मान्छेलाई मोहले तान्छ भन्छन् । म मोहले तानेर यहाँ उपस्थित भएको छु । जान्ने भएर उपस्थित भएको होइन । पत्रकारितासम्बन्धी औपचारिक अध्ययन मैले गर्न पाइनँ । तर, जिन्दगीको अत्यन्त उर्वर समयमा मैले पत्रकारिता गरेँ । झण्डै २०३४/३५ सालबाट २०४१ सालसम्म राष्ट्र पुकार साप्ताहिक (त्यो बेलामा नेपाली कांग्रेसको मुखपत्र पनि भन्ने गरिन्थ्यो ) संवाददाताका रुपमा काम गर्ने अवसर पाएँ ।
त्यो वेलामा केही असल पत्रकारहरूको संगत भयो । मसँगै त्यो बेलामा दुर्गा बराल ‘वात्स्यायन’ ले राष्ट्र पुकारमा कार्टुनहरू पठाउने गर्नुहुन्थ्यो । अत्यन्त कठिन समय थियो । त्यो पठाइएको समाचार के बाट पठाउने हो ? हुलाकबाट पठाउँदा लामो समय लाग्थ्यो । अनि त्यो समाचार र कार्टुन दुवै पठाउन हामी साइकल चढेर एयरपोर्टसम्म पुग्थ्यौं । एयर डकुमेन्ट गरेर काठमाडौं पठाउने गथ्र्यौं । फ्याक्सको जमाना पनि थिएन । अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन । र त्यो बेलाको पत्रकारिता मिसन पत्रकारिता थियो ।
विशुद्ध रूपले प्रजातन्त्र पुुनस्र्थापनाका निम्ति एउटा लडाइँको मोर्चाका रूपमा हामीले पत्रकारितालाई लिएका/ग्रहण गरेका थियौं । त्यसरी म पत्रकारितामा संलग्न भएको थिएँ । त्यसको एउटा मोह मसँग अझै पनि बाँकी छ । सँगसँगै नेपाल प्रेस युनियनसँग पनि सम्बन्ध र साइनो छ । नेपाल प्रेस युनियनको काठमाडौंमा पहिलो अधिवेशन भयो । पहिलो अधिवेशनमा हरि अधिकारी अध्यक्ष हुनुभयो । त्यसपछि दोस्रो अधिवेशनमा सहभागी हुन पुगेका थियौं । म पुगेको थिएँ । पोषनाथ शर्मा पुग्नुभएको थियो । अहिले नेपाली फिल्म जगत्मा अभिनेताका रूपमा चिरपरिचित हुनुभएका प्रकाश घिमिरे पुग्नुभएको थियो । दुर्गा बराल पुग्नुभएको थियो । हामीले त्यहाँ रमेश तुफानको अध्यक्षतामा नेपाल प्रेस युनियनको दोस्रो कार्यसमितिको गठन गरेका थियौं ।
मसँग विषयवस्तुको ज्ञान भएर होइन । मसँग असाध्यै अध्ययन भएको विषय पनि होइन । तर, कारण के हो भन्दा कुनै समय म पत्रकारितामा संलग्न थिएँ । पोखराकै जनमत दैनिक, पर्यवेक्षक साप्ताहिक (जो तिलकमान गुभाजू दाइले निकाल्नुहुन्थ्यो ) त्यसको स्तम्भ लेखकका रूपमा पनि म जोडिएको थिएँ । अहिले पनि एक ढंगले पत्रकारितासँग जोडिएको छु । धेरै पत्रकार साथीहरू विभिन्न विषयमा सोध्न आउने गर्नुहुन्छ । कुनै चाडपर्वका विषयको सन्दर्भ भयो भने केही भन्दिनुस् न भन्ने गर्नुहुन्छ । एउटा समय त यस्तो पनि थियो–कतिपय नयाँ पत्रकार भाइबहिनीहरूलाई समाचार लेख्न सिकाउने काममा पनि संलग्न भएको थिएँ । त्यो हुनाले नेपाल प्रेस युनियन कास्कीको आग्रहलाई नाइँ भन्न सकिनँ ।
