दौंतरी कवितामा तीर्थ र सरु: भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ?

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७९
sarubhakta n tirtha

पोखरा । सरुभक्तभन्दा ४ वर्ष कान्छा छन् तीर्थ श्रेष्ठ । सरुभक्तका सबै साथीलाई तीर्थले दाइ र दिदीले सम्बोधन गर्छन् । उसो त तीर्थका सबै साथीले सरुभक्तलाई दाइ नै भन्छन् । अपवाद् ! सरुभक्त र तीर्थ जहिलेदेखि आपसमा परिचित भए त्यतिबेलैदेखि साथी बने । सरुभक्त भन्छन्, ‘वास्तवमा तीर्थ मेरो भाइ हो, साथी होइन ।’ तर उनीहरुको सम्बन्ध साथीभन्दा पनि निकै गाढा छ ।

सरुभक्त विसं २०१२ मा बागबजारमा जन्मिए । नजिकै धोबीगौंडामा २०१६ सालमा जन्मिए तीर्थ । दुवैको परिवारबीच चिनाजानी र आउजाउ पनि नभएको होइन । एउटै टोलमा भएर पनि सरुभक्त र तीर्थ गुच्चा खेल्ने गरी, सँगै कालीखोलामा नुहाउन जाने गरी भेटै भएनन् । वयष्क अवस्थामा पृथ्वीनारायण क्याम्पस पढ्दा उनीहरुको चिनाजानी भयो । त्यो पनि नाटक मञ्चनको सिलसिलामा । यी र यस्तै प्रसँग सरुभक्त र तीर्थले सुनाइरहँदा शनिबार समय ढल्केको पत्तै भएन । यो चाँजोपाँजो मिलाएको थियो नेपाली लेखक संघ, गण्डकी प्रदेश । कार्यक्रमको नाम दिइएको थियो, ‘दौतरी कविता वाचन’ । खानपिन र हिँडडुलमा चाख राख्ने तीर्थ अनि अलि एकान्तमा रमाउने, कमैसँग घुलमिल हुने सरुभक्तको स्वभावको आँकडा मिल्दैन । तर मित्रतामा खोट लगाउने ठाउँ नै पाइदैन । कार्यक्रमकै सिलसिलमा सरुभक्त भन्दै थिए, ‘तीर्थ आलु हो, जेमा पनि मिसिन सक्छ, म पिँडालु हुँ, कोक्याउने खालको छु ।’

नेपाली लेखक संघ, गण्डकीका महासचिव सञ्जीव पौडेलले दौंतरी कार्यक्रम र यसको अवधारणाबारे प्रस्ट्याए । अनि उनले मञ्चमा बोलाए दौंतरी अर्थात् सरूभक्त र तीर्थ श्रेष्ठलाई । संघ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले तीर्थ श्रेष्ठकृत ‘हिउँमा लेखिएका नामहरू’ कविता सुनाएर कार्यक्रको दैलो उघारे ।

त्यही कविताको रचनागर्भ सुनाउँदै तीर्थ श्रेष्ठले कार्यक्रमलाई अगाडि डो¥याए । लगत्तै सरुभक्तसँग पञ्चासेयात्राको प्रसंग जोड्न अनुरोध गरे अधिकारीले । उक्त कवितालाई २ साहित्यकारको मित्रताको मानककारुपमा प्रस्तुत गरेपछि उनीहरूको बाल्यकालीन घटना जोडे ।

केही कविता सुनाएपछि ईश्वरमणिले तीर्थ श्रेष्ठलाई सोधे, ‘भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ? भन्न मिल्ने जति भनिदिनुहुन्छ कि !’ उपस्थित सबैले सरुभक्त कसरी सरूभक्त भए भन्नेबारे आज जान्न पाइने भइयो भनेर उत्सुकतापूर्वक ध्यान दिएर सुनिरहेका थिए । तर कवि श्रेष्ठले बडो चलाखीपूर्ण जवाफ दिए – ‘फलाम उत्खनन गर्ने खानीमा वरिपरि तारबार गरिएको हुन्छ, जोकोहीलाई प्रवेश दिइँदैन ।’ आफ्नो साथीको त्यति गोप्य कुराको पोको जहाँ पायो त्यहीँ, सबैका अगाडि सार्वजनिक नगर्ने भन्दै मित्रताभित्रको गोपनीयताको उच्चतम नमुना प्रस्तुत गरे । साथीले आफ्नो विगत नबताएकोमा गर्वको हाँसो हाँसे कवि सरुभक्त । विविध सन्दर्भमा ठट्यौली पारामा प्रस्तुत भएका २ कविलाई सुन्दा सहभागीले आनन्दानुभूति गरिरहेका थिए । कार्यक्रममा २ कविका करिब दर्जन कविता प्रस्तुत भए ।

पालैपालो दुवै कविका कविता प्रस्तुत गरिएको सो कार्यक्रममा लेखन, नाट्यकर्म र अन्य साहित्यिक गतिविधिमा संलग्नताका विविध आयामका बारेमा छलफल गर्दै दौंतरी संवाद अगाडि बढाइएको थियो । कविताकै क्रममा दुवै साहित्यकारहरूले साहित्यलेखनका माध्यमबाट प्रज्ञा प्रतिष्ठानको नेतृत्वसम्मका बारेमा आ–आफ्ना अनुभव पस्के ।
केही व्यक्तिगत, केही साहित्यिक, केही संस्थागत र प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहँदासम्मका विविध आयामका भित्री अन्तरकुन्तर प्रस्तुत गर्दै कार्यक्रमको मैझारो गरिएको थियो । अन्त्यमा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले मायाको चिनो दिएर दौंतरी कविहरुलाई सम्मान गरे ।

कार्यक्रममा दौंतरी कार्यक्रमको दोस्रो शृंखलाका रूपमा ‘दौंतरी (मुक्तक)’ कार्यक्रम गर्ने निर्णय सुनाइएको थियो । आगामी शृंखलामा दौंतरीका रूपमा साहित्यकार दीपक समीप र जीवनसागर भण्डारीलाई उभ्याउने घोषणा गरियो । संघ गण्डकी प्रदेशका अध्यक्ष ईश्वरमणिले वर्षमा कम्तीमा २ वटा कार्यक्रम गरिने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width