लेखनाथ महोत्सव तयारी तीव्र

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
Lekhnath Mahotsav lcc

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले १९ औं संस्करणको लेखनाथ महोत्सव तयारी तीव्र पारेको छ ।

पुस ५ देखि १६ सम्म चल्ने महोत्सव सम्पन्न गर्न ९ सदस्यीय निर्देशक समिति, ४१ उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरी विभिन्न उपसमितिसँगको छलफललाई तीव्रता दिइएको छ ।

हालसम्म ७० प्रतिशत स्टल बुकिङ भएका छन् । महोत्सवमा रहने ३ सय ३४ वटा स्टलमध्ये शुक्रबारसम्म २ सय ४० वटा स्टल बुकिङ भएका छन् । महिला उद्यमी, कृषि तथा पशुपन्छी, सूचना तथा प्रविधि, महिला परिचालन, तालिम, संघसंस्था परिचालन उपसमितिसँग छलफल तथा अन्तक्र्रिया गरिएको र महोत्सव सफल बनाउने विषयमा आआफना तर्फबाट खटेर लाग्ने प्रतिबद्धता व्यक्त भएको महासचिव जानुका पराजुलीले बताइन् ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधन, कृषि तथा पशुजन्य वस्तु, विद्यालयस्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रमलगायत कार्यक्रम समावेश गरिएको संघले जनाएको छ । यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले बताए ।

२०६१ सालदेखि नियमित सञ्चालन हुँदै आइरहेको महोत्सवले अर्थतन्त्र चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने प्रचारप्रसार समिति संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width