पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०८०
rastriya mavi

पोखरा । तत्कालीन बडाहाकिम धनशमसेर जबरा, ऋषिकेशव पराजुली, प्रेमराज मुल्मी, सुन्दरप्रसाद मर्सानी, दयाशंकर पालिखे र श्यामप्रसाद कर्माचार्यको एउटा टिमले पोखरामा २००६ मंसिर २० मा विद्यालय खडा गरे । नाम राखियो–पब्लिक मिडिल स्कुल ।

तत्कालीन समय नारायणस्थान (अहिल पोखरा ३, नदीपुर) बाट विद्यालय सञ्चालनमा आयो ।
विद्यालय चलाउन बडाहाकिम जबरा सञ्चालक समितिको अध्यक्ष, पराजुली सचिव, मुल्मी कोषाध्यक्ष, मर्सानी सहसचिव चुनिए । पालिखे र कर्माचार्य सदस्य थिए । यही टिमले विद्यालय हाक्ने सहमति बन्यो ।

यस विद्यालयले २००७ सालमा स्थायी स्वीकृति प्राप्त गर्‍यो । सोही समयमा राजा त्रिभुवनले १ हजार दिएपछि विद्यालयले भवन बनाउने भयो । नदीपुरमा भवनको जग खन्नेक्रममा जमिन भासिएपछि विद्यालय सार्न उपयुक्त जमिनको खोजी भएको थियो । सोही समयमा सोही क्रममा रत्नाखर पराजुलीका परिवारले हालको पोखरा १ मा जग्गा उपलब्ध गरायो ।

२००७ सालमा पब्लिक मिडिल स्कुल पुरानो टुँडीखेलस्थित ७२ रोपनीमा सरेको विद्यालय प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले जानकारी दिए । त्यसपछि तत्कालीन सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माण सम्झौता भयो । भवन निर्माणको शिलान्यास २०१३ सालमा राजा महेन्द्रले गरे । त्यसपछि विद्यालयले नयाँ भवनबाट सञ्चालनमा आयो ।

भवन बन्नुअघि नै विद्यालय एसएलसीमा सहभागी भएको थियो । प्रथम पटक २०११ सालमा ५ जनाले एसएलसी दिएकोमा ४ जना उत्तीर्ण बनेको इतिहास प्रधानाध्यापक सापकोटाले सम्झिए । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा प्रणाली लागु हुनु पूर्व विद्यालयको नाम नेसनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । २०२८ पछि राष्ट्रिय माविको नामबाट आफ्नो शैक्षिक क्रियाकलापहरु अघि बढाएको प्रअ सापकोटाले बताए ।

विद्यालयले २०३१ सालमा एसएलसी बोर्ड प्रथम (दानकुमार प्रधान) र द्वितीय (शंकरराज श्रेष्ठ) दुवै स्थान प्राप्त गरेको पनि उनले बताए । २०१८ र २०२५ सालमा एसएलसी परीक्षाको नतिजामा नेपालकै उत्कृष्ट १० भित्र परेको गौरवमय इतिहास उनले सुनाए ।

विद्यालयले २० मंसिरदेखि हीरक महोत्सव मनाउन लागेको छ

२०४५ सालमा पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको स्थापना समेत यसै विद्यालयमा भएको प्रअ सापकोटाले जानकारी गराए । विद्यालयले स्थापनाको ४८ औं वर्षसम्म कक्षा १० सम्म मात्र अध्यापन गराइरहेको थियो । २०५४ सालदेखि कक्षा ११ र १२ को पढाइ सञ्चालनमा ल्याएको सापकोटाले बताए । पछि पृथ्वीनारायण क्याम्पस, पोखराले प्रवीणतापत्र तहको अध्यापन खारेज गरेपछि त्यसको ठुलो शैक्षिक भार राष्ट्रिय माविले व्यहोरेको उनले सुनाए ।

