नवदुर्गामा मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन   

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
maulakaluka

चितवन ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो ।

दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । अघिल्ला वर्षहरुमा मन्दिरमा बिहानको समयमा मात्र भक्तजन जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै गएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका एवं अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । चितवनमा दिउँसोको गर्मी समयमा उकालो हिँड्न कठिन हुने भएकाले बिहान मात्र मन्दिरमा भीड हुने गरेकोमा अहिले साँझसम्म नै भक्तजन जाने गरेको पाइएको छ ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि गत वर्षहरुका तुलनामा झण्डै ३० प्रतिशत भक्तजन बढेको उहाँले बताउनुभयो । पहिले पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको उहाँले बताउनुभयो ।

फूलपाती, अष्टमी र नवमीमा मात्र २५ हजार भक्तजन मन्दिर पुगेका उहाँको अनुमान छ । यसमध्ये सबैभन्दा बढी फूलपातीका दिन नौ हजारको हाराहारीमा भक्तजन त्यहाँ पुगेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केबलकार बनेपछि सहजताका कारण भक्तजनको सङ्ख्या पनि बढेको हो ।”

यो सङ्ख्या हालसम्मकै बढी भएको उहाँ बताउनुहुन्छ । कार्यालय बन्द भएपछिको पहिलो दिन भएकाले फूलपातीका दिन भक्तजनको निकै भीड थियो । उहाँले आज कोजाग्रत पूर्णिमाका दिन पनि भक्तजनको निकै भीड लाग्ने अनुमान गरिएको बताउनुभयो । यहाँ हालै सञ्चालनमा ल्याइएको केबलकार र अरु दुईवटा बाटोबाट भक्तजन मन्दिर पुग्ने गर्दछन् । तर पछिल्लो समयमा केबलकार चढेर मन्दिर जानेको सङ्ख्या धेरै छ ।

घटस्थापनाको दिनदेखि क्रमशः भक्तजन बढ्दै गएका हुन् । नवदुर्गा सुरु भएसँगै बिहान ५ बजेदेखि नै केबलकार सञ्चालनमा ल्याइएको छ । अन्य समय शनिबार ५ः३० र अन्य दिन ६ बजेबाट साँझसम्म केबलकार सञ्चालन हुने गरेको छ ।

केबलकार चलेपछि अन्य दिनमा पनि पहिलेको भन्दा भक्तजन २५ प्रतिशतले बढेका उहाँले जानकारी दिनुभयो । अन्य समयमा शनिबार एक हजार पाँच सयको हाराहारीमा भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य दिन भने यो सङ्ख्या पाँच सयको हाराहारी हुने गर्दछ ।

बिदाका दिन र पर्व विशेषमा भने भक्तजनको सङ्ख्या बढ्ने गर्दछ । उहाँले भन्नुभयो, “बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केबलकारकै कारण आएका हुन् ।” दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल भक्तजन कम हुने गर्दछन् । बिहानीको समयमा केबलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।

मौलाकालिका केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजार व्यक्ति केबलकार चढेर मन्दिर पुगेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको थियो । विजयादशमी सुरु भएसँगै केबलकार चढ्नेको सङ्ख्या बढ्दै गएको छ । फूलपाती र नवमीका दिन चार हजार हाराहारीले केबलकार चढेको उहाँले जानकारी दिनुभयो । घटस्थापनायता दैनिक सरदर केबलकार चढ्नेको सङ्ख्या दुई हजारभन्दा बढी छ ।

केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेपछि केही मिनेटको पैदलयात्रा गरी मन्दिर पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएको थाहा पाएपछि गैँडाकोट नगरपालिका–५ का ९५ वर्षीय गोकुल शाह पनि मन्दिरको दर्शन गर्न पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर आउने रहर पूरा भयो । म चाहेर पनि मन्दिरसम्म आउन सकेको थिएन, केबलकारले नै यो इच्छा पूरा गरिदियो ।” शाह यही गत बिहीबार मन्दिर पुग्नुभएका थियो ।

यस्तै ओखलढुङ्गाबाट मौलाकालिका मन्दिरको दर्शन गर्न आउनुभएका मोतिलाल पोख्रेलले पनि आफू सहजै मन्दिर पुगेको बताउनुभयो । पचासी वर्षीय पोख्रेल पनि यही कात्तिक ६ गते सोमबार मन्दिरको दर्शनका लागि आउनुभएको थियो । मन्दिरका बारेमा धेरै सुनेको तर मौलाकालिका मन्दिरसम्म पुग्नसक्छु भन्ने नलागेपछि नआँटेको उहाँले बताउनभुयो ।

केबलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँलगायत छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ घाँम डाँडामा पुगेपछि आरती गर्ने गरिन्छ । मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् ।

अहिलेको मन्दिर विसं २०५३ मा बनेको भए पनि मन्दिरको इतिहास भने विसं १५७५ देखिकै छ । करिब पाँच सय वर्ष पहिले पाल्पा राज्यको सैनिक टुकडीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो ।

मौलाकालिका शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यही आस्थाका कारण नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन यहाँ आउने गरेका छन् । प्रायः शनिबार र चितवनको गर्मीका कारण धेरैजसो बिहानको समयमा यहाँ दर्शनका लागि मानिस आउने गरेकामा अहिले भने दिउँसो पनि आउने गरेका छन् ।   रासस

Related News

सम्बन्धित समाचार

hero news full width