निस्सिमको मृत्युमा गम्भीर लापरबाही भएको फाउण्डेसनको ठहर

विजय नेपाल
मंसिर २०, २०८०
406534729_6923682377725170_565721641003442505_n

पत्रकार सम्मेलनमा निस्सिम थापाका बाबुआमा । तस्बिरः विजय नेपाल

पोखरा । गत वर्ष प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका निस्सिम थापाको मृत्युु गम्भीर लापरबाहीका कारण भएको दाबी गरिएको छ ।

निस्सिम थापा फाउन्डेसनले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्याराग्लाइडिङ पाइलट थापाको मृत्युुको उचित छानबिनसहित दोषीलाई कडा कारबाहीको मागसमेत गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएका थापाको गत वर्ष ३० असोजमा पोखराको सराङकोटमा दुर्घटनामा मृत्युु भएको थियो । सराङकोटस्थित ब्लु स्काई टेकअप जोनबाट उडान भरेको ३ मिनेटमै उनले उडाएको प्याराग्लाइडिङ खसेको थियो ।

गोरखाको पालुङटार स्थायी घर भएका २६ वर्षीय थापा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट भाग लिएका थिए । दुर्घटना लगत्तै उक्त इभेन्ट स्थगित भएको थियो ।

दुर्घटनाको करिब १४ महिनापछि आएर फाउन्डेसनले निस्सिमको मृत्यु भवितव्य नभइ सुनियोजित रूपमा घटाइएको भन्दै विभिन्न संघसंस्था र तिनका पदाधिकारीलाई दोषी ठहर गरेको छ ।

निस्सिमका बाबु फाउन्डेसन अध्यक्ष प्रकाश थापाले पुत्रवियोगबाट आफू बाहिर निस्कन नसकेको भन्दै यसप्रकारका ‘हत्याकाण्ड’ रोकिनुपर्ने माग गरे । उनले नागरिक उड्डयन मन्त्रालयको अनुमतिबिना प्याराग्लाइडिङ सञ्चालन गरिएको आरोप लगाए ।

नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ एसोसिएसन, नेफा काठमाडौंका पदाधिकारीले नितान्त हवाई विधा प्याराग्लाइडिङलाई ग‌ैरकानुनी रूपमा प्राधिकरणको अनुमतिबिना राष्ट्रिय खेलकुदमा समावेश गरी पाइलट र यात्रुको जीवन जोखिममा राखी पचासौं लाख रकम पेश्की लिएर दुरुपयोग गरेको उनको आरोप छ । साथ‌ै प्याराग्लाइडिङ तयारीका लागि प्राप्त हुने ठूलो धनराशि पनि दुरुपयोग गरेको उनले आरोप लगाए ।

नेपाल हवाई खेलकुद संघ पोखरामा तत्कालीन अध्यक्ष सुनिलबहादुर भट्टराई, राखेपका तत्कालीन सदस्य सचिव टंकलाल घिसिङ, तत्कालीन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेफा अध्यक्ष रूपनारायण श्रेष्ठ, महासचिव शैलेन्द्र राउत, सचिव इन्द्र भण्डारी लगायतको गम्भीर लापरबाही भएको आरोप लगाइएको छ । त्यसबेला प्रतियोगिताका लागि कुनै पनि सुरक्षाको व्यवस्था नगरिएको र प्रतियोगिताका मुख्य सेफ्टी डाइरेक्टर योगेश भट्टराईको असक्षता र कमजोरी मृत्युको मुख्य कारण हो भनिएको छ । भट्टराईले निस्सिमलाई दिएको उडान निर्देशनको ३ मिनेटमै सो दुर्घटना भएको थियो । पत्रकार सम्मेलनमा फाउण्डेनस अध्यक्ष प्रकाश थापाले मुख्य प्रशिक्षक एवं इभेन्ट डाइरेक्टर भट्टराईले १० वर्षदेखि प्याराग्लाइडिङ नउडाएको र उनको कुनै पनि ज्ञान नभएको आरोप लगाए ।

निस्सिमकी आमा सावित्री थापा मोक्तानले मृत्युको क्षतिपूर्ति हुन नसक्ने भन्दै पत्रकार सम्मेलनमा भावुक बनिन् । उनले छोराको मृत्युमा प्याराग्लाइडिङसम्बद्ध संघसंस्था र तिनका पदाधिकारीको मुख्य दोषी रहेको भन्दै कारबाहीको माग गरिन् । उनले भनिन्, ‘छोराको मृत्युमा निकै विक्षिप्त छौं । यस्तो घटना अब नघटोस् भनी जिम्मेवार बन्न सम्बद्ध पक्षलाई हाम्रो माग छ ।’ टेक अफ जोनमै केसी कन्स्ट्रक्सनले धारिला फलामे रडहरु राखेर असुक्षित बनाउनु पनि दुर्घटनाको कारण भनिएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा अन्तिम समयमा अवैधरुपमा प्याराग्लाइडिङ प्रतियोगिता छिराइएको फाउण्डेनसको दाबी छ । फाउण्डेसनका अनुसार ३० असोजमा भएको दुर्घटनाको १६ दिनअघिमात्र अवैधानिक बाटोबाट राखेपमा समावेश गरेर प्रतियोगिता खेलाइएको बताइएको छ । प्याराग्लाइडिङ नाममा नेफाका तत्कालीन महासचिव शैलेन्द्र रावतले राखेपबाट रकम लिई दुरुपयोग गरेको आरोप लगाइएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रि–वल्र्डकपहरुमा भाग लिएका निस्सिम प्याराग्लाइडिङका उदियमान खेलाडी थिए । उनी पोखराको पृथ्वीनारायण क्याम्पस एमए समाजशास्त्रमा दोस्रो वर्षका विद्यार्थी थिए । उनी थापा परिवारको एक्लो छोरा थिए । उनको सम्झनामा पोखरा रंगशालालमा सालिक निर्माणाधीन छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width