९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८०
Kanya Canpus Photo (1)

पोखरा । मर्यादित शैक्षिक वातावरणमा कन्यालाई स्तरीय उच्च शिक्षा दिने उद्देश्यले स्थापना भएको कन्या क्याम्पस पोखराले शुक्रबार ३२ औं वार्षिकोत्सव मनायो । बिहान ११ बजे सुरु भएको कार्यक्रम दिउँसो ३ बजेपछि सकियो । करिब ४ घन्टाको औपचारिक कार्यक्रममा छात्रवृत्ति प्रदानका लागि अधिकांश समय खर्चिएको थियो ।

कार्यक्रममा विभिन्न शीर्षकमा ५८ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए । जसमा विभिन्न संकायमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरू थिए । ५८ जनालाई ९ लाख २० हजार ६ सय ४४ रुपैयाँ प्रदान गरिएको क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले जानकारी दिए । यसका लागि १ करोड ९ लाख १७ हजारभन्दा बढीको अक्षयकोष रहेको उनले बताए । यी छात्रवृत्तिको अक्षयकोष विभिन्न व्यक्तिहरूबाट संकलन गरिएको हो ।

यसले क्याम्पसमा सबैभन्दा बढी सामाजिक व्यक्तिहरू जोडिएको उनले बताए । वार्षिकोत्सव कार्यक्रममा ३५ जना अक्षयकोषदाताबाट खडा गरिएको अक्षयकोषबाट प्राप्त ब्याजबाट छात्रवृत्ति प्रदान गरिएको उनले बताए । टीकाराम बास्तोला स्मृति अक्षयकोष र बुवा स्व. टंकप्रसाद खनाल तथा माता देवकुमारी खनाल स्मृति अक्षयकोष बाँकी रहेको थियो ।

क्याम्पसको गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराउनका लागि विभिन्न दाताहरूबाट अक्षयकोष प्राप्त भएको र छात्रवृत्ति प्रदान गरिँदै आएको मानन्धरले बताए । यसवर्ष पोखरा १२ निवासी अनुज बास्तोलाबाट बुबा टीकाराम बाँस्तोला स्मृति अक्षयकोष स्थापनार्थ २ लाख र कन्या क्याम्पस पोखराका सहायक प्राध्यापक ऋषि खनालबाट बुबा टंकप्रसाद खनाल तथा माता देवकुमारी खनाल स्मृति अक्षयकोषका लागि ५० हजार प्राप्त भएको बताए ।

क्याम्पसमा जेहेन्दार तथा विपन्न वर्गका दलित, जनजाति पिछडिएका तथा असहाय छात्राहरूले पनि अध्ययन गरी उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गरुन् भनी क्याम्पसले सीमित संख्यामा पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गरिएको छ । जसमा कक्षा ११ मा १६ जना, कक्षा १२ मा ३० जना, स्नातक तहअन्तर्गत बिबिएसमा ५० जना, बिएमा २० जना, बिएडमा ३१ जना र बिआइएममा २४ जना छात्राहरूले छात्रवृत्ति पाइरहेका छन् । त्यस्तै स्नातकोत्तर तहमा १० जना छात्राहरूले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । यसरी क्याम्पसका जम्मा १ सय ८१ जना छात्राहरू छात्रवृत्तिमा अध्ययन गरिरहेकामा २२ जनाले मात्र शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् भने अन्य छात्राहरूले २५ देखि ७५ प्रतिशत सम्मका छात्रवृत्ति पाएका छन् ।

यस वर्ष विश्व विद्यालय अनुदान आयोगबाट ४६ लाख ६० हजार अनुदान ल्याउन सफल

क्याम्पस प्रमुख मानन्धरले यस वर्ष अक्षयकोषमा वृद्धि गरी १ करोडको अक्षयकोष स्थापना गर्न सफल भएको बताए । यस अभियानमा अभियानका परिकल्पनाकार निवर्तमान अध्यक्ष योगेन्द्र प्रधान, सञ्चालक समिति परिवार तथा सम्पूर्ण दाताहरूलाई उनले आभार व्यक्त गरे ।

यस वर्ष विश्व विद्यालय अनुदान आयोगबाट नियमित तथा विभिन्न कार्यक्रमहरूका लागि ४६ लाख ६० हजार अनुदान ल्याउन सफल भएको बताए । आयोगबाट कात्तिक २४ गते प्रकाशित सूचनाबमोजिम यस वर्ष कास्की जिल्लामा एकमात्र सामुदायिक क्याम्पसको आशयपत्र स्वीकृत भएको जानकारी गराए ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले नारी शिक्षामा समर्पित पोखरा नदीपुरस्थित कन्या क्याम्पसको प्रगति देखेर खुसी व्यक्त गरेकी छन् । उनले कन्या क्याम्पसको लागि प्रदेश सरकारको मन्त्री हुँदाका बखतसम्म सकेको गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री सिंखडाले भनिन्, ‘उहिले उहिले यो क्याम्पसलाई बुहारी क्याम्पस भनिन्थ्यो । यो क्याम्पसमा छोरीहरूले अध्ययन गरे शिक्षित पनि हुने र सुरक्षित पनि हुने भन्ने थियो । आज ३२ वर्षसम्मको यात्राको क्रममा धेरै परिवर्तन भइसकेको र नतिजा तथा कार्यप्रगति सुन्दा मेरो छाती फुलेको छ ।’

मन्त्री सिंखडाले योजना बनाएर आएमा प्रदेश सरकारले गर्ने सहयोग गर्न तयार रहेको बताइन् । साथै क्याम्पसमा संघ सरकार मातहत रहेकाले क्यापसको हितका लागि संघ सरकारको ढोका ढकढकाउन सँगै जान तयार रहेको बताइन् ।

क्याम्पस प्रमुख सुरेसकुमार मानन्धरले क्याम्पसले आफ्नो स्थापना कालदेखि नै हरेक वर्ष उच्च शिक्षामार्फत थुप्रै प्रतिभाशाली एवं चरित्रवान् छात्राहरूलाई सफलतापूर्वक उच्च शिक्षा दिलाउन सफल भएको बताए । उनले यस क्याम्पस पोखरा र प्रदेशका लागि गर्वको कुरा रहेको सुनाए ।

कार्यक्रममा क्याम्पसक विद्यार्थीले विभिन्न गीतमा नृत्य प्रस्तुत, कवितावाचन तथा कला प्रदर्शन गरेका थिए । साथै कार्यक्रममा सप्ताहव्यापी खेलकुद कार्यक्रम तथा छात्रा भलिबल प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता आदिका बिजेताहरूलाई आज पुरस्कृत गरिएको थियो । क्याम्पसमा हाल ७ सय २० जना (गत वर्ष ७१० जना) छात्राहरू अध्ययनरत छन् ।

सो अवसरमा छात्रा ऐश्वर्या श्रेष्ठ, प्राध्यापक डा.भूमिराज बस्ताकोटीलगायतले शुभकामना व्यक्त गर्दै अझैं परिस्कृत भएर अब्बल स्थान बनाउन विद्यार्थी, क्याम्पस परिवार तथा समुदायको समन्वय हुन आवश्यक भएको बताए । समारोह क्याम्पस सञ्चालक समिति अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width