योबीचमा विद्यालयले शैक्षिकसँगै भौतिक पूर्वाधार पनि विकास गर्दै गयो । विभिन्न समयमा बिहान प्रार्थना गराउने स्थल, पिउनेपानी र हातधुने पानीका धाराहरु, शौचालय, खेलकुद मैदान, चमेनागृह, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला निर्माण गरेको उनले सुनाए । अहिले यहाँ विद्यार्थीको बढी भएको उनको भनाइ छ । अहिले कक्षा इसिडीदेखि कक्षा १० सम्म निशुल्क अंग्रेजी माध्यममा अध्यापन गराइरहेको उनले बताए । कक्षा ११ र १२ मा पनि न्यून शुल्कमा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पढाइ भइरहेको छ । विद्यालयका हाल ४४ जिल्लाका गरी १ हजार ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । भने, ५७ जना शिक्षक, कर्मचारीहरु कार्यरत रहेको प्रअ सापकोटाले बताए ।

यो विद्यालयले अहिले हीरक महोत्सव मनाउन लागेको छ । विद्यालयले मंसिर २० गतेदेखि १ वर्षसम्म विविध कार्यक्रम गरी महोत्सव मनाउन लागेकोमा त्यसको तयारी तीव्र पारिएको मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

महोत्सव शुभारम्भको दिन प्रभातफेरि तथा शुभारम्भ समारोह हुनेछ । जसअन्तर्गत प्रभातफेरी विद्यालय शिलान्यास गरिएको स्थल पोखरा नदीपुरस्थित नारायणस्थानबाट सुरु भई पालिखेचोक, तेर्सापट्टी, नालामुख, भैरवटोल, विन्ध्यवासिनी, बागबजार हुँदै विद्यालय पुगी समापन हुनेछ । प्रभातफेरिको उद्घाटन पोखरा महानगर प्रमुख धनराज आचार्यले गर्ने तयारी छ ।

त्यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा सोही दिन शुभारम्भ समारोह हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणाले जानकारी दिए । उद्घाटन कार्यक्रम सम्पन्नपश्चात कार्यसम्पादन समितिको बैठकले वर्षभरि सञ्चालन गरिने कार्यक्रमहरु घोषणा गर्नेछ । जसमा पुनर्मिलन समारोह, स्मारिका प्रकाशन, स्वास्थ्य शिविर, कला साहित्य र खेलकुदका विभिन्न जिल्लास्तरीय प्रतियोगिता मुख्य रुपमा समेटिने जनाइएको छ ।

महोत्सव सम्पन्न गर्न विद्यालय अध्यक्ष राणाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा पूर्व विद्यार्थी शिवप्रसाद पराजुली, सचिव प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा, कोषाध्यक्ष पूर्व विद्यार्थी सूर्य सुवेदी तथा सहकोषाध्यक्षमा लेखापाल गीतादेवी अधिकारी छन् ।

त्यसैगरी, ४१ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । सो समितिले प्रभातफेरी व्यवस्थापन उपसमिति संयोजक महेन्द्र श्रेष्ठ, प्रचारप्रसार उपसमिति संयोजकमा नारायणप्रसाद चापागाईं, मञ्च/साउन्ड सिस्टम व्यवस्थापनमा रमेश पौडेल तथा जलपान उपसमिति संयोजकमा वरुणविक्रम राणालाई जिम्मेवारी दिएको छ ।

विद्यालय अध्यक्ष राणाले सबैको साथ सहयोगबाट महोत्सव मनाउन लागिएको स्पस्ट पारे । उनले विद्यालय जग्गादाताको स्मरण गर्दै त्यसमा साठीघरे पराजुली साथै निलम्बन वंश समितिको भूमिका महत्वपूर्ण रहेको जनाए । विद्यालयको जग्गा संरक्षण गरिने भन्दै अध्यक्ष राणाले महोत्सवकै बीच जग्गादातालाई अभिनन्दनसहित सम्मान गरिने पनि स्पस्ट पारे ।

प्रअ सापकोटाले विद्यालय कास्कीकै ऐतिहासिक नमुना शैक्षिक संस्था रहेको दाबी गर्दै अझै नमुना बनाउन हीरक महोत्सवले सघाउने विश्वास लिए । विद्यालय अध्यक्ष राणाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक भुवन सुवेदीले गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width