नेपालमा मात्रै नभएर विश्वको अर्थराजनीतिमा क्षमतावान् अर्थशास्त्रीका रूपमा विश्लेषण गरिएका डा. स्वर्णिम वाग्लेले गत बिहीबार नेपाली कांग्रेससँगको आफ्नो दलीय आबद्धता परित्याग गरेको घोषणा गरे । वाग्लेकै भनाइअनुसार नेपाली कांग्रेससँग उनको तीनपुस्ते पारिवारिक विरासत गाँसिएको थियो । धेरैलाई चकित पार्दै बिहीबार उनले गरेको आकस्मिक निर्णयबाट कांग्रेससँग गाँसिएको विरासतको पोयो पनि विधिवत् रूपमा चुँडिएको छ । पछिल्लो समय पार्टीलाई अकर्मण्य बनाउँदै कांग्रेसभित्र एकछत्र राज गरिरहेको सभापति निकटस्थ समूहको हेपाहा प्रवृत्तिका कारण आफू उक्त दलमा रहन नसक्ने आशयसहितको उद्घोष वाग्लेको त्यागपत्रमा उल्लिखित छ । उनले देउवापत्नी आरजू र पार्टी सभापतिलाई घेराबन्दीमा राख्ने केही कांग्रेसी नेताहरूले आफूप्रति पाल्ने दुराग्रह र अनुदारवादी सोचका कारण पार्टीभित्र सम्भावना नदेखेर बाहिरिएको स्पष्ट संकेत गरेका छन् ।
बूढानीलकण्ठबाट विद्यालयीय शिक्षा पूरा गरेका स्वर्णिमले प्रवेशिकापछि तय गरेका शैक्षिक यात्रा र पेसागत सफलताको मूल्यांकन गर्दा उनी असाधारण सामथ्र्य भएका व्यक्तित्व हुन् । प्रवेशिकामा बोर्ड द्वितीय भएका स्वर्णिमले परीक्षामा सर्वाेत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूले अनिवार्य रूपमा विज्ञान विषय नै पढ्नुपर्ने तत्कालीन आमअपेक्षा र मनोवृत्तिलाई चुनौती दिँदै अर्थशास्त्र रोजे । जीवनमा आफूले रोजेको पथ र गर्न खोजेको पौरख पृथक् छ है भन्ने संकेत उनले आजभन्दा तेत्तिस वर्षअगावै गरिसकेका थिए । बूढानीलकण्ठ स्कुलको पढाइ सकिएपछि पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका स्वर्णिमले बेलायतको प्रतिष्ठित हावर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र अस्ट्रेलियास्थित अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट विकास अर्थशास्त्रमा विद्यावारिधि हासिल गरे । यसबीचमा अध्ययनसँगै उनको पेसागत आबद्धता पनि निरन्तर जारी रह्यो । संयुक्त राज्य अमेरिकाका विभिन्न नियोगमा जागिरे, परामर्शदाता तथा विश्वबैंकको वरिष्ठ अर्थशास्त्रीका रूपमा रहेर पनि आफ्नो अब्बल हैसियतको पेसागत जीवनरेखा कोर्न तल्लीन भइरहे उनी ।
नेपाली कांग्रेसकै वरिष्ठ नेताहरूको आग्रहमा विश्वबैंकको आकर्षक सेवासुविधासहितको लोभलाग्दो जागिर छाडेर डा. स्वर्णिम सन् २०१४ मा नेपाल आए । २०७१ सालमा सुशील कोइराला नेतृत्वको सरकारले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गर्यो । आयोगमा उनले दुईपटकसम्म सदस्यको भूमिकामा रहेर काम गर्ने आवसर पाए । २०७२ सालमा गएको विनाशकारी भूकम्पले देशमा पुर्याएको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय दातृनिकायहरूको सम्मेलन सम्पन्न गर्न उनको महत्वपूर्ण भूमिका रह्यो । २०७४ र २०७९ सालका आमनिर्वाचनमा उनले पार्टीको घोषणापत्र निर्माण समितिको नेतृत्वदायी भूमिकामा रहेर उल्लेखनीय योगदान पुर्याए । पार्टीका अर्थराजनीतिक दृष्टिकोण निर्माण, त्यसका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने बौद्धिक सम्मेलन र विमर्शहरूमा प्रमुख वक्ता र प्रशिक्षकका रूपमा पनि उनको सशक्त भूमिका रह्यो । अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त अर्थशास्त्री भएका कारण आर्थिक क्षेत्रमा पार्टीको विश्वसनीयता र वैधता स्थापित गर्नमा पनि उनको कम भूमिका रहेन । यहीबीचमा पार्टी नेतृत्वकै सल्लाहअनुसार सन् २०१९ को अन्त्यमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअन्तर्गतको एसिया प्रशान्त क्षेत्रका ३६ राष्ट्र हेर्ने गरी उनी मुख्य आर्थिक सल्लाहकारको जिम्मेवारी वहन गर्न पुगे । उक्त निकायमा काम गर्दागर्दै डेढ वर्षमै प्रायः कमै नेपालीलाई प्राप्त हुने गरिमामय जिम्मेवारी चटक्क छाडेर २०७९ सालको आमनिर्वाचन नजिकिँदा उनी पुनः नेपाल फर्किए ।
सन् २०१४ मा विश्वबैंकको जागिर छाडेर नेपाल भित्रिँदा डा. स्वर्णिम तत्कालीन पार्टी सभापति सुशील कोइराला निकट थिए । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेपछि उनी कुनै समय देउवानिकट पनि भए । देउवा गुटमा आरजू र प्रकाशशरण महत हाबी हुन थालेपछि देउवासँग उनको दूरी टाढिँदै गयो । सायद उमेर विचार, दृष्टिकोण, रणनीति र दीर्घकालीन सम्भावना आदि सबै देखेर होला चौधौं महाधिवेशनको समयमा उनी गगन र विश्वप्रकाशको नजिक भए । डा. शेखर कोइरालाका पनि विश्वासपात्र बनेपछि उनले त्यही क्याम्प सन्निकट रहेर काम गर्न थाले । महाधिवेशनमा शेखर कोइराला पराजित भए पनि महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित भएर आएपछि उनी आफू झनै दरिएको अनुभूति गर्दै थिए । महामन्त्रीमा निर्वाचित भएपछि पार्टीभित्र विश्वप्रकाश र गगनको हस्तक्षेपकारी भूमिका रहने आकलन सर्वत्र गरिएको थियो । तर, पूर्वउद्घोषबमोजिम खरो उत्रिने प्रणलाई व्यवहारमा रूपान्तरण गर्न उनीहरू चुकेको अनुभूति सर्वत्र गरियो । महाधिवेशनपूर्व पार्टी नेतृत्वको कार्यशैलीविरुद्ध ठूलै हुङ्कार गर्ने अरू युवानेताहरूको भूमिका पनि खासै प्रभावकारी देखिएन ।
