म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…

रासस
मंसिर २१, २०८०
walling usha bk

गण्डकी । ‘म टुहुुरो भएँ, हिजो बा १४ वर्षमा बितेर टुहुरो भएँ, अब छोराछोरी विदेश गएर”, यो भनाइ स्याङ्जाको वालिङ १४, पेखुका अगुवा बुद्धिनारायण अर्यालको हो ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश आयोजना एवं युएनडिपी संसद सहयोग परियोजनाको सहयोगमा वालिङको पेखुमा गरिएको नागरिक सुनुवाइ कार्यक्रममा अर्यालले पछिल्लो समयमा १२ कक्षा पास भएपछि युवा स्वदेशमा बस्ने मनस्थितिमा नहुनु गम्भीर चुनौतीको विषय भएको बताए ।

उनीजस्तै पेखुका सर्वसाधारण सहभागी उक्त सुनुवाइमा जनताका गुनासा सुन्न प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल र प्रदेशसभा सदस्य कल्पना तिवारी उपस्थित थिए । जनताले राज्यलाई यथेष्ट कर तिरे पनि त्यसअनुरुप सेवासुविधा नपाउने गरिएको उल्लेख गर्दै उनले सानोतिनो जागिर यहीँ खाउँभन्दा पनि वातावरण नभएपछि युवा पलायन रोक्न नसकिएको दुखेसो गरे । गाउँ गाउँमा बाटो पानीलगायत धेरै समस्या भए पनि त्यसको समाधान नहुँदा बस्ती दिनानुदिन उजाड बन्दै गएको उनको भनाइ छ । वर्षौंदेखि सुरु गरिएका बाटो अहिले पनि राम्रो बन्न नसकेकोप्रति उनले प्रश्न गरे ।

देउरालीकी उषाकुमारी सार्की नागरिक सुनुवाइमा आफ्ना कुरा राख्ने भनेर आधा मेलो छाडेर आएको बताइन् । गाउँमा आफूले जिताएर पठाएका नेता आउने र त्यहाँ आफ्ना पीरमर्का, गुनासा सुनाउन र्पाने भन्ने थाहा पाएपछि उषाजस्तै गाउँघरबाट अन्य बासिन्दा पनि मेलापात र घरको काम छाडेर सुनुवाइमा उपस्थित थिए ।

आफूहरू बाटो र पानीका कारण लामो समयदेखि समस्यामा परिरहेको बताउँदै उनले राजनीतिक दलका नेताहरूबाट पटकपटक आश्वासन पाउने गरे पनि समस्या ज्यूकात्यूँ रहेको सुनाइन् । समस्या सुनाउन पाउने सभा तथा बैठकमा घरका काम नै छाडेर आई आफूले सुनाउने गरेको उनले बताइन् । ‘अब कुरा होइन बाटो र पानी दिनूस्,’ उनले भनिन् । उनका अनुसार १४ घर दलित समुदाय बस्दै आएको देउरालीमा अझै मोटर बाटो पुगेको छैन । साथै वर्षौंदेखि खानेपानीको अभावमा दैनिकी कष्टकर बनेको छ । ‘हामी काम गरेर खाने सोझा र सिधा गाउँले हौैं, आज पनि काम गर्दा गर्दै मेलो छाडेर आएका छौं, आजको दिनको ४ सय गुम्यो,’ उनले भनिन्, ‘हजुरहरूले हाम्रा समस्या बुझेर समाधान गर्न सक्नुहुन्छ भने गर्दिनुस्, नत्र भने हामीलाई झुक्याउन नआउनूस् ।’

उषाकुमारीले गाउँमा खानेपानी छैन, कहाँ डुबिल्को (पानीको कुवा) छ भनेर खोज्दै हिंड्नुपर्छ भन्दै गर्दा उपस्थित सर्वसाधारणले होस्टेमा हैँसे मिलाए । यो समस्या उषाको मात्रै नभई गाउँले सबैको थियो । उनले आफ्नो दुख पीडा सुनाउँदा त्यो सबैको सामूहिक विषय बन्यो ।

‘हामी काम गरेर खाने सोझा र सिधा गाउँले हौैं, आज पनि काम गर्दागर्दै मेलो छाडेर आएका छौं, आजको दिनको ४ सय गुम्यो’

उषाकुमारी जस्तै अर्की स्थानीय गोमा श्रेष्ठले पनि वालिङदेखि शिरकोटसम्मको बाटोको निर्माण कार्यलाई चाँडो सकेर गाउँमा भएको पानीको विकराल समस्या यथासक्य चाँडो समाधान गर्न प्रदेशसभा सदस्यहरूको ध्यानाकर्षण गराइन् । जनताले अब कुरामा नभई काममा मात्रै विश्वास गर्ने अवस्थामा पुगेको बताउने अर्की स्थानीय जौमाया पौडेलले भने, ‘सधैं बन्छ र हुन्छ मात्रै सुनियो, तर काम भएन, अब गर्न सक्नुहुन्छ गरिदिनोस् नभए आशा नदेखाउनुहोस् ।’

अर्का स्थानीय मेघनाथ पौडेलले गाउँलाई मानिसले माया मान्न छाडेको जिकिर गरे । विकास गर्दा गाउँलेलाई माया मान्ने र गाउँलेले पनि गाउँलाई माया मान्ने वातावरण नबन्दासम्म नेपालको विकास हुने अवस्था नदेखेको उनले बताए । आफूले लामो समय यही क्षेत्रमा कृषि पेसा गरेर बिताएको उनले अनुभव सुनाए ।

गाउँमा युवा रहने गरी युवा लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले भने, ‘मैले ३०/४० वर्षको युवालाई विदेश नजा यहीँ बस भनेर धेरै बोलेँ, कतिलाई रोकेर राखियो, तर आज ३५ वर्षको युवालाई गाउँमा देखें एक मिनेट पनि गाउँमा नबस् भन्न थालेको छु, भनेर केही अर्थै भएन ।’ गाउँका विद्यालय, स्वास्थ्य चौकीलगायत अत्यावश्यकीय पूर्वाधारलाई गुणस्तरीय एवं सुविधासम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । वर्षौंदेखि खनिएको गोरेटो अहिले पनि जस्ताको त्यस्तै रहँदा जनतामा निराशा छाएको उनले बताए ।

नागरिक सुनुवाइमा स्थानीय सुरज श्रेष्ठ, विष्णु खवास, खगेन्द्र कुँवर, इन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र खाण, कृष्ण डुम्रेलगायतले वर्षांैदेखि बन्न नसकेको बाटोकै कारण गत स्थानीय निर्वाचनमा भएको अकल्पनीय दुर्घटना र त्यसबाट सिर्जित समस्याका विषयमा ध्यानकर्षण गराएका थिए ।

वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले वडास्तरबाट हुने र गर्न सकिने कामका लागि आउने जोकोहीलाई खाली नफर्काएको बताए । खानेपानी तथा सडकका सम्बन्धमा सकिने काम वडाबाटै र नसकिने कामका लागि प्रदेश तथा संघ सरकारसँग पुगिएको उनको भनाइ छ ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति अर्यालले २०५४ सालमा आफू स्वयं स्थानीय तहको नेतृत्वमा हुँदा खनिएको बाटो हालसम्म पनि राम्रो बन्न नसक्नुले प्रश्न खडा गरेको बताउँदै प्रदेशसभाको यस कार्याकालयमा बाटो सम्पन्न गर्नेगरी सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य कल्पना तिवारीले नागरिक सुनावाइका क्रममा सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा उठेका समस्याको समाधान गर्नेतर्फ लाग्ने विश्वास व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width