केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन

धनबहादुर गुरुङ, विजय नेपाल
मंसिर १६, २०८०
kp oli madesh wins (2)

पोखरा । नेपालमा हुने क्रिकेट प्रतियोगितामा विभागीय टिमको दबदबा छ । तर, पोखरा रंगशालामा गत ७ मंसिरदेखि भएको प्रथम केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विगागीय प्रभुत्य तोडिदिएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा शुक्रबार फाइनल सुरु अघि धेरैको अनुमान थियो, आर्मीले मधेशलाई सहजै हराउँछ । तर, स्कोरबार्डको आखिरतिर धेरैको त्यो अनुमानले फेल खायो ।

१३६ रनको लक्ष्य पछ्याएको आर्मीले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । यो समयमा दर्शकदीर्घा विभागीय टिमलाई प्रदेशको टिमले पनि जित्न सक्ने भएछ भनी आश्चर्यचकित मात्र भएनन्, वाहवाही र हुटिङसँगै शुभकामना दिंदै थिए ।

सेमीफाइनल खेल हेरेका दर्शकले भने आर्मीसामु मधेश कमजोर आँकेका थिएनन् । किनभने अघिल्लो दिन मधेश ७ राष्ट्रिय खेलाडी सम्मिलित एपिएफलाई १९८ लक्ष्य प्रस्तुत गर्दै ११ रनले पराजित गरी उपाधि नजिक पुगेको थियो । मधेशले दिएको उक्त लक्ष्य प्रतियोगिताकै सर्वाधिक लक्ष्य हो । राष्ट्रिय टिमका सदस्य आशिफ शेख, प्रदीप ऐरी, सन्दीप झोरा, लोकश बम, भुवन कार्की, अविनाश बोहरा, मौसम ढकाल लगायत खेलाडी सम्मिलित टिमलाई हराएको मधेश पहिलो पल्ट राष्ट्रियस्तरको उपाधि जित्ने लक्ष्यसहित मैदान ओर्लिएको थियो ।

कप्तान कप्तान हरिशंकर शाह समूह चरणमा केही धर्मराएको मधेश टिमवर्कले च्याम्पियन बनेको बताउँछन् । ‘सुरुमा पुलिससँग हार्दा झिनो आशा मात्र बाँकी थियो । सुदूरले पुलिसलाई पराजित गरेपछि अंकतालिका अनुसार समूह विजेता भयौं,’ उनी भन्छन्, ‘अनि खेलाडीहरुमा छुट्टै उत्साह आयो, एकदमै खुसी भयौं । यसले टिमलाई मोटिभेट गर्‍यो ।’

फाइनलमा ४ विकेट हात पारेका मधेशका कप्तान हरिशंकर शाह म्यान अफ दि सिरिज

समूह ‘सि’ को मधेशले पहिलो खेलमै नेपाल पुलिससँग ५७ रनको पराकिलो हार व्यहारेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमले दिएको ५९ रनको लक्ष्य उसले ४ दशमलब ४ ओभरमा २ विकेट मात्र गूमाएर पूरा गर्दै रनरेट राम्रो बनाएको थियो । तर, सुदूरपश्चिमले पुलिसलाई हराउनेमा शंका थियो । यहीकारण उनीहरुको आशा मरिसकेको थियो । हार भने खाएका थिएनन् । मधेशका खेलाडी घर फर्कन तयारी गरिसकेको कप्तान हरिशंकर सम्झन्छन् । टिमका ओपनर अनिलकुमार शाह त काठमाडौं फर्किसकेका थिए । व्यक्तिगत कामले काठमाडौं पुगेका उनी मंगलबार सुदूरले पुलिसलाई पराजित गरेपछि फर्किएका थिए । सेमिफाइनलमा एपिएफलाई हराउँदा उनै शाह प्लेयर अफ दि म्याच बने ।

विभिन्न उतारचढावबीच विभागीय टिमको चुनौती पन्छाउँदै मधेश अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । म्यान अफ दि सिरिज मधेशकै कप्तान हरिशंकर भए । उनले ३० हजार हात पारे । वेस्ट बलर कुल १० विकेट लिएका सन्दीप लामिछाने र वेस्ट व्याटरको उपाधि रित गौतम भए । उनले कुल १७० रन बनाएका थिए । उनीहरु दुवैले जनही २० हजार पुरस्कार प्राप्त गरे । मधेशलाई जिताउन कप्तान हरिशंकरले महत्वपूर्ण ४ विकेट हात पारे । फाइनलमा प्लेयर अफ दि म्यानसमेत घोषित उनले मात्र १९ रन खर्चेर ४ विकेट लिएका हुन् । उनले आर्मीका ओपनर विनोद भण्डारी, वाशिर अहमद, कुशल मल्ल र राजेश पुलामीलाई आउट गरेका हुन् । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने पर्थिक यादवले १ विकेट लिए । आर्मीका लागि ओपनर सन्तोष कार्की १३ बलको सामना गर्दै ३ चौका प्रहार गर्दै १६ रन जोडे । उनलाई प्रदीप पासवानलाई पेभिलिएन फर्काए । कप्तान विनोद भण्डारी सम्हालिएर खेल्ने प्रयास गर्दै ३० बलमा ३२ रन बनाए । उनले ५ चौकासमेत हाने । ५ रन बनाएका रोहित पौडेल प्रतीक यादवको बलमा आउट भए । प्रदीप पासवानको बलमा आउट भएका भीम सार्कीले २२ र बाशिर अहमदले २ रन बनाउँदा कुशल मल्ल डक आउट भए । राजेश पुलामीले ३ रन बनाए । अन्तिम विकेटका लागि सोमपाल कामी र विवेक यादवले पारी सम्हाल्ने प्रयास गरे पनि मधेशले त्यो सफल हुन दिएन । विवेकले २५ र सोमपालले १६ रनको योदान दिंदै नट आउट रहे ।

टस जितेको मधेशले सुरुआति ब्याटिङमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । सातौं विकेटका लागि क्रिजमा छिरेका विशाल पटेलले ३२ बल खेल्दै सर्वाधिक ४९ रन बनाउँदै नटआउट खेले । उनले ३ चौका, ३ छक्का प्रहार गरेका हुन् । टिम कप्तान हरिशंकरले २७ रन बनाए । २१ बलमा ३ चौका र २ छक्काको मद्दतले उनले २७ रन जोडेका उनी विवेक यादवको बलमा क्याच आउट हुँदै पेभिलियन फर्किए ।

यस्तै, अनिल शाह ६, इमरान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४ र मायन यादवले ३ रन बनाए । आर्मीका साहव आलमले ३ ओभरमा ५ रन खर्चिदै ३ विकेट लिए । विवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।

गत ७ मंसिरदेखि सुरु प्रतियोगितामा विभागीय ३ सहित १२ टिमले भाग लिएका थिए । समापनमा विजेता टिम तथा खेलाडीहरुलाई पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नगद तथा ट्रफी वितरण गरेको एकेडेमी अध्यक्ष ध्रुव आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width