गत मंसिरमा सम्पन्न आमनिर्वाचनमा गोरखा, चितवन र काठमाडौंमध्ये कुनै एक स्थानमा आफ्नो उम्मेदवारी पक्का रहेको कुरामा डा. स्वर्णिम निश्चिन्त थिए । आफ्नो बौद्धिक विरासत सम्हाल्ने उत्तराधिकारीका रूपमा गोरखामा स्थापित गराउने विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि उनलाई वचन दिएका थिए । काठमाडौं–४ मा उनको उम्मेदवारी सुनिश्चित गर्नका लागि स्वयं गगन थापा पनि सर्लाही–४ तिर ओर्लने तयारी गर्दै थिए । काठमाडौं–५ मा पनि उनको व्यापक चर्चा थियो । अन्यत्र कतै नभए पनि आफ्नो स्थायी बसोबास रहेको चितवन–१ बाट नाम सिफारिस गरी पठाइएकाले त्यस क्षेत्रमा आफ्नो उम्मेदवारी निश्चित रहने उनको ठम्याइ थियो । तर, चितवन–१ मा देउवाको रोजाइमा राष्ट्रिय योजना आयोगका बहालवाला उपाध्यक्ष डा. विश्व पौडेल उम्मेदवार बने । त्यसपछि यी सबै क्षेत्रबाट उनको संसद् प्रवेश गर्ने ढोका बन्द भयो । अन्तः उनको संसद्यात्राको सपनामा तत्कालका लागि पूर्णविराम लाग्यो ।
अर्थराजनीतिक जगत्का विभिन्न आयामबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत बहस र पैरवी गर्न सक्ने क्षमता भएका प्रभावशाली युवा अर्थशास्त्री हुन् डा. स्वर्णिम । वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय स्तरले समेत भरोसा गर्ने उनीजत्तिको क्षमतावान् र दूरदृष्टि भएको व्यक्ति समकालीन नेपाली अर्थशास्त्रीहरूमा अर्काे भेट्न मुस्किलै पर्छ । तसर्थ डा. स्वर्णिमलाई कांग्रेसभित्र उच्च सम्भावना भएका भावी अर्थमन्त्रीका रूपमा समेत हेरिएको थियो । आफूले विदेशमा हासिल गरेको विषयविज्ञताको उपयोग गरी देशमै केही गरूँ भन्ने सोचका साथ प्रतिष्ठित वैदेशिक संस्थाका आकर्षक सेवा, सुविधा र अवसर लत्याएर उनी नेपाल आएका थिए । वास्तवमा नेपालको राजनीतिमा लागेर सांसद र मन्त्रीका रूपमा १० वर्षमा हुने आम्दानी सम्भवतः उनले विदेशको जागिरबाट एकै वर्षमा आर्जन गर्न सक्दा हुन् । नेपाल विकासको गतिमा भर्खरै मात्र बामे सर्दै गरेको राष्ट्र भएको र डा. वाग्लेले पनि विकास अर्थशास्त्रमै विद्यावारिधि गरेका कारण देशको अर्थतन्त्रले उनको सुझबुझयुक्त हस्तक्षेपकारी भूमिका अपेक्षा गर्नु स्वाभाविक हो । पार्टी संगठनमा खासै ठूलो भूमिका नरहे पनि देशको अर्थतन्त्रलाई सुदृढ पार्दै पलायनमुखी सोचमा हुर्कंदै आइरहेको वर्तमान युवापुस्तालाई स्वदेशमै केही हुन्छ भन्ने आशा सञ्चार गर्न पार्टीका तर्फबाट उनको कुनै न कुनै कार्यकारी भूमिका अपेक्षित देखिन्थ्यो ।
अलि महत्वाकांक्षी र खरो स्वभाव भएका स्वर्णिम रविको कार्यकर्ताका रूपमा कति समय टिक्लान् ? समयले नै बताउला
यद्यपि पार्टी सभापति देउवा नै उनीप्रति अनुदार भएको विश्लेषण गरिन्छ । तर, देउवा नेतृत्वकै सरकारका पालामा उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा मनोनीत भएबाट यो विश्लेषण गलत सावित हुन्छ । क्षमतावान् अर्थशास्त्री हुँदाहुँदै पनि पछिल्लो समय मुखैमा आएका धेरै अवसरहरूबाट उनलाई बञ्चित गर्नमा देउवापत्नी आरजूको भूमिका सर्वाेपरि रहेको कुरामा कुनै शंका छैन । वैदेशिक सहायतामा नेपालमा सञ्चालित धेरै गैरसरकारी संस्थासँग आरजूको प्रत्यक्ष/परोक्ष संलग्नता जोडिएको र डा. स्वर्णिम पनि त्यस्ता संस्थासँग राम्रैसँग परिचित भएकाले उनका लागि सकेसम्म अवसरका ढोकाहरू बन्द गराउन उनी स्वयं सक्रिय रहनु अस्वाभाविक होओइन ।
