४ करोड आयकर तिर्ने जाल्पा लघुवित्त उत्कृष्ट करदाता

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०८०
tax day (2)

पोखरा । पोखरामा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले वर्षभरिमा ४ करोड ७ लाख ४६ हजार रुपैयाँ आयकर बुझाएको छ । कर दिवस एवं कर सप्ताहको समापन अवसरमा आन्तरिक राजस्व कार्यालय कास्कीले सबैभन्दा बढी कर दाखिला गर्ने गर्ने जाल्पासहित ३ व्यावसायिक संस्थालाई सम्मान गरेको छ ।

व्यापारतर्फ माछापुच्छ्रे मेटल एन्ड मेसिनरी वक्र्स प्रालि र उद्योगतर्फ कर्माचार्य बेक्स एन्ड फुड्स प्रालि उत्कृष्ट करदाता रुपमा सम्मानित भए । माछापुच्छ्रेले गएको आवमा २० लाख रुपैयाँ आयकर दाखिला गरेको छ । कर्माचार्य बेक्सले ३१ लख ८४ हजार रुपैयाँ आयकर बुझाएको आराका पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताए । जाल्पाका तर्फबाट अध्यक्ष वीरबहादुर अधिकारी, माछापुच्छ्रेका विष्णुप्रसाद पाण्डे र कर्माचार्य बेक्सका विक्रम कर्माचार्यले सम्मानपत्र ग्रहण गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले कर प्रशासन सहज र पारदर्शी एवं करदातामैत्री हुँदै गएको बताइन् । उनले कर तिर्नु हाम्रो दायित्व हो भनेर महसुस हुनुपर्ने भनाइ राखिन् । कर प्रशासनका क्षेत्रमा काम गरिसकेका प्रदेश सचिव विनोदबहादुर कुँवरले प्रविधिलाई आत्मसात गर्दै आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेको बताए । उनले भने, ‘विधि र प्रक्रिया बुझेको इमानदार नेतृत्व भएमा सुधार सम्भव छ भन्ने प्रमाणित नेपालमा कर प्रशासनमा देखिएको छ ।’ राज्य सञ्चालनको रक्तसञ्चार कर प्रशासनबाट नागरिकले धेरै अपेक्षा गरेकै कारण यसप्रति टीकाटिप्पणी हुने गरेको उनको भनाइ थियो ।

व्यापारतर्फ माछापुच्छ्रे मेटल एन्ड मेसिनरी वक्र्स प्रालि र उद्योगतर्फ कर्माचार्य बेक्स एन्ड फुड्स प्रालि उत्कृष्ट करदाता

प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले सामाजिक न्याय, राज्यको आर्थिक विकासका लागि मूल्य अभिवृद्धि, आयकर र अन्तशुल्कको योगदान महत्वपूर्ण रहेको बताए । कर तिर्ने व्यक्ति र संस्थाको सम्मानले यस क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने भनाइ सचिव रिज्यालको थियोे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले व्यवसायीहरु अहिले आर्थिक र मानसिक रुपमा प्रताडित रहेको बताए । उनले भने, ‘हिजो मात्र मैले अर्थमन्त्रीसँग भेटेको थिएँ, उहाँले तपाईंहरु नआत्तिनुस् भन्नुभएको छ, हामी कहिलेसम्म नआत्तिने ?’ व्यवसायीहरु विदेश पलायन र आत्महत्यासम्मको अवस्थामा पुगेको भन्दै उनले यसतर्फ सरकारी ध्यान जान जरुरी रहेको बताए । कर प्रशासन र प्रणालीका बारेमा व्यवसायीहरुलाई अझ धेरै बुझाउन बाँकी रहेको बताउँदै अध्यक्ष प्रजापतिले कर अधिकृत देखेर व्यवसायी भाग्ने अवस्थाको अन्त्य हुनुपर्ने भनाइ राखे ।

लेखनाथ उवा संघका अध्यक्ष विनोद श्रेष्ठले व्यवसायीहरु कारोबार अनुसारको कर तिर्न तयार रहेको भन्दै आर्थिक मन्दीका बेला सरकारबाट उनीहरुको संरक्षण जरुरी रहेको बताए । पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यमनाथ पौडेलले व्यवसाय घट्नु भनेको राज्यको ढुकुटी कमजोर हुनु हो भन्दै व्यवसायीलाई टिक्ने वातावरण सरकारले बनाइदिनुपर्ने भनाइ राखे ।

सम्मानित संस्थाका तर्फबाट जाल्पा सामुदायिक लघुवित्तका अध्यक्ष वीरबहादुर अधिकारीले कर कहर नहोस् भन्दै स्वतस्फूर्त कर बुझाउने वातावरण बन्नुपर्ने बताए । यसका लागि करदाता र कर प्रशासनबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उनको सुझाव थियो । कार्यक्रमबीच पोखरा चेम्बर अफ कमर्सका सचिव विष्णु बास्तोलाले करप्रशासन सम्बन्धी मुक्तक वाचन गरे । कार्यक्रममा उत्कृष्ट कर्मचारी टाइपिस्ट नासु कृष्णहरि गौतमलाई सम्मान गरिएको छ ।

प्रमुख कर अधिकृत शिव शर्माले कर प्रशासनको सेवा र गुणस्तरमा निकै बदलाव आएको भन्दै यसका अझै सुधार गर्दै जाने बताए । उनका अनुसार आन्तरिक राजस्व कार्यालय पोखराले कात्तिक मसान्तसम्म राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म १ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय पोखरामा कात्तिक मसान्तसम्म आयकरमा ६६ हजार ८ सय ७५, मूअ करमा १२ हजार ९३, अन्तशुल्कमा ४ हजार ४ सय ७० करदाता दर्ता भएका छन् । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या १ लाख ६२ हजार ३ सय ९० पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width