लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
Lcci bhuban

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले पुस ५ गते देखि १६ गतेसम्म आयोजना गर्ने १९ औं संस्करणको लेखनाथ महोत्सवका लागि स्थापित स्टलमध्ये हालसम्म ६० प्रतिशत बुकिङ भएका छन् । महोत्सवमा रहने ३ सय ३४ वटा स्टलमध्ये मंगलबारसम्म २ सय ११ वटा स्टल बुकिङ भएका हुन् ।

पहिलो चरणमा संघका सदस्यहरूका लागि ६ गतेबाट ११ गतेसम्म स्टल बुकिङ खुला गरिएको थियो भने मंगलबारबाट अन्य व्यवसायीहरूका लागि समेत स्टल बुकिङ खुला गरिएको संघका लेखा अधिकृत प्रसिद्ध पौडेलले जानकारी दिए ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि’ भन्ने नाराका साथ आयोजित महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइएको छ भने र स्वदेशी उत्पादनहरूको प्रवद्र्धनको लागि राष्ट्रिय उत्पादन प्रदर्शनीअन्तर्गत केही स्टलहरूको व्यवस्थापन गरिने स्टल व्यवस्थापन तथा निर्माण समिति संयोजक रामजी पौडेलले जानकारी दिए ।

महोत्सवमा कृषि उत्पादन, भाँडावर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संघ–संस्थाहरू, डेरी तथा फलफूल, होटल तथा रेस्टुरेन्टका स्टलहरू रहनेछन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालिले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा आरएमसी न्युट्रिप्लस शुद्ध तोरीको तेल र प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको महोत्सवका सहसंयोजक एवं प्रायोजक व्यवस्थापन तथा उपसमिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width