चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०८०
kp oli (2)

पोखरा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र अब कहिलै नफर्किंने बताएका छन् । झुलाघाटबाट सुरु संकल्प यात्राअन्तर्गत पोखरा हेमजामा बिहीबार साँझ जनभेलालाई सम्बोधन गर्दै उनले राजतन्त्र कुनै हालतमा नफर्किने बताएका हुन् । ‘हाम्रो यात्रा अहिलेको सरकारको नालायकीपनका कारण हौसिएका प्रतिक्रियावादीलाई सन्देश दिनका लागि हो । यो देशमा १६ वर्ष अगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किंनेवाला छैन,’ उनले भने, ‘नेपाली जनताको गरिबीको कारण, कष्ट, दुखको कारण, नेपाल विकसित हुन नपाउनुको प्रमुख कारण राजतन्त्र हो । त्यो सामन्ती राजतन्त्रलाई फेरि फर्किन दिइने छैन ।’

देशका भूभाग मिचिँदा समेत राजतन्त्रले फिर्ता ल्याउन कुनै भूमिका नखेलेकोमा उनले आपत्ति जनाए । ‘राजतन्त्रले त्यत्रो समय राज गर्दा हामीले भोगचलन गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी राजतन्त्रले किन फिर्ता ल्याएन ? किन भारतले कब्जा गरेको छ भनेर बोल्न सकेन ? सत्ताका लागि राष्ट्र मिचिन दिएका छन्,’ उनले भने । लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न एमाले जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उनले सुनाए । ‘लोकतन्त्रको रक्षाका लागि एमाले बलिदान दिएर संघर्ष गर्न तयार छ । हामीले लडेर ल्याएको लोकतन्त्रमा कसैले हामीमाथि दमन गर्छु भन्ने कल्पना नगरे हुन्छ,’ उनी भन्छन्, ‘आजको एमाले ४० वर्षको एमाले होइन । आजको एमाले देशमा सरकार चलाइसकेको, देश बनाउन जानिसकेको एमाले हो । जनमतका हिसाबले सबैभन्दा ठुलो पार्टी हो ।’

ओलीले देशमा जनताको सरकार नभएको टिप्पणी गरे । ‘देशमा सरकार छ जस्तो पनि छ, छैनजस्तो पनि छ । छैन भन्ने हो भने छ, भत्ता खाएको छ, झण्डा हल्लाएको छ । छ भन्ने हो भने जनताको काम गरेको छैन,’ उनी टिप्पणी गर्छन्, ‘एमाले यस्तो अवस्थामा सधैं चुप लागेर बस्न सक्दैन । एमाले बाहेक अरुले यो देश बनाउन सक्दैन भन्ने कुरा एमालेको एक्लै सरकार हुँदा हेमजाको भाइरल रोड पनि बनायो, यस्ता रोड कति बनाउँछ, कति ।’ उनले आफू प्रधानमन्त्री हुनुअघि वर्षमा १० किलोमिटर सडक पिच हुने गरेकोमा आफू प्रधानमन्त्री भएपछि दिनमै १० किलोमिटरका दरले पिच गर्न थालेको दाबी गरे । ‘म प्रधानमन्त्री हुनुअघि १ वर्षमा १० किलोमिटर बाटो पिच हुन्थ्यो । म प्रधानमन्त्री भएपछि एकैदिनमा १० किलोमिटरभन्दा बढी पिच गर्न थाल्यो । त्यो पनि सिंगल लेन होइन, डबल लेन, फोर लेन, सिक्स लेनको । एमालेले गरेका काम आफू उभिएकै ठाउँबाट हेर्न सकिन्छ,’ उनले भने ।

एमाले सरकारमा भएको भए अरु पार्टीको राजनीतिक पसल बन्द हुने उनको तर्क छ । ‘एमालेको सरकार चुनावसम्म भएको भए यिनीहरुको राजनीतिक सटर बन्द हुन्थे । यिनका सहयोगीहरु, अभिभावकहरु, वैदेशिक शक्तिहरु पनि डराए । देशी विदेशी शक्ति मिलेर एमालेलाई ढलाए । एमाले सकिएको छैन, अझै सशक्त भएर आउँछ,’ उनी भन्छन्, ‘देशभरिका जनतासँग भेटेर, मागपत्र लिएर विकास निर्माणका कामहरु गर्छौं । यस देशमा एमाले छ, राणा र पञ्चायतसँग लडेर आएको एमाले छ । दुनियाँले छेक्न खोज्दाखोज्दै बाधा पन्छाएर, सरकारमा पुगेर नयाँ नेपाल निर्माण गरिछाड्छौं ।’ २०८४ को निर्वाचनमा एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा आउने र एकल बहुमतमा सरकार बनाउने ओलीको दाबी छ ।

ओली नेतृत्वको संकल्प यात्रा बिहीबार पर्वतको कुष्मा हुँदै कास्की प्रवेश गरेको हो । हेमजाअघि ओलीसहित केन्द्रीय सदस्यहरुले कुष्माको जनसभालाई सम्बोधन गरेका थिए ।

पर्वत र कास्कीको सिमाना नयाँपुलमा उनीहरुलाई भव्य स्वागत गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width