot aa

पोखरा । तल फेवाताल र सिमसार क्षेत्र । माथि सर्लक्क मिलेर बसेको हिमाल । एकै मेसोमा देखिने फेवाताल, हिमाल र पोखरा बजार हेर्न पर्यटकका लागि शान्ति स्तूप काफी छ । सोही कारण पोखरा २२, पुम्दीकोट डाँडा उक्लने स्वदेशी र विदेशी पर्यटक कमै थिए । मनोरम पुम्दीकोटमा पर्यटक तान्न स्थानीयले योजना बुने ।

यत्तिकैमा चन्द्रकान्त बरालले विशाल महादेव मूर्ति निर्माण योजना अघि सारे । उनको परिकल्पनामा पुम्दीकोटवासीले हातेमालो गरे । पुम्दीकोट कोट विकास समिति गठन गरेर धार्मिक पर्यटकीयस्थल रूपमा विकास गर्न लागिपरे । कोरोना महामारीकै बेला ५१ फिटको विशाल महादेव मूर्ति ठडियो ।

मूर्ति स्थापनापछि पुम्दीकोटको परिचय एकाएक फेरिएको छ । दैनिक सयौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् । शुक्रबार, शनिबार तथा बिदाका दिनमा पुम्दीकोट पुग्ने आन्तरिक पर्यटकको भीड थेगिनसक्नु हुन्छ ।

यसरी एउटा डाँडाको परिचय फेर्न गरी अभियानमा धेरैले आर्थिक तथा जग्गादान गरेका छन् । जसमा वीरगञ्जका मुरलीधर रुंगटा पनि एक हुन् । हातको शोभा दानमा र व्यवसाय उत्थान धर्मकर्म तथा सामाजिक सेवामा छ भन्ने मर्म बुझेका वीरगञ्ज १०, निवासी रुंगटाले १ करोड ९० लाख सहयोग गरेका छन् ।

विशाल महादेवको मूर्ति स्थापनाका लागि २ पटक महायज्ञ आयोजना गरियो । पहिलो विशाल ज्ञानमहायज्ञबारे समितिले रुंगटालाई जानकारी गरायो । लगत्तै उनले सहयोग गर्ने आश्वासन दिए । सहयोगको वचन दिएका रुंगटा २०७३ फागुन ३ देखि १३ सम्म सञ्चालित महायज्ञमा मूलकर्ता बनि शिवमहापुराण श्रवण गर्न सपरिवार नै पुम्दीकोट आए । महायज्ञमा उनको परिवारबाट १ करोड ५० लाख दान रकम प्राप्त भएको पुम्दीकोट कोट विकास समिति अध्यक्ष चन्द्रकान्त बरालले बताए । उनको योगदानको कदर गर्दै शिवजी विराजित आधार हललाई रुंगटा वैकुन्ठ हल भनी नामकरण गरिएको उनले सम्झिए ।

 कोरोना महामारीकै बेला निर्मित ५१ फिटको विशाल महादेव मूर्ति पर्यटनको आकर्षण बनेको छ

सुरुमा २० करोडमा लगानी गरेर भौतिक संरचना बनाउने योजना अघि सारेको समितिले अहिलेसम्म २७ करोडको संरचना बनाइसकेको छ । परिमार्जित गुरुयोजना अनुसार, सुमेरु पर्वत, विद्युतीय चियर कार, ग्रिनेरी पार्क, व्यवस्थित पार्किङ छन् । यीमध्ये सुमेरु पर्वत निर्माण भइसकेको छ । कुमार पार्वती विराजमान सुमेरु पर्वत निर्माणको अभियानमा उनै रुंगटाले फेरि ४० लाख रुपैयाँ सहयोग गरेका छन् ।

रुंगटा उद्योग व्यवसायका मात्र नभइ सामाजिक सेवामा समर्पित एउटा अति सम्मानित नाम हो । २०७९ सालमा सुप्रवल जनसेवा पदकबाट सम्मानित रुंगटा मारवाडी सेवा समिति वीरगञ्ज, रुंगटा वेलफेयर सोसाइटी र चाओसति ऐथि सदन मन्दिरका वर्तमान अध्यक्ष हुन् । यस्तै मारवाडी सेवा दृष्टका उपाध्यक्ष एवं राष्ट्रिय मारवाडी सेवा समितिका केन्द्रीय सदस्य उनको रुंगटा कान अस्पताल वीरगञ्ज, आमाको माया चत्रवास वीरगञ्ज र अग्रवाल भवन काडमाडौंमा लगानी रहेको छ । रुंगटा ओम चावोविरो फिड, ओसिडी फुड तथा दाना, ओम एग्रो प्रोडक्ट र रुंगटा प्रोसेसिङ लगायत उत्पादनमुखी व्यावसायिक कारोबारमा आवद्ध छन् ।

