पोखरा । संवैधानिक व्यवस्था अनुसार गण्डकी प्रदेशमा लोक सेवा आयोग गठन भएको २ वर्ष पूरा भएको छ । यो अवधिमा आयोगले चौथोदेखि ११ औं तहसम्मका १ हजार ३ सय ८१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ । संघीय सरकारले तय गरेको प्रावधान अनुसार प्रदेशलाई हस्तान्तरण भएका तर रिक्त रहेका पदमा मात्रै प्रदेश लोक सेवा आयोगले सिफारिस गरेको छ । प्रदेशले सिर्जना गरेका पदमा उसले विज्ञापन खुलाएकै छैन । सिफारिस भएका सबै कर्मचारीको दायित्व संघ सरकारले नै बेहोर्नुपर्छ । विडम्बना यसरी सिफारिस भएका कर्मचारीको निजामती किताबखानाले सिटरोल नै दर्ता गरिदिएको छैन । अर्थात् निजामती सेवाकै जागिरका लागि सिफारिस भएका ती कर्मचारीको रेकर्ड निजामती किताबखानामा भेटिँदैन ।
स्थानीय तह र प्रदेशले रिक्त भनेर पठाएका पदमा प्रदेश लोकसेवा आयोगले विज्ञापन खुलाउँछ, प्रक्रिया पूरा गरेर सिफारिस गर्न नभ्याउँदै संघबाट त्यही पदमा कर्मचारी सरुवा भएर आउँछ । लोकसेवाबाट सिफारिस भएको उम्मेदवारलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या खडा हुन्छ ।
ढिलै भए पनि गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय तहको सेवा सञ्चालन सम्बन्धी ऐन ल्याएको छ । ऐनका अधिकांश दफामा तोकिए वमोजिम हुने उल्लेख गरिएको छ । तर प्रदेश सरकारले नियमावली बनाएको छैन । जसका कारण प्रदेश लोकसेवा आयोगको वार्षिक क्यालेन्डर प्रभावित भएको छ । ‘तोकिए वमोजिमका प्रावधान समेटी नियमावलीबाट शैक्षिक योग्यता, बढुवाको संयन्त्र तथा प्रक्रिया लगायतका प्रावधान तय नगरिदिँदा आयोगको वार्षिक कार्यतालिका प्रभावित भएको छ,’ प्रदेश लोक सेवा आयोग अध्यक्ष विष्णुप्रसाद नेपाल भन्छन् । यसका कारण एकातिर प्रदेश र स्थानीय तहमा जनशक्तिको अभावले कार्यसम्पादनमा प्रभाव परेको छ भने अर्कोतिर आयोग कामविहीन भएको उनको भनाइ छ ।
प्रदेश लोक सेवा आयोगले २ वर्षको अवधिमा चौथोदेखि ११ औं तहसम्मका १३ सय ८१ कर्मचारी सिफारिस गरेको छ ।
प्रदेश लोक सेवा आयोगले झेन्दै आएका यी र यस्तै समस्याका बारेमा शनिबार पोखरामा आवाज उठाइएको छ । आयोगको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका सहभागी वक्ताले यी र यस्तै व्यवधानका कारण संघीयता कार्यान्वयनमा चुनौती थपिएको भनाइ राखे ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले माथिबाट कार्यान्वयन गरिएको संघीयता भएकाले अधिकार हस्तान्तरणमा समस्या उब्जेको बताए । उनले भने, ‘संघबाट प्रदेश र स्थानीय तहलाई धेरै अधिकार हस्तान्तरण गर्न बाँकी छ, व्यवस्था परिवर्तन भए पनि प्रवृत्ति फेरिएन, राजनीतिक नेतृत्व र कर्मचारी तन्त्र जसले पनि अधिकार आफैसँग राख्न खोज्ने अनि हस्तान्तरण नगर्दा संघीयतामाथि धोका भएको छ ।’ कर्मचारी तन्त्र जनमुखी हुन नसकेको उनको भनाइ थियो ।
मुख्यमन्त्री खगराज अधिकारीले संघको लोकसेवा आयोगको जस्तै विश्वसनीयता कायम राख्दै अगाडि बढ्न आग्रह गरे । सरकारले ल्याउनुपर्ने निजामती सेवा नियमावलीको तयारीमा आफूहरु जुटिरहेको उनले बताए । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले लोक सेवा आयोगको विश्वसनीयतामा माथि शंका गर्न ठाउँ नरहेको भन्दै परीक्षा प्रणालीमा भने सुधार जरुरी रहेको बताए । वैकल्पिकका उत्तीर्ण भएकालाई अस्थायी नियुक्ति दिइने प्रावधान रहेकामा छ महिनाभित्र सोही पदमा रिक्त भएमा वैकल्पिकलाई नियुक्त गर्न उनले सुझाव दिए ।
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले छोटो अवधिमा प्रदेश लोक सेवा आयोगले उदाहरणीय काम गरेको भन्दै आयोगलाई आवश्यक जनशक्ति र पूर्वाधारका बारेमा सरकारले बेलैमा सोच्नुपर्ने बताए ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले आयोगको विश्वसनीयतामाथि प्रश्न नउठ्ने गरी काम गर्न आग्रह गरे । उनले भने, ‘हामी राजनीतिककर्मीलाई पनि सजिलो भएको छ, लोक सेवा आयोगले निश्पक्ष काम गर्न भनेपछि हामीलाई भनिदेऊ न भनेर आउने कमै हुन्छन्, आयोगको विश्वसनीयताकै कारण यसो भएको हो ।’ अधिकार र स्रोत हस्तान्तरण अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ थियो । प्रहरी ऐन बने पनि कार्यान्वयन नभएको, निजामती कर्मचारी ऐन संघबाटै जारी नभएका कारण प्रदेशले समस्या खेपेको पाण्डेले बताए ।
कार्यक्रममा लोक सेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्य, गण्डकी विश्वविद्यालयका कुलपति एवं लोक सेवा आयोगका पूर्व सदस्य प्राडा गणेशमान गुरुङ, प्रमुख सचिव रवीलाल पन्थले लोक सेवा आयोगको काम र विश्वसनीयताका बारेमा भनाइ राखे ।
आयोगका सदस्य कल्पना लम्सालले अनलाइनबाटै दरखास्त दिने, भौचर जम्मा गर्न सकिने र प्रवेशपत्र समेत लिन सकिने व्यवस्था गरिएको जानकारी गराइन् । आयोगले विज्ञापन गरेका पदहरुमा ७७ जिल्लाका १ लाख १७ हजार ६ सय ५१ जनाले आवेदन दिएकामा तीमध्ये ४५ प्रतिशत महिला रहेकोको उनले बताइन् । सिफारिस हुनेमा पनि ४३ प्रतिशत महिला रहेको र अहिले सार्वजनिक क्षेत्रमा महिलाको उपस्थिति उल्लेख्य देखिन थालेको उनको भनाइ थियो । आयोगका सदस्य योगेन्द्र गौचनले विविध चुनौतीबीच आयोगले अन्य प्रदेशमा भन्दा उत्कृष्ट काम गरेका दाबी गरे ।
आयोगले प्रकाशन गरेको वार्षिक स्मारिका प्रदेश प्रमुख गुरुङले उक्त अवसरमा विमोचन गरेका छन् । आयोगमा कार्यरत कर्मचारीमध्ये कम्प्युटर अधिकृत लक्ष्मीप्रसाद पोखरेललाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०