सूर्यको लालित्यमा ध्यानमग्न

विजय नेपाल
मंसिर २३, २०८०
gbs yoga 1

पोखरा । योगा र ध्यान कसरी गर्ने भन्नेबारे १० वर्षीय आरोनलाई निकै खुल्दुली थियो । घरमा छँदा हजुरबुवाले यसको महत्व सुनाउँथे । टेलिभिजन अघिल्तिर बसेर योग कला सिक्न कहिलेकाहीँ हजुरबुवाको साथ पनि लाग्थे । होस्टेल बस्न थालेपछि त्यो क्रम टुटेको थियो । भाग्यवश, उनलाई यो अवसर फेरि जुरेको छ ।

पोखरा लामाचौरस्थित गण्डकी बोर्डिङले आवासीय विद्यार्थीलाई लक्षित गरी प्रत्येक शनिबार योगा र ध्यानका आसन सिकाउन थालेको छ । कक्षा ५ पढ्ने आरोनजस्तै अरु विद्यार्थी पनि शनिबार कहिले आउला भनी औंला भाँचेर बस्छन् ।

सेती किनार अवस्थित जिबिएसको खुला, शान्त तथा चारैतिर हरियाली वातावरण । झिसमिले उज्यालोबीच सुरु हुने योगा जब सूर्यको लालित्य चढ्छ विद्यार्थी पनि अष्टांग योगमा ध्यानमग्न हुन्छन् ।
बेलाबखत गीतसंगीत धूनमा लीन हुन्छन् । योगा र ध्यानले आफूलाई छुट्टै स्फूर्ति महसुस भएको कक्षा ९ की मनिशु तिवारीले प्रतिक्रिया दिइन् ।

विद्यार्थीलाई योगा र ध्यान समाविष्ट गरेर उनीहरुको मानसिक, शारीरिक दुवै विकासमा टेवा पुगोस् भनी गएको साउनदेखि प्रशिक्षण सुरु गरिएको होस्टेल सुपरभाइजर राजकुमार ढकाल बताउँछन् । उनका अनुसार यसले विद्यार्थीलाई ध्यानमा मद्दत मिलेको छ । विज्ञान शिक्षक समेत रहेका ढकालले योगाको वैज्ञानिक महत्वबारे पनि प्रकाश पारे । प्रशिक्षणका लागि लेकसाइडको मुक्ति योगा तथा रिट्रिट सेन्टरले समन्वय गरेको छ । सेन्टरबाटै प्रकृति रानाभाट, महेन्द्र आचार्य लगायतका प्रशिक्षक आउँछन् । उनीहरु अंग्रेजी र नेपाली दुवै भाषामा अनेक तरिकाले योगा आसनका लागि निर्देश गर्छन् । ‘विद्यार्थीको सोच्ने शक्तिको विकाससहित चरित्रवान् बनाउने एउटा प्रयास हो,’ ढकालले भने, ‘अभिभावकको पनि त्यही अपेक्षा छ ।’

गण्डकी बोर्डिङले हरेक शनिबार विद्यार्थीलाई योगा र ध्यान सिकाउने गरेको छ

होस्टेलका असिस्टेण्ट सुपरभाइजर भीमप्रसाद सापकोटाले होस्टेल बस्ने कक्षा ४ देखि १२ सम्मका करिब ५ सय विद्यार्थीले यसमा भाग लिने गरेको बताए । छात्रालाई महिला र छात्रलाई पुरुष प्रशिक्षक गरेर भिन्दाभिन्दै ठाउँमा सिकाइने गरिन्छ । बिहान पहिले ६ बजेदेखि हुने गरेकोमा जाडोयाममा साढे ६ देखि मात्र सुरु हुन्छ । प्रशिक्षण १ घण्टाभन्दा बढी चल्छ । ‘विद्यार्थीलाई किताबी ज्ञानसँगसँगै आध्यात्मिक भावनाको विकासहोस् भन्ने उद्देश्य हो,’ अंग्रेजी शिक्षकसमेत रहेका सापकोटाले भने, ‘योगा प्राकृतिक उपचार पद्दति र हाम्रो पूर्वीय दर्शन पनि हो । विश्वभर योगा र ध्यानको महत्व बढिरहँदा यसले विद्यार्थीको पढाइमा पनि केही न केही मद्दत मिल्ने अपेक्षा छ ।’

प्राचार्य वीरेन्द्र खड्काले विद्यार्थीको चौतर्फी विकासमा विद्यालय दत्तचित्त रहेको बताउँछन् । उनले योगा तथा ध्यान प्रशिक्षण आगामी दिनमा पनि नियमित सञ्चालन गरिने जनाए । कार्यक्रम सम्पन्न गर्न सबै होस्टेल शिक्षकहरु पनि उत्तिकै लागिपर्छन् । विद्यार्थीले पनि योगा र ध्यानले निकै फाइदा पुगेको बताउने गरेका छन् ।

गण्डकी सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित गण्डकी बोर्डिङ यस क्षेत्रमा गुणात्मक शिक्षा प्रदान गर्ने उत्कृष्ट विद्यालयमा पर्छ । ५८ वर्षअघि स्थापना भएको यो विद्यालयमा हाल करिब १२ सय विद्यार्थी पढ्छन् । राष्ट्रिय स्कुलकै मान्यता पाएको गण्डकीका राजेन्द्र गुरुङ २०४४ सालको एसएलसीमा बोर्ड फस्ट भएका थिए । त्यसबेला राजधानी काठमाडौंबाहिरबाट बोर्ड फस्ट हुने गण्डकी पहिलो थियो । २०६० मा पनि यहाँका ४ विद्यार्थी बोर्ड दोस्रोसहित उत्कृष्ट १० भित्र परेका थिए ।

योग दिवस हरेक वर्ष २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिन्छ भने नेपालमा २०७२ सालदेखि १ माघलाई राष्ट्रिय योग दिवसको मान्यता दिइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहका कर्मचारीलाई कार्यालय सुरु हुनुअघि १५ मिनेटसम्म कुर्सीमै योग गर्न निर्देशन दिएको विषयले निकै चर्चा पाएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width