पत्रकारलाई नै पत्रकारिता भनेको के हो भनेर परिभाषित गर्न लागेँ भने म अन्योलमा पर्छु । मलाई पत्रकारिता भनेपछि हाम्रो पूर्वीय सभ्यतामा पत्रकारको भूमिका निर्वाह गर्ने को थिए भन्ने विषयवस्तुतर्फ जानुपर्छ कि भन्ने लाग्छ । सनातन वैदिक संस्कृतिमा विभागहरू छुट्याइएका छन् । देवताहरूको विभागहरू छुट्याइएको छ । देवीहरूको विभाग छुट्याइएको छ । देवता र देवीको विभाग छुट्याउँदा अत्यन्त महत्वपूर्ण मन्त्रालयहरू चाहिँ महिलाहरूलाई दिइएको छ । शिक्षा मन्त्रालयलाई सरस्वतीलाई दिइयो । अर्थ मन्त्रालय लक्ष्मीलाई दिइयो । रक्षा मन्त्रालयलाई भगवतीलाई दिइयो । सञ्चार मन्त्रालयचाहिँ नारद मुनिले पाए ।
नाराद मुनि सम्भवत: हाम्रा पौराणिक पात्रहरूमा त्यस्ता पात्र हुन्, जसले सूचना संवाहकका रूपमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अर्को एउटा महत्वपूर्ण पात्र पनि छन्–जसले सूचनालाई आफ्ना निम्ति अत्यन्त महŒवपूर्ण ढंगले उपयोग गर्यो । हामीले महाभारतका कथाहरू पढेका छौं । महाभारतमा कृष्णजीको भूमिका झण्डै तटस्थ थियो । मलाई छान्छौ कि मेरो एक अक्षौहिणी सेनालाई छान्छौ ? भन्दा दुर्योधनले भगवान् कृष्णलाई छानेनन् । उनले भगवान् कृष्णका एक अक्षौहिणी (एक अक्षौहिणी सेनामा २१ हजार ८७० रथ, त्यति नै हात्ती, ६५ हजार ६ सय १० घोडसवार सैनिक र १ लाख ९ हजार ३ सय ५० पैदल सेना हुन्छन् ) सेनालाई छाने । अर्जुनले कृष्णलाई छाने । तर, प्रत्यक्ष म युद्धमा सहभागी हुन्न भन्ने कृष्णको शर्तनामा थियो । युद्धको अन्त्यमा जाँदा सबैले आ—आफ्ना भूमिकालाई आत्ममुग्धताको स्तरमा पुर्याए मेरा कारणले यो युद्धमा जीत हासिल भएको भनेर पाण्डवका पात्रहरूले भन्न थालेपछि भगवान् कृष्णले वर्वरिक भन्ने नामको पात्र थिए । जसको सुरुमै भगवान् कृष्णले घाँटी काटेर कुनै रूखमा झुण्डाइदिएका थिए । त्यो झुण्डाइएको टाउकोले महाभारतको युद्ध सबै देखिराखेको थियो । ती पाण्डवहरूलाई लगेर कृष्णले वर्वरिक समक्ष उभ्याए । अनि सोधे वर्वरिक यो युद्धमा तिमीले के देख्यौ ? ‘मैले कि तपार्इंलाई देखेँ कि तपाईंको सुदर्शन चक्रलाई देखेँ,’ वर्वरिकले भने । र, सबै आफ्ना कारणले युद्धमा विजयी भएको घोषणा गर्नेहरू नतमस्तक भए ।
