एसओएस गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
Sos schools

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा आयोजित उक्त प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबको आयोजनामा सम्पन्न भएको हो ।

विद्यार्थीको लघुअनुसन्धान र प्रयोगात्मक परियोजनामा आधारित सामग्री नै प्रदर्शनीका प्रमुख आकर्षण थिए । उनीहरूले आफ्ना प्रदर्शनीहरूलाई दैनिक र व्यावहारिक प्रयोजनसँग जोडेर प्रस्तुत गरेका थिए ।

वर्तमान अवस्थामा तीव्र सहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरण असन्तुलनलाई समेत प्रदर्शनीको अर्काे विषय बनाइएको थियो । भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान र अन्तरिक्ष विज्ञानका विभिन्न वैज्ञानिक सिद्धान्तमा आधारित चाप, गति, बल, शक्ति, सौर्यऊर्जा, विद्युत्, चुम्बक, प्रकाश, ध्वनि, पर्यावरण, अन्तरिक्ष, सुरक्षा संवेदनशीलता, जैविक विविधता, हरित सहर, जल प्रशोधन प्रक्रिया, थोपा सिँचाइ, विभिन्न यान्त्रिक उपकरणहरूको उपयोगितालगायतका क्षेत्रको विविधतापूर्ण प्रस्तुति प्रदर्शनीमा समावेश गरिएको थियो । प्रदर्शनीका लागि विद्यार्थीहरूले झन्डै दुई महिना लगाएर आफ्ना परियोजनाहरू तयार पारेका थिए ।

विद्यार्थीहरूको एकल, युगल र सामूहिक प्रस्तुति रहेको उक्त प्रदर्शनीमा विविध क्षेत्रका जम्मा ७० स्टल समावेश गरिएको थियो । आधारभूत र माध्यमिक तह गरी दुई समूहमा आयोजित उक्त प्रदर्शनीको माध्यमिक तहमा पनि कक्षा ९ र १० तथा ११ र १२ का विद्यार्थीहरूले छुट्टाछुट्टै प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका परियोजनामूलक स्टलहरूको मूल्यांकनन गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसका उपप्राध्यापक दीपेश कार्की तथा गण्डकी बोर्डिङ स्कुलका वरिष्ठ विज्ञान शिक्षक लक्ष्मीनन्द ढकालले गरेका थिए ।

प्रदर्शनीमा आधारभूत तहतर्फ संयम सुवेदीले प्रथम, नेरिन बराल र स्मारिका न्यौपानेले द्वितीय, मोहम्मद अनिशले तृतीय तथा सरगम सुवेदीले सान्त्वना स्थान हासिल गरेका थिए । त्यस्तै माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा विशाल मरासिनीको समूहले प्रथम, मञ्जुश्री अधिकारीको समूहले द्वितीय, युगल पुनको समूहले तृतीय तथा अनन्त आचार्यको समूहले सान्त्वना स्थान हासिल गरेका थिए भने कक्षा ११ र १२ मा राजीव रोकाले प्रथम, समीप रेग्मीले द्वितीय, रोजी घिमिरेले तृतीय तथा भुवन अर्याल र सुयोग कोइरालाले सान्त्वना स्थान हासिल गरेका थिए । त्यस्तै प्रदर्शनीमा आधारभूत तहतर्फ आज्ञा शर्मा र सयुजा रिजाल, माध्यमिक तहतर्फ कक्षा ९–१० मा ईशानेश्वर बाँस्तोलाको समूह र कक्षा ११–१२ प्रणय पौडेलको समूहले उत्कृष्ट प्रयत्नकर्ताको पुरस्कार प्राप्त गरे । विज्ञान प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदी तथा प्रदर्शनीका निर्णायकहरूले संयुक्त रूपमा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

विज्ञानका सैद्धान्तिक कुराहरूलाई प्रायोगिक विधिबाट सिकाउने वातावरण सिर्जना गराउन तथा वास्तविक जीवनमा तिनीहरूको उपयोगिताका बारेमा विद्यार्थीहरूलाई प्रशिक्षित गर्दै उनीहरूलाई लघुअनुसन्धानतर्फ अभिप्रेरित गर्ने मान्यताबाट प्रेरित भएर एसओएसले बृहत् विज्ञान प्रदर्शनी आयोजना गरेको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।

नेपाल भौतिक शास्त्र समाज गण्डकी प्रदेशका अध्यक्ष डा. कृष्णराज अधिकारीले विद्यार्थीमा सिर्जनशीलता, नवप्रवर्तनकारी सोचका साथै आत्मविश्वासको विकासका लागि यस्ता प्रदर्शनीहरू सहायक हुने बताउँदै निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एसओएस यस्तै नवीन परियोजनामूलक गतिविधिका कारण धेरै अभिभावक र बालबालिकाको आकर्षणको केन्द्र बन्न सफल भएको बताए ।

विज्ञान प्रदर्शनीको औपचारिक समारोहमा एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । एसओएस स्कुल गण्डकीका रसायनशास्त्रका शिक्षक प्रमोद बरालद्वारा सञ्चालित उक्त समारोहमा विज्ञान प्रदर्शनी–२०८० का संयोजक मिलन खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width