रुंगटाकै सहयोगमा निर्मित सुमेरु पर्वत शनिबार उद्घाटन गरिएको छ । उनी रुंगटा र उनको परिवारलाई पुम्दीकोट कोट विकास समितिले शनिबार सम्मान गरेको छ । उनलाई सम्मान गर्दै गलेश्वरधाम देवघाटका पीठाधीश आत्मानन्द गिरीले नेपालमा परापूर्वकालदेखि नै वैदिक सनातन धर्म मानिँदैआएको तर पछि आएर हिन्दु धर्म भन्ने गरिएको बताए । उनले नयाँ पुस्तालाई अक्षर चिनाइएको तर संस्कार र सभ्यता नसिकाइएका कारण सामाजिक एकता सद्भावको भावना मेटिँदै गएको बताए । कार्यक्रममा सम्मानित रुंगटा, पूर्वमन्त्री रामजीप्रसाद बराल जीवन, प्रदेश सभा सदस्य प्रकाश बराल लागयतले शुभकामना व्यक्त गरे ।

रुंगटाजस्तै दानवीरको सहयोगमा अहिले पनि परिमार्जित गुरुयोजना अनुसार काम चलिरहेको छ । हालसम्म ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डमरु, महादेवको विशाल क्षेत्र कुण्ड (गंगापोखरी), १०८ धाराजडित तेस्रो आँखा निर्माण सम्पन्न भइसकेको समिति अध्यक्ष बरालले जानकारी दिए । यस्तै, २१६ शिवलिंग, १०८ स्वर्गद्वारी सिंढी, शिव ताण्डव नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा भगवान् श्रीगणेश परिक्रमा, सुमेरु पर्वतमा कुमार पार्वतीको मूर्ति, शौचालयसहित सुविधासम्पन्न प्रशासनिक भवन, फूलमाला बिक्रीका लागि ४१ सटर, कम्पाउड बाल, २ सय मिटर पक्की पहुँचमार्ग लगायत संरचना निर्माण सम्पन्न भइसकेको उनले बताए ।

आगामी दिनमा मूल मूर्तिलगायत परियोजनाका अधुरा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष बरालले बताए । साथै, पोखरा आउने पर्यटकको कम्तीमा १ दिन बसाइ लम्ब्याउने उद्देश्यअनुरूप साँझमा लेजर लाइटमार्फत महादेवको मूर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य र महादेवको जीवनलीलासहितको वृत्तचित्र प्रस्तुत गर्ने उनको योजना छ ।

भजनमा देवीस्थान प्रथम
पुम्दीकोट कोट विकास समितिले शनिबार गरेको भजन प्रतियोगितामा हेमजाको देवीस्थान भजन समूह पहिलो भएको छ । दोस्रो माछापुच्छ«े भजन समूह र तेस्रो धर्मोदय दशअवतार बालन सांस्कृतिक समूह भएको छ । प्रथम द्वित्तीय र तृतीयले क्रमश १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ हात पारे । ओमकार फूलबार भजन समूह र बालन कला संस्कृति संरक्षण प्रतिष्ठानले सान्त्वनाका साथ २५÷२५ हजार रुपैयाँ हात पारे । भजन प्रतियोगिताको संयोजक प्रजापति पराजुली थिए भने निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, सरला पाण्डे, नवराज बराल, भुलाप्रसाद भण्डारी थिए । विजेतालाई समितिका अध्यक्ष चन्द्रकान्त बराल, गरिमा विकास बैंकका अध्यक्ष श्याम बस्याल, पूर्व अध्यक्ष दिलीपप्रताप खाँण, प्रमुख कार्यकारी अधिकृत गोविन्द्रप्रसाद ढकाल लगायतले पुरस्कार हस्तान्तरण गरे । प्रतियोगितामा ११ टिमले सहभागिताका लागि नाम दर्ता गराए पनि ९ समूहले सहभागिता जनाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width