महाभारतको यो पाटोलाई अर्को ढंगले हेर्ने हो भने यति धेरै सूचना कृष्णजीसँग थियो । वर्वरिकसँग सम्पूर्ण महाभारतको युद्धलाई पल्टाउन सक्ने क्षमता छ भन्ने कुरा कृष्णले थाहा पाएका थिए । त्यसकारण उनी कतै दुर्योधनतिर मिसिन्छन् कि भनेर बाधा दिने काम पनि कृष्णजीले गरे । कर्णसँग यस्तो गज्जबको कवच थियो । त्यो कवच ननिकालिकन कर्णको बध सम्भव थिएन । कर्णलाई विवश बनाउनका निम्ति कुन्तीलाई कसरी प्रयोग गर्ने कृष्णजीले आफ्नो सूचनाका आधारमा थाहा पाएका थिए । चाहे जरासन्धको वधमा होस्, चाहे दुर्योधनको वधमा नै किन नहोस् ! कृष्णजीले प्राप्त गरेको सूचना सबैभन्दा बलशाली थियो ।
पत्रकारिता अब मिसनबाट कमिसनतर्फ पुगेको अवस्था छ
भीमसेनको गदाभन्दा पनि कृष्णजीको सूचना प्रबल थियो । त्यसकारण सूचना कति महत्वपूर्ण छ भन्ने कुरा दर्शाउँछ । सूचना महत्वपूर्ण भएकै कारणले गर्दा प्रत्येक राज्यले ठूलो संख्यामा गुप्तचरहरू तैनाथ गरे । गुप्तचरहरू राज्यका निम्ति अत्यन्त महत्वपूर्ण ठहरिन्थे/ठहरिन्छन् ।
मैले यहाँहरूलाई के निवेदन गर्न खोजेको भन्दा,जीवनमा, युद्धमा, विकासमा सबै चीजमा सूचनाको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । हामीले समाचार भन्नासाथै के चिजलाई समाचार भन्ने ?
पत्रकारिताको सबैभन्दा ठूलो धर्म भनेको के रैछ भन्दा समाचार संकलन गर्ने । त्यसको लेखन गर्ने । त्यसको सम्पादन गर्ने र त्यसलाई आम जनसाधारणका बीचमा पुर्याउने । सामान्यतया: त्यो छापा पत्रकारिताको कुरा गरौं वा विद्युतीय सञ्चारमाध्यमको कुरा वा अन्य अहिले विकसित भएका इन्टरनेटका कुराहरू गरौं ।
तर, सूचनाहरू सधैं उपयोगी हुन्छन् कि हुँदैनन् ? सूचनाहरूलाई कसरी समाजमा उपयोगी बनाउने ? सूचनालाई प्रस्तुत गर्दा लोककल्याणको भावनाको जन्मको कसरी हुन सक्छ भन्ने सोच पनि आवश्यक छ । हाम्रो अधिकांश समाचारहरू एउटा नेता आयो भाषण गर्यो, त्यसपछि समाचार बन्यो । हाम्रो अधिकांश समाचारहरू घटनामा आधारित छन् । अधिकांश समाचारहरूमा शब्दको तलमाथि बाहेक मनसाय उस्तै छ । अधिक समाचारहरू अहिलेका सन्दर्भमा भन्नुपर्दा आग्रहले परिपूर्ण छन् ।
जबकि पत्रकारिताको सबैभन्दा ठूलो योग्यता भनेको तटस्थता र निष्पक्षता हो । सबैभन्दा ठूलो पत्रकारिताले निर्वाह गर्नुपर्ने भूमिका सत्यप्रतिको निष्ठा हो । तपाईं सत्यप्रतिको निष्ठाबाट विचलित हुनुभयो भने मलाई लाग्छ, पत्रकारिता सम्भव छैन । तपाईंमा आग्रह परिपूर्ण भो र निश्चित उद्देश्यका निम्ति जानुभयो भने पत्रकारिता सम्भव छैन ।
