यसरी रित्तियो बक्राङ

प्रकाश ढकाल
मंसिर २३, २०८०
bakrang

बक्राङ (गोरखा) । गोरखा बक्राङकी सिर्जना नेपालीको घरमा २/४ वर्षअघिसम्म घरभरि मान्छे थिए । विभिन्न कामले उनीहरु लाखापाखा लागे । कोही पढ्न सहर झरे, कोही कमाउन विदेशिए । अहिले सिर्जना एक्लै छिन् । हिजोको दिन सम्झिएर सिर्जना भन्छिन्, ‘भात खाने बेलामा १३ जना हुन्थे, पालो पाइँदैनथ्यो । अहिले म एक्लै छु । पकाएर खाने बेला नरमाइलो लाग्छ ।’

सहिद लखन गाउँपालिकामा पर्ने यो गाउँ बसाइँसराइले रित्तिने अवस्थामा छ । ‘गाउँ एकदमै पछाडि परेको छ, विकास आएको छैन । गाउँमा मान्छे छैनन्, विकास कसरी आउँछ ?,’ उनले भनिन्, ‘स्वास्थ्यको भवन बनेको छ, स्कुलका भवन बनेका छन् । हिजो ३ सय जना पढ्ने स्कुलमा ५ जना पनि विद्यार्थी छैनन् । के गाउँ छोडेर गएकालाई फर्काएर यो गाउँ फेरि हराभरा बनाउन सकिँदैन होला ?’

गाउँमा बसेकाहरु पनि बिस्तारै बसाइँ सर्ने चरणमा रहेका उनले सुनाइन् । गाउँमा कृषि जगाउन सके गाउँलेहरु फर्किने बाटो बन्ने उनको सुझाव छ । ‘यो सुन्तला फल्ने गाउँ हो । हिजो त गाउँघरमै सुन्तला लटरम्म थियो । हिंड्दा पनि टाउकोमा सुन्तलाको दाना ठोकिन्थ्यो, खान मन लाग्थेन । अहिले एउटा दाना खान पनि बजारमा किन्नुपर्छ,’ सिर्जना भन्छिन्, ‘सुन्तला पकेट क्षेत्र भनिएको छ तर बर्सेनि सुन्तला सुकेर सकिन लाग्यो । कृषि उपज केन्द्र भैदिए फलेको तरकारी र फलफूल बेच्न पाइन्थ्यो ।’ माटो परीक्षण गरेर सुन्तला पुनस्र्थापना गर्न सरकारसँग उनको आग्रह छ ।

त्यहीँका शिव रोका अहिलेको विकास मोडलले गाउँलेलाई गाउँमा टिकाउन नसक्ने तर्क गर्छन् । ‘कर्मचारी वडाभरि छन् । बजेट पनि आइरहेको छ । तर विकास चाहिँ देखिँदैन । जनसंख्या घट्दो छ, घरहरु थोत्रिएको छ,’ उनले भने, ‘कृषिको लागि अनुदान पनि आइरहेको छ । तर कृषि गरेर कसैले किन आम्दानी गरेको छैन ?’ गाउँमा उत्पादन भए पनि आम्दानी नभएको उनले बताए । ‘हाम्रो बारीमा तरकारी र फलफूल फलेका बेला मूल्य पाइँदैन, बजारले खोज्दा हामीसँग उत्पादन हुँदैन । कमसेकम कोल्ड स्टोर बनाइदिए किसानले आम्दानी गर्न सक्थे,’ उनी भन्छन् । गाउँको आवश्यकताभन्दा अन्यत्र बजेट छर्ने क्रमले गाउँ खण्डहर बन्दै गएको उनको अनुभव छ ।

‘भात खाने बेलामा १३ जना हुन्थे, पालो पाइँदैनथ्यो । अहिले म एक्लै छु । पकाएर खाने बेला नरमाइलो लाग्छ’