त्यसमा देउवाका किचन क्याबिनेटका प्रमुख हर्ताकर्ताका रूपमा रहेका नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतको चुक्ली–चातुर्यले पनि उनलाई अवसरका पदहरूमा ढिम्किनै नदिएको यथार्थ पनि यहाँ लुकाइरहन जरुरी छैन । विशेषतः डा. वाग्ले र महतको विषयक्षेत्र एउटै हो । दुवै अर्थशास्त्रका विषयविज्ञ भएका कारण स्वर्णिमलाई स्थान दिँदा आफू छायामा परिने महतको भयव्याप्त मानसिकताका कारण देउवादम्पतीलाई उनले आफूअनुकूल रिँगाइरहेका छन् भन्ने कुराको सामान्य गणित बुझ्न त्यति कठिन छैन ।
यद्यपि नेपाली कांग्रेसमा अवसर नै नपाएका डा. स्वर्णिमजस्ता थुप्रै नेताहरू छन् । मुलुकको सर्वाधिक ज्येष्ठ राजनीतिक दल भएका कारण कांग्रेसभित्र संघर्षको रापतापले खारिएका नेताहरूको संख्या अधिक हुनु स्वाभाविक हो । निर्वाचनमा टिकट नदिइएकै आक्रोशमा उनले पार्टी छाड्नु हुँदैनथ्यो भन्ने कुरा पनि बाहिर आए । अवसरबाट सधैं बञ्चित भएका सयौँ नेताहरूलाई हेरेर पनि उनले चित्त बुझाउनुपर्ने हो भन्ने तर्क पनि सुनिए । तर, देशको दीर्घकालीन भविष्यका दृष्टिबाट सूक्ष्म पर्यवेक्षण गर्दा पार्टीमा लागेर संघर्ष गरेका अरू सामान्य नेताहरूले अवसर पाउनु र उनले अवसर पाउनुमा तात्विक अन्तर छ । अवसर पाएका खण्डमा उनी आफ्नो विषयविज्ञतामार्फत देशको भविष्यमा दूरगामी असर पार्ने हस्तक्षेपकारी भूमिकामा तुरुन्त उत्रन सक्छन् । तर, अरू नेता त्यसरी जिम्मेवारीमा पुग्नु योगदान, संघर्ष, त्याग र समर्पणको सम्बोधनका नाममा सामान्य परम्परा निर्वाह हुनुबाहेक मुलुकले खासै कुनै लाभाकारी गुरुयोजना प्राप्त गर्न सक्दैन ।
गत मङ्सिरको आमनिर्वाचनमा कांग्रेसले टिकट नदिएपछि डा. स्वर्णिमलाई अन्य दलहरूले सम्मानजनक अवसर दिने उद्घोषसहित तानातान गरिरहेका थिए । पार्टीभित्र यथोचित भूमिका नदिँदा उनले जुनसुकै बेला पनि बहिर्गमनको दिशा रोज्न सक्छन् भन्ने कुरा कांग्रेसले समयमै बुझ्न सकेन । पछिल्लो समय नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको तनहुँ –१ को उपनिर्वाचनमा पार्टीले आफूलाई उम्मेदवार बनाउला भन्ने उनको अपेक्षा हुँदो हो । तर, उक्त क्षेत्रमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई टिकट दिइएपछि उनले झनै अपमानित महसुस गरे । अन्ततः लामो समयसम्मको धैर्यले आफ्नो क्षमतामै क्षयीकरण हुने ठहर गरी उनी आफ्नो राजनीतिक जीवनको सम्मानजनक हैसियत निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए । पार्टी प्रवेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सुशासन र आर्थिक समृद्धिका बारेमा उनले हिजोमात्रै आफ्ना प्रमुख चुनावी एजेन्डाबारे पनि चर्चा गरे । आफूलाई सार्वजनिक रूपमा स्थापित गराउने सञ्चारमाध्यमकै विरुद्धमा विषवमन गर्ने वर्षाकालीन खहरेको स्वभाव भएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिँदै तनहुँ–१ बाट उनी उपनिर्वाचनमा उठेका छन् । आफैंमा अलि महŒवाकांक्षी र खरो स्वभाव भएका स्वर्णिम रविको कार्यकर्ताका रूपमा कति समय टिक्न सक्छन्, त्यो त समयले नै बताउला ।
डा. स्वर्णिम वाग्लेले तनहुँबाट उपनिर्वाचन जित्लान्–नजित्लान् त्यो तपसिलको विषय हो । तर, म पार्टीको सिपाही भएर देशले नै गौरवबोध गर्न लायक काम गरेर देखाउँछु भन्ने संकल्प बोकेका क्षमतावान् र उच्च सम्भावनायुक्त युवानेतालाई अवसर नै नदिनु कांग्रेसका लागि दुर्भाग्यपूर्ण छ । देशलाई समयानुकूल रूपान्तरणको दिशामा अग्रसर गराउन प्रतिबद्ध युवाजमातलाई किनारा लगाएर खालि बूढाखाडाले मात्रै हाँक्न खोजेको कांग्रेस प्रतिस्पर्धीहरूसँगको दौडमा सधैं हारिरहनेछ । जबसम्म व्यक्तिगत स्वार्थसिद्धिका लागि राजनीतिमा आसन जमाएर बसेका नेताहरूले पार्टी नेतृत्वलाई गलत सुझाव दिएर घेराबन्दीमा राखिरहन्छन् तबसम्म डा. स्वर्णिम वाग्लेजस्ता पात्रहरूले विद्रोह गरी बहिर्गमनको दिशा रोजिरहन्छन् । वास्तवमा नेपाली कांग्रेसले युवापुस्ताको एकजना चर्चित अर्थशास्त्रीलाई आफ्नो अभियानको भरोसायोग्य सारथिका रूपमा पाएको थियो । ‘माल पाएर चाल नपाउनु’ भनेझैं यो गौरवपूर्ण प्राप्तिलाई कांग्रेसले सुरक्षित राख्न सकेन ।
आखिर डा. स्वर्णिमले पार्टी छाड्नुको अन्तर्य जे भए पनि कांग्रेसप्रति गहिरो आस्था राख्ने वाग्ले र उनीजस्ता अन्य विषयविज्ञको बहिर्गमनले कांग्रेसलाई क्रमशः क्षयीकरणतर्फ उन्मुख गर्ने निश्चित छ ।
नवप्रवर्तनकारी सोच भएका युवापुस्तालाई कार्यकारी प्राधिकारसहित पार्टी सञ्चालनको मूल प्रवाहीकरणमा सम्मिलित नगराएसम्म कांग्रेसको हविगत दिनानुदिन ओरालो लागेको मृगको झैं भइरहने छ ।
परम्परावादी ढर्रा नतोड्ने अनि नारामा मात्र गतिशीलता खोजेर कहाँ पाइन्छ ? कांग्रेसरूपी पुरानो घरमा एउटा बूढी मर्नुले खासै ठूलो अर्थ नराख्ला । तर, घरभित्र काल पल्केर क्रमशः अरू पनि सकिँदै जाने अवस्था रह्यो भने त्यसले सिर्जना गर्ने दूरगामी असर साँच्चिकै भयावह हुनेछ । मूलतः कांग्रेस नेतृत्वले आफ्नो विवेक र कार्यशैली तुरुन्त परिवर्तन गरी यसप्रति समयमै गम्भीर र चिन्तनशील हुनु आवश्यक देखिन्छ ।
Related News
सम्बन्धित समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०