हामीले चाहिँ पत्रकारिता गर्दा पनि आग्रहका साथ गरेका थियौं । त्यो भन्नलाई हिच्किचाउन हुँदैन । आग्रह के थियो भन्दा, पञ्चायती शासन व्यवस्थालाई ढालेर प्रजातन्त्रको पुनस्र्थापना थियो । त्यो मिसनमा पत्रकारिता गरिएको थियो । अब त्यो मिसनबाट पत्रकारिता कमिसनसम्म पुग्यो । मैले सबै पत्रकार मित्रहरूलाई दोषारोपण गर्न खोजेको होइन । हामी यस्तो दलदलमा फसेका छौं कि यहाँबाट जस्तोसुकै पानी निकाल्छु भने पनि पानी चाहिँ फोहोर नै आउने अवस्था छ ।
समाज सम्पूर्ण रुपले दूषित भइसकेपछि त्यो समाजबाट स्वच्छताको कल्पना अलिक असम्भव हुँदोरहेछ । त्यस सन्दर्भमा मैले भनेको पत्रकारिता पनि अब मिसनबाट कमिसनतर्फ पुगेको अवस्था छ । पत्रकारिता व्यावसायिक हुन आवश्यक छ । त्यसमा संलग्न भएका मानिसहरू पनि पेटसहितका हुन्, केही आकांक्षासहितका हुन् । पेटरहित र आकांक्षारहित मानिस हुँदैन । अन्य मानिसमा जस्तै पत्रकारमा पनि आकांक्षा हुन्छ । उनलाई पनि जीवन बाँच्नका निम्ति आवश्यक सुविधाहरूको खाँचो छ ।
तर, त्यसको लागि हामीले पत्रकारिताको व्यावसायिकाको विकास गर्न खोजेका हौं भन्ने मलाई लाग्छ । अब पत्रकारितामा सिर्जनशीलता भनेको के ? अथवा सिर्जनशीलतालाई पत्रकारितामा कसरी प्रस्तुत गर्ने ? मैले आफ्नो अवधारणा मात्रै भनेको हुँ है । फेरि यसलाई यसले बडो जान्ने भएर भन्यो, हामीले यसले भनेको मान्नुपर्छ र भन्ने अर्थमा ग्रहण नगरिदिनुहोला ।
मैले पत्रकारहरूसँगको निकट संगत र पत्रकारितासँगको आत्मीयताको कारणले मलाई लागेको कुरा भनेको हुँ । दुइटा कुरा देखें मैले । पहिला–पहिला भर्खरको ठिटा हुने बेलामा हिन्दी पत्रिका खुब पढिन्थ्यो । राजनीतिमा चासो राख्ने हरेकका निम्ति दिल्लीबाट प्रकाशन हुने दिनमान नपढी नहुनेजस्तै थियो । अलिअलि साहित्यप्रति पनि रुचि भएका कारणले मुक्ता, सरिता, नवनित, कादम्बिनी पढ्थे । त्यो दिनमानका सम्पादक थिए–रघुवीर सरहाय । रघुवीर सरहाय भनेको भारतका अत्यन्त प्रसिद्ध कवि हुन् । धर्मयुगका सम्पादक थिए–डा.धर्मवीर भारती । हिन्दी साहित्यमा डा. धर्मवीर भारतीको त्यति नै महत्वपूर्ण योगदान छ ।
नेपालको पत्रकारिताको इतिहासको कुरा गरौं । चाहे त्यो सुधासागरको कुरा गरौं । चाहे त्यो मोतीराम भट्टको पत्रिकाको कुरा गरौं । चाहे सिद्धिचरणले श्रेष्ठले पहिलो दैनिक पत्रिका दर्ता गर्नुभयो ‘आवाज’, त्यसको कुरा गरौं । चाहे गोरखापत्रमा भएका सम्पादकहरूको कुरा । गोरखापत्रले पहिलो पटक प्रधानसम्पादक भनेर कसलाई तोक्यो भन्दा बालकृष्ण समलाई ।
नेपाली पत्रकारिताको बीचको भागमा किशोर नेपालको अत्यन्त चकचकी–बकबकी थियो । किशोर नेपालले बनाएका टिमहरू धेरै थिए । देशान्तरको टिम होला अथवा कान्तिपुरकै टिम होला । मैले यी सबै उदाहरण दिएर भन्न खोजेको के हो भन्दा– साहित्य, सिर्जनशीलता र पत्रकारिता टाढाका विषय होइनन् । यी एउटै घरका अलग कोठाहरू हुन् ।
