नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०८०
yampanchak

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

 भाइटीका कात्तिक २९ गते १० : ५१ बजे उत्तम    

कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १० ः ५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।    रासस

Related News

सम्बन्धित समाचार

  • आमाको मृत्युले ४ छोरीको बिचल्ली

    नवराज पहाडी श्रावण २, २०८१
    लमजुङ । सुन्दरबजार नगरपालिका–६, खत्रीढाँटी कुडुलेकी एक महिलाको मृत्युपछि ४ जना छोरीहरुको बिचल्ली भएको छ । गरिबीको पीडासँग जँुघ्न नसकी…
  • पाेखराकाे दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा सुरू

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डले नयाँ आव २०८१/०८२ देखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • कास्कीको अन्नपूर्णमा मुस्कानसहितको सेवा

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । आर्थिक वर्षको सुरुवातीसँगै अन्नपूर्ण गाउँपालिकामा मुस्कानसहितको सेवा शुभारम्भ गरिएको छ । ‘मुस्कानसहितको सेवा हामी सबैको प्रतिबद्धता’ नाराका साथ…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…

hero news full width