त्यसको मुख्य उदाहरण हुन्, बक्राङकै कमला अर्याल । उनले पालिकाबाट ५ वटा तालिम लिइसकिन् । तर लिइएको तालिम उनको जीवनमा काम लागेको छैन । ‘यहाँका दिदीबहिनीहरुले धेरै तालिम लिनुभएको छ । मैले पनि ५ वटा तालिम लिएको छु । तालिमहरु धेरै आइरहेको छ,’ उनी भन्छिन्, ‘तालिम आएको छ, प्रमाणपत्र आएको छ । तर यो काम गर्नुस् भनेर सहयोग आएको छैन । त्यो प्रमाणपत्रले हामीलाई खान दिँदैन ।’ सरकारले नै उद्यमी हुन चाहनेलाई कोषको व्यवस्था गरेर इलम गर्ने वातावरण बनाइदिन उनको अनुरोध छ ।

बक्राङ प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामनाको आडमा छ । दिनमै करोडौं कारोबार हुने मनकामनामा उनीहरुको पहुँच छैन । ‘हामीलाई सधैं कृषि गरेन भनेर गाली गर्छन् । सबैथोक छोडेर उत्पादन गरेका बस्तुले बजार पाएको छैन,’ स्थानीय विष्णुमाया श्रेष्ठ भन्छिन्, ‘यो वर्ष गाउँमा खसीबोका राम्रो छ । तर बिकेनन् । मनकामनामा बाहिरबाट बोका आउँछ, हाम्रा बोका गोठमै छन् ।’ किसानको आवश्यकताअनुसार सरकारले समन्वय गरिदिन नसकेको उनी बताउँछिन् ।

यस्ता समस्या बक्राङको मात्रै होइन, पहाडी क्षेत्रमा जताततै छ । तर बक्राङमा अझै धेरै छ । सबै मान्छे बजार झरेका छन्, गाउँ लगभग रित्तिएको छ । सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगर पालिकाको स्रोतअनुसार सक्दो काम गरिरहेको बताउँछन् । ‘हामीसँग ठूलो स्रोत कहाँ छ र ? तर जति छ, जनताकै हितमा लगाएका छौं,’ उनले भने, ‘जनताहरु सबै कुरा सरकारले नै गरिदिओस् भन्ने ठान्छन्, उनीहरुको सबै अपेक्षा पूरा गर्ने स्रोत हामीसँग छैन ।’ यद्यपि योजनाबद्ध विकासमा पालिका लागेको उनले बताए । ‘हेर्दाहेर्दै जनसंख्या घट्दो छ । घरहरु रित्तिएको कुरा यथार्थ हो,’ उनले थपे, ‘गाउँमै बस्नुस्, कृषि गर्नुस्भन्दा कोही मान्नुहुन्न तर रोक्ने प्रयास गरिरहेका छौं ।’ उनले यसवर्षदेखि उत्पादनमा आधारित अनुदान कार्यक्रम लागु गरिएको बताए ।

पालिकाले चालु वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाइ बक्राङमै ग¥यो । गाउँलेका समस्या सुनेर आगामी योजनामा समेट्न कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए । ‘पालिकाबाट निकै अपायक गाउँ हो यो । सम्भावना धेरै छ, तर बत्तिमुनिको अँध्यारो जस्तो भैरहेको छ,’ उनले भने, ‘गाउँलेका समस्या सुनेका छौं । आगामी योजनामा सक्दो सम्बोधन गर्छौं ।’ गाउँहरुलाई हराभरा बनाउन केन्द्रबाटै विशेष अभियान आवश्यक पर्ने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी पनि गाउँ रित्तिँदा चिन्तित छिन् । तर कसरी फर्काउने भन्ने योजना छैन । सदरमुकाम गोरखाबाट नजिकै भए पनि सडक सञ्जाल र विकास पूर्वाधारले बक्राङ धेरै पछाडि छ ।

Related News

सम्बन्धित समाचार

hero news full width