पत्रकारितालाई हामी कहिलेकाहीं के पनि भन्छौं भन्दा यो हतारको साहित्य पनि भन्छौं । तपाईंले आज एउटा घटना भएको देख्नुभो अथवा तपाईंले कुनै विषयका विषयमा अनुसन्धान गर्नुभयो भने त्यसलाई भोलिपल्ट नै प्रस्तुत गर्नुपर्छ । ६ महिना पर्खेर बसेर, त्यसका विषयमा एउटा आख्यान बनाएर प्रस्तुत गर्ने फुर्सद तपाईंले पाउनुहुन्न । तर, एउटा कविले त्यसका विषयमा ६ महिना घोत्लिएर एउटा कविता लेख्छ । एउटा उपन्यासकारले त्यसैका विषयमा २ वर्ष अनुसन्धान, अवलोकन, अध्ययन गर्छ अनि उपन्यास निकाल्छ । तपाईंहरूलाई याद होला, नारायण वाग्लेजीले कान्तिपुरमा ‘कफी गफ’ लेख्नुहुन्थ्यो । कफी गफले नारायण वाग्लेको कलमलाई यति मिहिन ढंगले परिमार्जित गरिदियो कि उहाँले पल्पसा क्याफे लेखेर मदन पुरस्कार जित्नुभयो ।
सिर्जनशीलतासँग पत्रकारिताको सम्बन्ध के ? सिर्जनशीलता र पत्रकारसँगको निकट सम्बन्धका कुरा मैले राखेँ । हामी केटाकेटी थियौँ । नेपालमा तीनवटा साप्ताहिक हामी खुब पढ्थ्यौं । एउटा राष्ट्रपुकार थियो । जसलाई हामीले कांग्रेसको कण्ठ भन्थ्यौं । एउटा मातृभूमि थियो, जसलाई हामीले चिनिया कम्युनिस्टहरूको वाणी मुखरित गर्छ भन्थ्यौँ । एउटा समीक्षा साप्ताहिक थियो । त्यो अलिक बढी बौद्धिक पनि थियो र वामपन्थको सोभियत खेमालाई प्रतिनिधित्व गथ्र्यो ।
त्यहाँ एउटा गजबको स्तम्भ थियो । त्योभन्दा अगाडि त्यस्तो स्तम्भ नेपाली छापा जगतमा देखिएको थिएन । त्यो स्तम्भ के थियो भन्दा–‘सडक बोल्छ’ । रमेश तिवारी भन्ने पत्रकार हुनुहुन्थ्यो । सडकमा हिँडिरहेका मान्छेलाई उहाँ प्रश्न गर्नुहुन्थ्यो, समसामयिक विषयमा । सडकमा भेटिएको आवाजलाई साप्ताहिक पत्रिकामा मुखरित गर्नुहुन्थ्यो । जुन नवीन र सिर्जनशील शैली थियो । समीक्षामै अर्को शैली थियो । मदनमणि दीक्षित–जसले ऋग्वेदका विषयमा पिएचडी गर्न लाग्नुभएको थियो । त्यो पिएचडीको सोध निर्देशक सर्वपल्ली राधाकृष्णन (जो पछि भारतका राष्ट्रपति हुनुभयो) हुनुहुन्थ्यो । त्यति ज्ञान भएको मान्छे मदनमणि दीक्षित । उहाँले चक्रपाणिका नामबाट एउटा स्तम्भ चलाउनुहुन्थ्यो । सायद, अहिलेसम्म पनि (मलाई कतै मेरो अज्ञानता होला, कति मेरो ध्यान नपुगेको होला ) त्यो स्तरको स्तम्भ लेखन मैले अहिलेसम्म पढ्न पाएको छैन ।
