फल इन लभ नै किन ?

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
Durga Neupane Cover Article

पाेखरा । सारा संसार प्रेमको कुरा गर्छ । प्रेम चाहन्छ । प्रेममा रमाउँछ । सबैभन्दा आनन्द प्रेममा छ । ‘म तिमीलाई प्रेम गर्छु’, सायदै सबैभन्दा मीठो वाक्य यही हुनुपर्छ । प्रेम नहुँदा घृणा मात्र बाँकी रहन्छ । घृणाले सृष्टि बन्द गराउन सघाउँछ । त्यसैले प्रेम सृष्टिको मूल कारक हो । प्राणी मात्रले हैन प्रेमको अनुभूति वनस्पतिले पनि गर्छ । प्रेम शक्ति हो । शक्तिको स्रोत हो । प्रेम, यस अर्थले सम्पूर्ण जीवन निर्माणको चाबी हो । सबैले चाहेर पनि प्रेम पाउँदैनन् । बुझ्दैनन् पनि । प्रकृति यस्तै छ । सुनाखरी र सुनगाभा पनि त सजिलोमा फुल्दैनन् । सुन्दर चिज दुर्लभ छ । हीरा प्राप्तिको लागि कोइलासँग लड्नुपर्छ । मूर्ति बन्नेले हजारौं छिना खानुपर्छ । विना त्याग, तपस्या मुटु पनि प्रेममय हुँदैन । प्रेमकै कारण मुटुमा रक्त प्रवाहले परमानन्दको निर्माण गर्छ । जसले यसलाई धकधक गर्ने गति बढाइदिन्छ । मुटु प्रेमकै लागि बनेको अंग हुनुपर्छ ।

प्रेम प्रकृति हो । शाश्वत अनुभूति हो । आत्माको गुण हो । वायु हो । वायु विना जीवनको कल्पना पनि गर्न सकिन्नँ । प्रेम जहाँ पनि हुन्छ । जोसँग पनि हुन्छ । प्राणीबाहेक वनस्पति र जड पदार्थ र भगवान्सँग पनि प्रेम हुन्छ । प्रेम सिर्जना हो । अँध्यारो हटाउने उज्यालो हो । जीवन उत्सर्गमा उचाल्ने उचाइ हो ।
वास्तवमा साँचो प्रेम के हो ? यो एउटा दैवीय भावना जुन भित्रैबाट खुसीको फोहराको रुपमा उध्र्वरेखामा प्रवाहित हुन्छ । यो जन्मदै आउँछ । भन्छन्, प्रेम इन्द्रधनुष हो । बच्चा र आमाबुबाको बीचमा पर्पल प्रेम, साथी साथीको बिचमा इन्डिगो प्रेम हुन्छ । यो ब्लु रोमान्टिक लभको एउटा अनुभव हो । तर यसमा ग्रीन सेल्फ लभ, एलो बौद्धिक लभ र ओरेन्ज इमोसनल लभ हो । यद्यपि संसार रेड (कामुक) लभमा मोहित छ, जसले अरु कलर भुलाइदिन्छ । त्यस्तै ईश्वरीय कलर सेतो हो, जुन आत्मा हो । परमात्माको ऊर्जा हो, जसले जीवनमा दिव्य सुगन्ध ल्याउँछ ।

प्रेम अनुभव हो, जसले मान्छेलाई हार्नै दिँदैन । जीवनमा जिताउँछ मात्रै । असली आत्माको गुण नै यही हो

