बढ्दै छन् कुष्ठरोग प्रभावित

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०८०
Kustha Rog Photo 1

पोखरा । कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा, टेकुले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कुष्ठरोग प्रभावितहरूको संख्या बर्सेनि बढ्दो छ । पछिल्लो ३ वर्षको आँकडा हेर्दा कुष्ठरोग प्रभावितहरू बढेको भेटिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ८ सय ५३ नयाँ प्रभावित फेला परेकोमा अर्को वर्ष त्यो बढेर २ हजार १ सय ७३ पुगेको हो । पोखरा आरोग्य आश्रमका कार्यालय प्रमुख सुभाष तझ्या पनि बर्सेनि प्रभावितहरूको संख्या बढ्दै गएको बताउँछन् । यस रोगप्रति सरकारको पनि चासो बढेकाले नयाँ प्रभावित पत्ता लागिरहेको उनले सुनाए । ‘सरकारले पनि चासोका साथ हेर्न थालेसँगै पछिल्लो समय यसको संख्या बढिरहेको छ,’ उनले भने, ‘विशेषगरी पश्चिमतिर धनगढी, नेपालगञ्ज क्षेत्रतिर बढेको देखिन्छ ।’

तथ्यांकमा आर्थिक वर्ष २०७२/०७३ देखि निरन्तर बढेको देखिएको छ । सो आर्थिक वर्षमा ३ हजार ५४ अर्को वर्ष बढेर ३ हजार २ सय १५ पुगेको थियो । भने, आर्थिक वर्ष २०७४/०७५ मा केही मात्रामा घटेर ३ हजार १ सय ८७ नयाँ प्रभावित पत्ता लागेको थियो । त्यसपछि लगातार बढ्दो अवस्थामा छ ।

कुष्ठ प्रभावितहरूको हेरचाह र औषधोपचारको क्षेत्रमा नेपाल कुष्ठरोग निवारण संघले काम गरिरहेको छ । २०२६ साल जेठ २२ गते स्थापना भएको संघले यो क्षेत्रमा काम गर्दै आएको छ । संघ स्थापनाको धेरैपछि सरकार जोडिन आएको संघका केन्द्रीय अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले बताए । संघले उपचारमा सघाएसँगै उपचार पूरा हुनेको संख्या पनि बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७६/०७७ मा २ हजार ८ सय १७ जनाको उपचार पूरा भएकोमा अर्को वर्ष बढेर १ हजार ८ सय ५५ पुगेको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा त्यो संख्या अझ बढेर २ हजार ८६ पुगेको छ ।

संघ मातहत पोखरा र काठमाडौंमा आश्रम नै बनाएर प्रभावितहरूलाई राखिएको केन्द्रीय अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए । सँगै विभिन्न अस्पतालहरूको सहकार्यमा उनीहरूको उपचारमा पनि सघाएको छ । यो बाहेक पोखरा, काठमाडौं, धनगढी, नेपालगञ्ज र धरानमा शाखा कार्यालय स्थापना गरी सेवा दिइरहेको छ ।

स्थापनाको ५४ वर्षमा संघ अहिले ५१ औं केन्द्रीय सभाका लागि पोखरा आएको छ । शनिबार पोखरामा विविध कार्यक्रम गरी संघले केन्द्रीय सभा गरेको छ । सभामा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

कुष्ठ प्रभावित आव २०७७/०७८ मा १८५५ रहेकोमा आव २०७८/०७९ मा २०८६ पुगेको छ

संस्थापक उपाध्यक्ष डा. गौरीशंकरलाल दासलाई सम्मान पत्रले सम्मान गरिएको थियो । उमेरले १ सय वर्ष नाघेका उनलाई ज्येष्ठ सदस्यका रुपमा सम्मान गरिएको हो । यस्तै आजीवन सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

सोही कार्यक्रममा पोखरा आरोग्य आश्रममा आश्रित ज्येष्ठ कुष्ठरोग प्रभावितहरूलाई पनि सम्मान गरिएको थियो । धर्मी देवकोटा, लक्ष्मी गुरुङ र फूलमाया अधिकारीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै, आश्रमलाई सहयोग गर्ने बौद्ध उपासिका संघ, बुद्ध प्रतिष्ठान, लायन्स क्लब अफ पोखरा समर्पण, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी, हरियोखर्क अस्पताल, पोखरा लेडी जेसिज, ढुंगेसाँघु युवा क्लब र शिवलाल आचार्यलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संघले आगामी दिनमा कार्यक्षेत्र बिस्तार लैजानुपर्ने बताए । ‘कुष्ठरोगबाट मात्र हेरेर भएन् । समयअनुसार परिवर्तन हुँदै छालाका अन्य रोगमा पनि काम गर्ने गरी सेवा बिस्तार गर्ने विषयमा केन्द्रीय सभामा कुरा हुनेछ भन्ने आशा लिएको छ,’ उनले भने । सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो रकम छुट्याएको अवस्थामा बिरामी हुनुभन्दा रोग नलाग्नेतर्फ सचेत गराउने कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । संघको आगामी कार्यमा महानगर हातेमालो गरेर अघि बढ्न तयार रहेको उनले सुनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वयंसेवी संस्थाका रुपमा संघले पुर्‍याएको योगदान अतुलनीय रहेको उनले बताए । उनले पनि संघले अन्य रोगका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।

संस्थाको परिचयसहित कामका बारेमा महासचिव डा. रामकुमार श्रेष्ठले प्रस्तुति दिए । डा. अध्यक्ष खगेन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्षद्वय नारायण शर्मा र हिरा उदासँगै उपमहासचिव कृष्णलाल श्रेष्ठले संघले आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्दै अघि बढ्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width