त्यहीताका र त्यसको सेरोफेरोमा किशोर नेपाल, कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई गोरखापत्रमा सम्पादक हुनुहुन्थ्यो । र, काम नपाएर हल्लिरहेका किशोर नेपाललाई कृष्णप्रसाद भट्टराईले ‘तिमी गोरखापत्रमा जाऊ, गोपाल दाइलाई म भन्दिन्छु’ भनेर त्यहाँ पठाएपछि एउटा गजबको स्तम्भको सुरुआत भयो । ‘हाम्रा गाउँघर’ नामक स्तम्भ सुरु भयो । पत्रकार एउटा गाउँमा पुग्छ । त्यो गाउँमा के के उत्पादन हुन्छ ? त्यो गाउँको सडक कस्तो छ ? त्यो गाउँका विद्यालय कस्ता छन् ? एउटा गर्वको समाचार आउँथ्यो । जुन गाउँमुखी थियो । अहिले पनि हाम्रो पत्रकारिता गाउँमुखी हुन सकेको छैन ।
तपार्इंहरूलाई याद छ कि छैन ? गोरखापत्रमा पहिला पहिला के हुन्थ्यो भन्दा महावाणी भनेर राजाले भनेका कुरालाई कोट गरेर महावाणी आउथ्यो । महान्वाणी छापिन्थ्यो– महावाणी । हामी चाहन्थ्यौं, महावाणी हैन, महान्वाणी छापियोस् । महान्वाणी भनेको के भन्दा जीवनका निम्ति, समाजका निम्ति, राष्ट्रका निम्ति उपयोगी चीज कसैबाट भनियो भने त्यो महान्वाणी हो । महावाणी भनेको के हो भन्दा ठूलो पदमा बसेको ठूलाबडाले भनेको कुरा महावाणी हो । अहिले पनि हाम्रो पत्रकारिता महावाणीमा छ, महान्वाणीमा छैन । तपाईंले समाचार लेख्नुभयो भने समाचारको पहिलो अनुच्छेद के लेख्नुहुन्छ भन्दा, त्यो प्रमुख अतिथिले बोलेका कुराहरूले पहिलो प्राथमिकता पाउँछ । चाहे उसले बोलेको दुई पैसाको किन नहोस् । तर त्यहीं अर्को एउटा मान्छेले महŒवपूर्ण कुरा बोल्यो भने त्यसको उल्लेख नै हुँदैन । हामी अहिले पनि त्यो महावाणी सिस्टममा छौं ।
पोषनाथ शर्मा गोरखापत्रमा काम गर्दा मलाई सोधे–‘दाइ समाचार पाइएन के लेख्नेहोला ?’ मैले उनलाई भनें,‘ समाचार प्रशस्तै छन् तर समाचार हेर्ने दृष्टिकोण चाहिँ हामीसँग हुन आवश्यक छ ।’ ‘के छ दाइ?’ भनेपछि मैले भनें,‘फेवातालको बाँध छ नि, त्यो फेवातालको बाँध, जुन हाइटसम्म फेवातालको बाँध रोकिनुपर्ने त्यो बाँध रोकिएको छैन । त्यसको तलपट्टि प्वाल परेको छ । बालुवाका बोरा लगेर थुपारेका छन् । त्यसको आयुको सम्बन्धमा समाचार लेख न ।’
पोषनाथले त्यसका आयुका विषयमा समाचार लेखे । त्यसलाई राइजिङ नेपालले प्राथमिकता दिएर छाप्यो । सूचना सधैं घटनामा आधारित मात्र हुँदैन । तारा पाखे दाइ संस्कृत माविमा प्रधानाध्यापक, म अध्यक्ष भएर काम गरेका थियौं । अनि मैले एक जना पत्रकार साथीलाई भनें, ‘संस्कृत स्कुल ठ्याक्कै गोरखापत्रसँग जन्मियो । १९५८ असार २४/२५ गते गोरखापत्रको जन्म भयो । १९५८ सालमै राजकीय संस्कृत प्रधान पाठशाला भनेर यहाँ पाठशाला खोलियो । स्कुलको आयु १ सय वर्ष पुग्यो तर १ सयजना विद्यार्थी भएनन् । यो भन्दा ठूलो समाचार के हुन सक्छ ?’
