सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०८०
muktak

पोखरा । सरुभक्तले २०३५ सालमा पहिलो कृति ‘बन्द खामभित्र’ मुक्तक संग्रहले मुक्तक विधारमा मुलुकभर लहर नै ल्यायो । आकारमा छोटो, भावमा सघन, अलंकारले भरिएका फुटकर कवितालाई मुक्तक भनिने समयमा प्रकाशित उक्त कृतिमा २ देखि १३ हरफसम्मका मुक्तक थिए । भावमा तीव्रता दिई स्रोता/पाठकमा विद्युतीय तरंग दिनु मुक्तकको स्वभाव हो । उनै सरुभक्तले २०६१ सालमा दोस्रो मुक्तक संग्रह ‘हजार बुद्धहरु’ प्रकाशन गरे ।

जसमा स्वतन्त्र र तुकबन्द चतुष्पदी शैलीका मुक्तक छन् । २०६७ मा तेस्रो मुक्तक संग्रह ‘प्रेमयात्रा’ निकाले सरुभक्तले । ‘जीवन यात्रा र समय यात्रा’ मुक्तक संग्रह अप्रकाशित भए पनि यी २ संग्रहमा पूर्णत चतुष्पदी शैलीका मुक्तक समावेश छन् ।

पहिला प्रकाशन भइसकेका र प्रकाशन हुन बाँकी गरी ५ वटा संग्रहका मुक्तक समेटेर नेपाल मुक्तक प्रतिष्ठान, बेलायतले ‘सरुभक्तका मुक्तक’ प्रकाशनमा ल्याएको छ । जुन संग्रहको आइतबार पोखरामा लोकार्पण गरिएको छ । अग्रज चित्रकार एवं कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनले उक्त कृति लोकार्पण गरे । कृतिमा ५० वर्षदेखि सरुभक्तले लेखेका १ हजार १७ मुक्त संग्रहित छन् ।

मुक्तकको सहर भनेर चिनिएको पोखरामा ३० को दशकबाट साहित्यिक गतिविधिले तीव्रता पायो । पोखरेली युवा सांस्कृतिक परिवार स्थापना भएपछि यसले साहित्यिक गतिविधिमा पनि मुक्तकले विशेष स्थान पायो । २०३५ माघ २० मा पोखरामा पहिलो पटक टिकटमा मुक्तक आयोजना गरियो । हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रमको छाप पछिसम्म पनि परिरह्यो । माधव घिमिरे, तुलसी दिवसहरुलाई बोलाएर बर्सेनि यस्तो कार्यक्रम भइरहे । जसले मुक्तक लेख्नेहरुलाई हौस्यायो । यी र यस्तै गतिविधिले आफू मुक्तक लेखनमा निरन्तर लागिरहेको बताउँछन् सरुभक्त । उनले भने, ‘अब त मुक्तक लेख्दिन भन्यो, मैले मुक्तक लेख्ने होइन कि मुक्तकले मलाई लेखाउँछ ।’ पोखरामा सुरु भएको मुक्तक अभियान अन्तर्राष्ट्रियकरण भएको भन्दै उनले अब यहाँ मुक्तकसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी गर्न प्रस्ताव गरे ।

कलाकार वात्स्यायनले निरन्तरको दर्शन र चिन्तनका कारण सरुभक्त ‘सरुभक्त’ भएको बताए । रचनाले मानव जीवनलाई प्रभाव पार्न सके मात्र त्यो जीवन्त हुने भन्दै सरुभक्तका कृतिहरुमा जीवन्तता रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले २०३५ सालमा पोखरा उद्योग वाणिज्य संघमै टिकटमा मुक्तक गरेको स्मरण गर्दै आज त्यही ठाउँमा सरुभक्तको मुक्तक संग्रह लोकार्पण हुनु सुखद संयोग भएको बताए । एक श्लोकमा सबै विषयवस्तु राख्न सकिने भएकाले मुक्तकको प्रभावकारिता बढ्दै गएको उनको भनाइ थियो । तर विभिन्न कालखण्डमा यसलाई विकृत बनाउन खोजिएको र त्यसबाट मुक्तकप्रेमी सचेत हुनुपर्ने श्रेष्ठले बताए । समय अनुसार मुक्तक लेखन शैली फेरिनु स्वभाविक भन्दै उनले कसैलाई पनि यहि शैलीमा लेख भनेर पेल्न नहुने भनाइ राखे ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले महाकाव्य तान्न सक्ने खुबी ४ पंक्तिका मुक्तकमा रहेको भन्दै रचनालाई आकारमा नाप्न नहुने भनाइ राखे । प्रतिष्ठानका महासचिव रमेश पौडेलले सरुभक्तले अरु विधा नजानेर मुक्तक लेखेको नभइ यसप्रतिको स्नेहले निरन्तर लेखनमा लागेको बताए । विभिन्न कालखण्डमा लेखिएका मुक्तक सञ्चयन भएको यो किताब सिरानीमा राख्ने खालको रहेको उनको भनाइ थियो ।

मुक्तक संग्रहका सम्पादक डा. रुपक श्रेष्ठले सरुभक्तको यो संग्रहमा केवल मुक्तक मात्र नभएर मुक्तकको इतिहास रहेको बताए । साहित्यका हरेक विधामा माछापुच्छ्रे जस्तो उचाइ भएका सरुभक्तका मुक्तकमा सम्पादनका नाममा एक अक्षर पनि तलमाथि पार्ने हिम्मत आफू नगरेको भन्दै उनले संकलनको काम गरेको बताए । उनले भने, ‘५० वर्षअघिदेखि लेखिएका मुक्तक यसमा छन्, यसको बिक्रीबाट आएको रकमबाट हामीले मुक्तकको उत्थानका लागि पुरस्कारको कोष बनाउने छौं ।’

नेपाल मुक्तक प्रतिष्ठान, बेलायतका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले सन् २०१५ मा बेलायतमा स्थापित संस्थाले मुक्तकको उत्थानका लागि निरन्तर काम गर्दै आएको बताए । गोरखा भूकम्पका बेला टिकटमा मुक्तक गरेर दूतावासमार्फत नेपाल सरकारलाई सहयोग रकम पठाएको उनले स्मरण गरे । आयोजक संस्था मुक्तक मञ्च पोखराका अध्यक्ष रामजीप्रसाद आचार्य र सचिव नवीन भण्डारीले सरुभक्तको कृति सार्वजनिक गर्ने अवसर पाउनु नै गौरवपूर्ण रहेको बताए । कार्यक्रमबीच मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले सरुभक्तका मुक्तक वाचन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width