जनगणना २०७८ : गण्डकी प्रदेशमा गाउँ रित्तिँदै, सहर भरिँदै

विजय नेपाल
जेठ १०, २०८०
censuess.

पोखरा । गाउँमा हेर्दाहेर्दै विकासका सबैखालका पूर्वाधार भित्रिएका छन् । तर गाउँ छोड्नेको लर्को रोकिएको छैन । गण्डकी प्रदेश राजधानी पोखरामा त तीव्र सहरीकरण छ । देशका प्रमुख सहरमध्ये तीव्र सहरीकरण भएका सहरमा पोखरा पनि पर्छ । यहाँ पाइने सबै प्रकारका सेवासुविधाका कारण गाउँ छोडेर पोखरामा बसाइँ सार्नेहरुको लर्को छ ।

क्षेत्रफल हिसाबले नेपालकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा गएको १० वर्षमा जनसंख्या १ लाख १० हजारले बढेको छ । २०६८ को जनगणनामा यहाँको कुल जनसंख्या ४ लाख २ हजार ९९५ रहेकोमा २०७८ को गणनामा ५ लाख १३ हजार ५०४ पुगेको हो । १० वर्षअघि यहाँ १ लाख ५ हजार ओटा घर रहेकोमा बढेर १ लाख ४० हजार पुगेका छन् । सबैभन्दा धेरै जनसंख्या हुने सहरमध्ये काठमाडौंपछि पोखरा हो ।

पोखरामा तीव्र सहरीकरण भए पनि नजिकैको बागलुङ बजारमा जनसंख्या घटेको छ । २०६८ को जनगणनामा बागलुङ बजारमा ५७ हजार ८२३ जनसंख्या रहेकोमा २०७८ को गणनामा करिब १७ सय मानिस कम भए ।

गोरखा सदरमुकाम गोरखामा घरधुरी र जनसंख्या दुवै बढेको पाइयो । तनहुँ सदरमुकाम रहेको दमौलीको ब्यास नगरपालिकामा पनि गोरखाकै जस्तो नतिजा छ । स्याङ्जाको वालिङमा भने जनसंख्या घट्दा, घरधुरी बढे । यसो हुनुको प्रमुख कारण आन्तरिक बसाइँसराइ नै हो । विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सुविधा खोज्दै मानिसको आन्तरिक बसाइँसराइ अत्यधिक बढेको अनुसन्धानकर्ता महेन्द्र सुवेदीको भनाइ छ ।

सहर केन्द्रित बसाइँ रोक्न सर्वप्रथम गाउँबाट मानिस बाहिर नजाने वातावरण तयार गर्नुपर्ने प्राडा कृष्ण केसीको जोड छ । गाउँ छोडिसकेकालाई पनि गाउँमा पुसब्याक माइग्रेसन गरेर फर्काउने काम गर्नुपर्ने उनले बताए । ‘नेतृत्व तह यस विषयमा संवेदनशील हुन जरुरी छ,’ उनी भन्छन् ।
प्रदेशको सार्वजनिक तथ्यांक अनुसार गण्डकीको जनसंख्या २४ लाख ६६ हजार ४२७ रहेको छ । तीमध्ये पुरुषको संख्या ११ लाख ७० हजार ८३३ (४७.४७ प्रतिशत) र महिलाको संख्या १२ लाख ९५ हजार ५९४ (५२.५३ प्रतिशत) रहेको छ ।
जनगणना सन्दर्भ दिन २०७८ मंसिर ९ मा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ थियो । कुल जनसंख्यामा गण्डकी प्रदेशले ८.४६ प्रतिशत जनसंख्या ओगटेको हो । जबकि सबैभन्दा बढी बागमती प्रदेशले २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको जनसंख्या ५.७९ प्रतिशत छ ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले राष्ट्रिय जनगणना २०७८ को मंगलबार पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेकी हुन् । राष्ट्रिय तथ्यांक भने गत १० चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए ।

प्रदेशको सार्वजनिक तथ्यांकअनुसार गण्डकीमा प्रति १ सय जना महिलामा पुरुषको संख्या ९०.३७ छ । अघिल्लो जनगणनामा गण्डकीको जनसंख्या २४ लाख ३ हजार ७५७ तथा लैंगिक अनुपात ८३.०८ थियो । यस्तै, कुल जनसंख्यामध्ये अन्य लिंगीको जनसंख्या २ हजार ९२८ देखिएको छ ।

सबैभन्दा धेरै जनसंख्या हुने सहरमध्ये काठमाडौंपछि पोखरा हो

गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला कास्की हो भने मनाङमा सबैभन्दा कम जनसंख्या छन् । कास्कीमा ६ लाख ५१ जना छन् भने मनाङमा ५ हजार ६५८ जना छन् । कास्की पछि धेरै बसोबास भएको जिल्ला नवलपुर र तनहुँ हुन् । प्रदेशमा सबैभन्दा बढी वार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला कास्की हो । कास्कीमा १.९० प्रतिशत र सबैभन्दा कम मनाङको माइनस १.२९ वृृद्धिदर छ ।

सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला पनि कास्की नै हो । यहाँ २९७ जना प्रति वर्ग किमी र सबैभन्दा कम मनाङमा ३ जना प्रति वर्गकिमी छ । गण्डकीमा कुल जनसंख्याको ६२.८ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका मानिस छन् । हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्या क्रमश: २३.९ र १३.३ प्रतिशत छ ।

नतिजा अनुसार गण्डकीमा ७ लाख ७६ हजार ६८६ घर संरचना छन् । जसमा मुख्यरुपमा आवासको लागि प्रयोग भएका घर ६९.९ प्रतिशत छन् । बाँकी गोठ, धन्सार, मतान, खाली घर, व्यापार, होटल तथा लज, उद्योग, कलकारखाना, सरकारी, स्वास्थ्यजन्य, बैंक तथा वित्तीय संस्था, भान्सा घर लगायत हुन् ।

आवासीय प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६ लाख ६१ हजार ६३२ परिवारमध्ये ८०.५ प्रतिशत परिवारले आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् । १७.६ प्रतिशत परिवारले भाडामा लिइएको आवासीय इकाइमा बसिरहेका छन् ।

गण्डकीमा स्मार्ट मोबाइल फोन हुने परिवारको प्रतिशत ७८.८ छ । कुल परिवारमध्ये ५९.६ प्रशितमा टेलिभिजन छ भने ४७.९ प्रतिशतमा इन्टरनेट सुविधा छ । जनगणनामा सोधिएका परिवारमध्ये ९६.९ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको साधन सुविधा उपलब्ध छ ।

परिवारमा महिलाको नाममा घर र जग्गा दुवै हुने परिवार १४.१ प्रतिशत छ । यो संख्या अघिल्लो गणनाको तुलनामा १.७ प्रतिशत बिन्दुले बढेको हो ।

गण्डकीमा कुल २ लाख ७ हजार ९१० परिवारबाट २ लाख ८६ हजार ५९३ जना परिवारमा अनुपस्थिति रही विदेशमा अक्सर बसोबास गर्दै आएको पाइएको छ । तीमध्ये पुरुष २ लाख ३९ हजार ७८८ (८३.७ प्रतिशत) छ । अघिल्लो गणनामा २ लाख ३१ हजार ७५ परिवारबाट ३ लाख २२ हजार ७६२ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेका थिए । गण्डकीमा ६ लाख ६२ हजार ४८० परिवारमा ४१ प्रतिशत परिवारमुली महिला छन् ।

यसैगरी, गण्डकीमा १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३१ प्रतिशत व्यक्तिहरु अविवाहित छन् । जसमा पुरुष ३७.३ प्रतिशत र महिला २५.५ प्रतिशत छन् । गण्डकीमा सबैभन्दा बढी १८ देखि २० वर्ष उमेर समूहका मानिसले विहे गरिसक्छन् । दोस्रोमा २१ देखि २४ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २४.४ प्रतिशत छन् ।

सबैभन्दा कम परिवार सदस्य हुने प्रदेशमा गण्डकी प्रदेश पर्दछ । यहाँ औषत परिवार सदस्य संख्या ३.७२ छ भने सबैभन्दा बढी मधेशमा ५.२९ जना छन् । नेपालमा कुल जनसंख्याका २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता छ ।

गण्डकीमा कुल जनसंख्याको २.९ प्रतिशतमा यस्तो समस्या छ । गण्डकीमा १० वर्ष वा सोभन्दा बढी उमेरका २० लाख ९५ हजार ४७४ जना व्यक्तिहरुमध्ये ६५.७ प्रतिशत आर्थिकरुपले सक्रिय छन् ।

सामाजिक विकास मन्त्री सिंखडाले मुलुकको नीति निर्माणमा जनगणनाको महत्व रहेको प्रकाश पारिन् । उनले गण्डकीबाट विदेश पलायन भएको जनशक्ति फर्काउन प्रदेश सरकारले आवश्यक नीति निर्माण बनाउने बताइन् । उनले जनगणनाको मद्दतमा विभिन्न योजना तर्जुमा गर्ने जनाइन् ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बद्रीनाथ अधिकारी, जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने, तथ्यांक कार्यालय पोखराका प्रमुख तथा निर्देशक जग्गुलाल बस्याल, तथ्यांक अधिकृत जीवनाथ आचार्य, कम्प्युटर अफिसर डोलनारायण श्रेष्ठ लगायतले जनगणनाको महत्वबारे प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width