एक जना केदार शर्मा भन्ने मान्छे पत्रकारिता पनि गर्नुहुन्छ । हिमालमा लेख्नुहुन्थ्यो । उहाँले नेपाली खाद्य संस्कृतिका सम्बन्धमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अध्ययन गर्नुभएको छ, भ्रमणमा हिाड्नुभएको छ । त्यो खाद्य संस्कृति विषयमा छलफल गर्न म कहाँ आउनुभयो । उहाँले के भन्नुभयो भन्दा ‘तीर्थजी विन्ध्यवासिनीमा बलीीकस्तो छ ?’ मैले भनें,‘ किन ?’ उहाँले भन्नुभयो–‘ बलि दिन जाती होइन ।’ मैले उहाँलाई भनें,‘ बील दिन जाती त होइन तर त्यो त म पनि मान्छु तर विन्ध्यवासिनीमा दिएका मात्र बलि हुन्छन् ? बुच्चडले मासु पसलमा दिएका बलि हुँदैनन् ?’ विन्ध्यवासिनीमा बलि एकदम घटेको छ तर पोखरामा मासु पसल बढेका छन् । फरक के रै‘छ भन्दा बलि दिँदा मान्छेले प्रसाद खान्छन् मासु खाँदैनन् । बलि वर्षको ३/४ चोटि दिइन्थ्यो । उनीहरू मासु खाने भनेर खाँदैनथे । देवीको प्रसादका रुपमा ग्रहण गर्थे । त्यसको परिमाणसमेत सानो हुन्थ्यो । तर, मन्दिरहरूमा बलि समाप्त भयो । एउटै टोलमा ५/६ ठाउँमा बलिहरू सुरु भए । यो समाचार हुन सक्छ कि सक्दैन ?
समाचार अर्को पनि छ, हामीले पोखराबाट सधैं हिमाल देखेका छौं । हामीमध्ये कतिलाई थाहा छ, हिमालका नामहरू, उचाइहरू । हिमाल आरोहण इतिहासका विषयलाई हामीले आफ्नो समाचार लेखनीमा विषय बनाएका छौं कि छैनौं ? हाम्रो दुर्भाग्य ! संसारमा पहिलो चोटि ८ हजार मिटरभन्दा अग्लो हिमालको आरोहणको प्रारम्भ हामीबाट भयो । अन्नपूर्ण प्रथम चढेर यसको आरम्भ भयो । १९५० जुन ३ तारिखमा । सगरमाथा कहिले चढियो ? १९५३ को मे मा । अन्नपूर्ण चढेको तीन वर्षपछि सगरमाथा चढियो तर हामीले यसलाई उजागर गर्न नसकेको हुनाले सगरमाथाको आरोहणको इतिहास बन्यो । अन्नपूर्णको आरोहणको इतिहास बनेन । हामीले पोखराबाट देख्दै गरेको पाँचवटा हिमालले नाम नै पाएको छैन । ७ हजार ५ सय मिटरको सेरोफेरोमा भएका ५ हिमाल नामविहीन छन् ।
समाचारहरू छन् । समाचार खोज्नका लागि हामीले अध्ययन गर्न जरुरी छ । त्यसलाई प्रस्तुतीकरणमा हामी कति नवीन हुन सक्छौं ख्याल गर्न आवश्यक छ । समाचारवाचकको त समाचार लेखनमा केही भूमिका हुँदैन । समाचार लेखन एउटाले गर्छ, त्यो सम्पादककोमा पुग्छ । सम्पादकले सम्पादन गर्छ अनि वाचकले वाचन गर्छ । तर पनि वाचन कति आकर्षक हुन्छ ? भन्ने कुरासँग समाचारको सम्प्रेषण जोडिन पुग्छ ।
समाचार अत्यन्त महत्वपूर्ण थियो तर वाचन नै काम नलाग्ने भयो भने स्रोताले त्यो समाचारमा ध्यान दिँदैन । समाचार स्रोताका मनसम्म पुर्याउनका निम्ति त्यसलाई बलशाली बनाउनका निम्ति वाचकको पनि भूमिका हुन्छ । मैले यो पत्रकारितामा सिर्जनशीलतालाई यसरी जोड्न चाहें ।