प्रेम भावना हैन । यो त मान्छेको अस्तित्व हो । हरेक व्यक्तिमा प्रेम हुन्छ । यसले व्यक्तित्व बदलिदिन्छ । शरीर, मन र व्यवहार बदलिने बनाउँछ । जसले साँचो प्रेम बुझेको र गरेको छ, ऊ तृप्त हुन्छ । उसलाई त्यसपछि कुनै पनि प्रकारको चाहना बाँकी रहन्न । न उसको शरीरलाई बाँकी हुन्छ न मनलाई नै । प्रेम र माया फरक चिज हुन् । जो मायामा छ, त्यो बिथोलिन सक्छ । टुट्न सक्छ । चुँडिन सक्छ । बाहिरी आकर्षणको कारण माया बस्छ । माया क्षणीक हुन्छ । सानो कुराले तरंगित बनाउँछ । छिट्टै दृष्टिकोण बदलिन्छ । सबै सुल्टो कुरा उल्टो देखिन्छ । माया नै विषतुल्य हुन्छ । यो नशा हो । मान्छे पागल बन्छ । उसले लिने निर्णय सही हुँदैन । यो अन्धो हुन्छ । यसैका कारण इतिहासका गर्भमा कैयौँ जीवन दुर्घटित भए । अझै हुनेछन् । यसले मृत्युसम्म दिन्छ । विपरित लिंगीमा नै हुन्छ यस्तो । महिला र पुरुषको नेचर एउटै हुँदैन । सामान्यतया महिलाले टाढासम्म सोचेकी हुन्छे भने पुरुषले क्षणिक । यसरी दुइटा केमेस्ट्री नमिल्दा विग्रह हुने हो । पल र समीक्षाको तात्तातो उदाहरण छ । पल जेल नपरेको भए अर्कै दुर्घटना सुन्न पथ्र्यो कि, भन्न सकिन्न । समीक्षाको सोच जीवनपर्यन्त भएकाले उनलाई बढी विक्षिप्त बनायो । तर पलले युजमात्र गरे । जसको परिणाम उल्टो भयो । धेरैले पलको सपोर्ट गरे । किनकि उनी सेलिबे्रटी थिए । समीक्षालाई गालीका वर्षा भए । उनले धैर्य गरिन् । सहिन् । उनले कति चाहन्थिन् भन्ने उनको अन्तर्वार्ताबाट बुझिन्छ । दोहोरो हुनुपथ्र्यो, तर एकोहोरो भयो । मान्छेहरूले चमत्कार र बलात्कारको उखान बनाए । उनलाई बुझेनन् । अर्थात् एउटी छोरीको मन बुझ्न सकेनन् । उनलाई उनकै साहसले उभ्याइरहेको छ । हाम्रो समाज छोरीकै गल्ती देख्छ । यहाँ समीक्षाको मात्र कुरा हैन । हरेक घरको कहानी यस्तै छ । पतिपत्नीमा पनि प्रेम छैन । आइमाइको दोष देख्छ, दोषी त नजर नै हो । समीक्षा दुर्घटित भइनन्, त्यही ठूलो हो । महिलालाई बासनाले मात्रै हेर्ने पुरुषहरू दुर्घटित हुनु स्वाभाविकै हो । अस्मिता भनेको महिलाको लागि अहम् हो । अस्मितामा चोट पुगेकी महिला घाइते बघिनी हुन्छे । अपवादबाहेक महिला छोटो समयको लागि लुटिन चाहन्न । एउटी महिला, एकैपटक धेरै पुरुषलाई मन पराउन सक्दिन तर पुरुष एकैपटकमा धेरै महिलालाई मन पराउन सक्छ । एकजना बुज्रुकले भन्नुभएको सम्झना छ, पराई महिलाको शरीरसँग खेल्ने भनेको पुरुषको लागि एउटा ठूलो युद्ध जितेजस्तै हो । उहाँ भन्नुहुन्थ्यो, हरेक पुरुष त्यही सोच्छ र चाहन्छ पनि । हो, यस्तै देखिन्छ व्यवहारमा । यो महिलाको लागि मात्रै हैन, समाजकै लागि घातक हो । कैयौँ निर्मलाहरू न्यायको लागि तड्पिएका छन् । त्यसको कुनै लेखाजोखा नै छैन । कलि लाग्यो भनेर चित्त बुझाउनु सिवाय अरु विकल्प छैन । कानुनसँगै सोच बदलिनुपर्ने हो । यहाँ लागु नहुने कानुन मात्र बदलिन्छन् ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।

यो त सुगा रटाइमात्र भएको छ । प्रकृति नारी नै हुन् । अचेल रुष्ट छिन् प्रकृति पनि । देवता पनि खुसी छैनन् । विभिन्न दैवी प्रकोप यसैको परिणाम हो ।
तर प्रेम वास्तवमै त्यस्तो हुँदैन । प्रेमको अनिकाल छ । कसैले कसैलाई प्रेम गर्नै सक्दैन । सकेको देखिँदैन । यहाँ भ्रम छ मान्छेलाई । त्यसैले माया र प्रेम एउटै देख्छन् । जुगजुग सँगै हुने कसम सेकेन्डमै सकिन्छ । बाचा सजिलै चुँडिन्छन् । मायाको समुद्र सुक्छ । स्वार्थ र बासनासँग जोडिएको हुन्छ सम्बन्ध । लेनदेन र आकर्षण नै प्रेम सोचिन्छ । समाजमा यी र यस्ता कुराले डेरा गरेको छ । प्रेमको नाममा स्वार्थ छ । मतलब छ । धोका र जालझेलको खेल छ । यसैले शान्ति खल्बलिन्छ । अमञ्चयन बिथोलिन्छ । द्वेष राग, ईष्र्या, क्षोभ, आत्मग्लानि जन्मिन्छ । आत्मसम्मानमा आगो सल्किन्छ । परिणामतः खरानी हात लाग्छ । यही भ्रममा कैयौँ दुर्घटना भए । कैयौं हुन ठीक्क छन् । कैयौं भोलि हुनेछन् ।