पत्रकारिता यस्तो डरलाग्दो विधा हो । हामीले जुन वेलामा पत्रकारिता गथ्र्याैं, त्यो वेलामा सबै बिटमा लेख्नुपथ्र्यो । राजनीति, भाषासाहित्य, संस्कृति, विज्ञान, सडक सबै विषयमा समाचार लेखिन्थ्यो । अहिले विस्तारै विधागत पत्रकारिताको युगमा प्रवेश गरिसक्यौं । राजनीतिको विषय लेख्नेले त्यसमा मात्रै केन्द्रित भएर लेख्ने प्रचलन बढ्दो भयो ।
पत्रकारहरूको संघसंस्था समेत विधागत रुपमा बन्न थालेका छन् । यतिबेला अझै विषयवस्तुका विषयमा हामीले आफूलाई अझै गम्भीरताका साथ लान सक्ने परिस्थतिको निर्माण भएको छ । मैले पत्रकारितामा सिर्जनशीलतालाई के भन्न चाहँे भन्दा, तपाईंको प्रस्तुतिमा सिर्जनशीलता, तपाईंको दृष्टिमा सिर्जनशीलता हुन आवश्यक छ । पत्रकार राष्ट्रको मार्गदर्शक पनि हो । एउटा पत्रकारको खोजी पत्रकारिता र त्यसको अध्ययनले संसारको चक्रवर्ति महाराज जस्ता भएका अमेरिकाका राष्ट्रपतिको सत्ता गुमेको इतिहास पनि छन् । त्यसकारण मेरो आग्रह छ, निवेदन छ । पत्रकारिता सामान्य विषय होइन । घटना भयो, त्यसको सूचना संकलन गरी आफ्ना माध्यमबाट आम जनमानस समक्ष पुर्याउने मात्र उत्तरदायित्वमा सीमित हुनुभयो भने पत्रकारिताको कर्मकाण्डमा तपाईं सम्मिलित त हुनुभयो तर पत्रकारितालाई एउटा उचाइमा पुर्याउने कुराबाट तपार्इं चुक्नुभयो । त्यो हुनाले पत्रकार साथीहरूले दुइटा विषयमा आफूलाई गम्भीर राख्नुपर्छ जस्तो लाग्छ । सत्यकाप्रतिको निकटता, सत्यको सामीप्यतामा जीवलाई आलोकित बनाउने एउटा अभ्यास । दोस्रो आग्रह नराख्नुहोस् । दल वा दलको गुट विषयमा आग्रह नराख्नुहोस् । मैले सम्प्रेषण गरेको समाचार मुलुकका हितमा हुनुपर्छ भन्ने आग्रहका साथ समाचार लेख्नुभयो भने त्यसले तपाईं, समाज र राष्ट्रलाई कल्याण गर्छ । जसले भोलिका दिनमा अझ सिर्जनात्मक हुनका लागि पनि बल दिइन्छ ।
पत्रकारिता भनेको छिटछिटो विषय होइन । यो सतहको कुरामात्रै होइन । पत्रकारितामा जीवनको गाम्भीर्यता छ । पत्रकारितामा सिर्जनशीलता छ र त्यो सिर्जनशीलता मुलुकका पक्षमा छ भनेर हामीले साबित गर्न सक्छौं ।
(नेपाल प्रेस युनियन कास्कीले ३२ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको ‘पत्रकारितामा सिर्जनशीलता’ विषयक कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठबाट प्रस्तुत विचारको सम्पादित अंश )
Related News
सम्बन्धित समाचार
दूतराजको प्रस्तुतिमा झुमे दर्शक
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
प्याब्सन कास्कीमा षडानन्द गौतम
हेमजा रेडक्रसको निबन्ध लेखनमा ज्ञानसागरकी नीकिता प्रथम
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
hero news full width
मुख्य समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
पौष २८, २०८१प्रेस सेन्टर कास्कीमा दीननाथ
पौष २७, २०८१कोन सहकारी अध्यक्षमा सिग्देल
पौष २७, २०८१