समाजको सोच नै बदलिनुपर्छ । दृष्टिकोण फेरिनुपर्छ । इमानदार हुनुपर्ने कुकुरमात्र हैन, मान्छे नै हो । सबैभन्दा महँगो गहना यही हो । मानवताको खेती लगाउनुपर्छ । यही फूल्न र फल्नपर्छ । धर्म, जात, लिंग र वर्गका एजेन्डा नै चाहिँदैन । मानवताको अनिकाल पर्नुहुँदैन । मानव मर्यादा सम्झाउनुपर्ने भएको छ । बाउ आमालाई पनि मौका परे चिन्न इन्कार गर्दै छ, आजको मान्छे । समाज कौरवमय भएको छ । स्वाभाविक रुपमा कौरवका सय भाइ थिए भने पाण्डव ५ भाइ । समाजमा ठिक त्यही देखिन्छ, जम्मा ५ प्रतिशत असल मान्छे होलान् । यस्तो सामाजिक चरित्रले फेरि महाभारतको युद्ध निम्त्याइरहेको छ । जता गयो उतै शकुनी भेटिन्छन् । हरेक घुम्ने कुर्चीमा धृतराष्ट्र विराजमान छन् । आँखा देख्नेहरू गान्धारीको सिको गर्दै छन् । अर्जुनहरू अल्पमतमा छन् । एउटा सारथि खोजेको छ वर्तमानले कृष्णजस्तो । जसले उल्टोसुल्टो सबै जानोस्, सुशासन उमारोस् । मुर्छित अवस्थाका धर्म र न्याय पुनः ब्यूँतिने बनाओस् ।

यसकै लागि त चाहिन्छ प्रेम । आत्माको गुण त प्रेम हो नै । धुवाँरुपी द्वेषले ढाकेको छ, यसलाई । मननको खाँचो छ । प्रेम सतहमा खोजेर पाइन्न । ज्यादै कमसँग छ यो । जोसँग जे छ त्यही दिन सक्छ, नभएको कसैले दिन सक्दैन । तर सबै भिखारी देखिन्छन् । प्रेमको अतृप्त प्यास छ । मरुभूमिमा प्रेमरुपी जल छैन । तूषित मान्छे, रोगी बन्छ र सकिन्छ । भाग्यमानीको भागमा पर्छ प्रेम । यहाँ देखिएका कैयौं फूलजस्ता देखिने नक्कली फूलहरू छन् । जसमा वासना छैन । मात्रै टेबुलमा सजिन्छन् । जब प्रेम फूल्छ, मानवता फल्छ । जसले मान्छेलाई न टुट्न दिन्छ न मर्न नै । यसले त ऊर्जा दिन्छ । जीवनलाई उर्वरा बनाउँछ । खुसी फुलाउँछ । आनन्द जन्माउँछ । आखिर, सबै यसैको भोका छन् । प्रेम एक यस्तो अनुभव हो, जसले मान्छेलाई कहिल्यै हार्न दिँदैन । यसले त जीवनमा जिताउँछ मात्रै । असली आत्माको गुण नै यही हो ।

वास्तवमा परम शुद्ध र विस्तृत अर्थमा प्रेम ईश्वरको नै एउटा रुप हो । तसर्थ अधिकांश धर्मअनुसार प्रेम नै परम धर्म हो । हाम्रा शास्त्रहरूमा प्रेमलाई अनिर्वचनीय भनिएको छ । यो भक्तिको अर्को रुपका साथै मोक्ष प्राप्तिको साधन मानिएको छ ।

श्रीमद्भगवद्गीताका अनुसार पे्रम एक यस्तो वस्तु हो जुन मान्छे जिउनका लागि प्रेरित गर्छ । उसलाई सही र गलतको ज्ञान दिन्छ । यहाँसम्म कि प्रेमले कैयौँ पटक मान्छेलाई मृत्युको मुखबाट पनि बचाउन सक्छ । किनकि प्रेममा ईश्वरको भक्तिभन्दा बढी शक्तिनिहित छ । जीवनको आधार प्रेम हो । जसको जीवनमा प्रेम छ, त्यहाँ अमनचयन छ । त्यसैले पनि हरेक आत्मा प्रेमको खोजीमा छ । तर उस्तै लाग्ने मायाले भुमरीमा पार्छ । अनि निसासिन्छ । धोकाका अनेक बहाना बनाउँछ । रुवाउँछ र रोगी बनाउँछ । कहिल्यै जित्न दिँदैन । भ्रमित बनाउँछ । त्यसैले भनिएको होला फल इन लभ भनेर । मायामा खसिन्छ । फँसिन्छ पनि । तर पे्रम त राइजको मार्ग हो । फल त हुनै सक्दैन । न टुट्छ, न छुट्छ । यो त अनन्त हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width