देशकै बढी विद्यार्थी मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा विवादले रोकियो उम्मेदवारी दर्ता

धनबहादुर गुरुङ
फागुन २८, २०७९
Free Student News 27 Photo 3

पोखरा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आंगिक क्याम्पसतर्फ करिब १ लाख ६३ हजार ८२ विद्यार्थी मतदाता छन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा आंगिक क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुने विद्यार्थी संख्या प्राप्त भएको छ ।

जसअनुसार सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पिएन) बहुमुखी क्याम्पसमा छन् । पिएन क्याम्पसमा १० हजार ८ सय ७० विद्यार्थी स्ववियु निर्वाचनमा सहभागी हुने जनाइएको छ । तर, देशकै बढी विद्यार्थी मतदाता रहेको पिएनसीमा विद्यार्थी संगठनको विवादका कारण निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता नै भएको छैन ।

शनिबार बिहान ११ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता समय तोकिए पनि उम्मेदवारी दर्ता नभएको स्ववियु निर्वाचन समिति सदस्यसचिव बोधराज ढकालले बताए । विद्यार्थीको विरोधले बिहीबारदेखि लागेको ताला शनिबारसम्म नखुलेपछि उम्मेदवार दर्ता अनिश्चित बनेको हो ।

तालाबन्दी गरेका ४ विद्यार्थी समूहमध्ये अखिल क्रान्तिकारीले शनिबार निर्वाचन प्रक्रिया अघि बढाउने र आफ्नो मागका आधारमा छानबिन पनि गर्दै जाने भन्दै ताला खोलेको थियो । तर, बाँकी ३ समूहले माग पूरा नहुँदासम्म ताला नखोल्ने भन्दै पुनः ताला लगाएपछि प्रक्रिया प्रभावित भएको थियो । विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियार र अखिल छैटौंका विवेक अधिकारीले विज्ञप्ति जारी गर्दै व्यक्तिगत विवरण उपलब्ध गराउने पक्षलाई कारबाही गर्नुपर्ने, त्रिविमार्फत तलबभत्ता खाने शिक्षक, प्राध्यापक र कर्मचारीले भोट हाल्न नपाउने र संगठन दर्ताका दिन दर्ता भएका विद्यार्थी संगठनको नाम जस्ताको तस्तै प्रकाशित गर्नुपर्ने माग गरेका छन् ।

शनिबार वार्ता गरेर प्रयास गर्दा पनि प्रक्रिया अघि बढाउन नसकिएको सदस्यसचिव ढकालले बताए । ‘उनीहरुको माग सम्बोधन गर्न छानबिन समिति बनाउने सहमति भएको थियो,’ उनले भने, ‘तर समिति केन्द्रीय तहबाटै छानबिन समिति हुनुपर्छ भन्ने उहाँहरुको आवाज छ ।’ आफूहरु निर्वाचन गराउन प्रतिबद्ध रहँदारहँदै विवादका कारण अहिलेसम्म उम्मेदवारी दर्ता नभएको उनले जानकारी दिए । ‘हाम्रो माइन्युटदेखि सबै कागजपत्र भित्रै छन् । कसरी काम अघि बढाउने?’ उनले भने ।

यता, विद्यार्थी समूहले भने क्याम्पस प्रशासन कडा प्रतिक्रिया जनाउन नसक्दा स्ववियु निर्वाचन नहुने अवस्थामा पुगेको जनाएका छन् । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस कमिटी सभापति गौरव बरालले प्रशासनले टारिरहेको बताए । ‘नेविसंघ चुनाव हुनैपर्छ भनेर अडान लिएर बसेको संगठन हो तर यहाँ ताला लगाउने कार्य भएको छ,’ उनले भने, ‘प्रशासनले टारिरहेको छ । अनि समयमा वार्तामा पनि नआउने गरेको छ ।’

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले तालाबन्दीका सम्बन्धमा अनुसन्धान प्रक्रियासँगै निर्वाचन प्रक्रिया पनि अघि बढ्नुपर्ने माग रहेको बताए । ‘खासमा निर्देशिकामा ताला लगाउनै नपाइने भन्ने छ तर आचारसंहिता विपरीत ताला लगाइएको छ,’ उनले भने, ‘यस्तोमा प्रहरी प्रशासन लगाएरै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ भन्ने थियो । तर, प्रशासन पछि डरायो ।’ अन्य संगठनले क्याम्पस परिसरमा प्रहरी ल्याउने विषय मान्दैनांै भनेपछि प्रशासनले खुट्टा कमाएको उनले आरोप लगाए ।

झण्डै ११ हजार मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा शनिबार मनोनयन हुन पाएन

अनेरास्ववियु क्रान्तिकारीका नेता वसन्त भट्टचनले ताला खोलेर प्रक्रिया अघि बढाउने मार्गप्रशस्त गर्दा पनि क्याम्पस प्रशासन अघि नबढेको बताए । ‘यसमा क्याम्पस प्रशासनले निर्वाचन नचाहेको जस्तो देखियो,’ उनले भने, ‘निर्वाचन समिति पनि जिम्मेवारी कसले लिने भनेर प्रस्तुत हुनु भयो ।’ आफूहरुले तालाबन्दी गर्ने टोलीसँग छलफल गर्दा सकारात्मक रहेकाले प्रशासनले चाहेमा निर्वाचन हुने उनको तर्क थियो ।

अनेरास्ववियुका नेता सन्तोष न्यौपानेले प्रशासनले चासो नदेखाएको कारण समस्या भएको बताए । तर, छलफलबाट समस्या समाधान गरी निर्वाचन हुने उनको धारणा छ । ‘भोलि बिहान ८ बजे बैठक हुन्छ । त्यसले बाधा अड्चन फुकाउ गर्छ । निर्वाचन भाँडिएको छैन,’ उनले भने ।

स्ववियु निर्वाचन हुने क्याम्पसहरु वन विज्ञान, क्याम्पस र जनप्रिय क्याम्पसमा पनि विवादका कारण उम्मेदवार दर्ता भएनन् । वन विज्ञान अध्ययन संस्थानमा नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थी मतदाता नामावली विवादका कारण ताला लगाइएको नेविसंघ कास्कीका उपसभापति असीम सुवेदीले जानकारी दिए । यस्तै जनप्रिय क्याम्पसमा पनि सोही विवाद रहेको उनले बताए ।

विन्ध्यवासिनी संस्कृत विद्यापीठमा भने आइतबार मात्र मनोनयन दर्ता हुनेछ । जहाँ नेविसंघ र अनेरास्ववियुले मात्र संगठन दर्ता गरेका छन् ।

इन्जिनियरिङ र नर्सिङ क्याम्पसमा मनोनयन

निर्वाचन कार्यतालिका अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । जसअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानमा अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले संगठन दर्ता गरेका थिए । यहाँ अनेरास्ववियु र अनेरास्ववियुले गठबन्धन गरेका छ । यहाँ अनेरास्ववियुका विवेक न्यौपाने सभापतिका उम्मेदवार बनेका छन् । अनेरास्ववियले १ सदस्य लिने सहमति भएपछि न्यौपानेलाई साथ दिने भएको हो ।

नेविसंघबाट प्रदीप पनेरु सभापतिका उम्मेदवार बन्दा अखिल क्रान्तिकारीबाट बबि धामी उम्मेदवार छन् ।

पोखरा नर्सिङमा नेविसंघ र अनेरास्ववियुले संगठन दर्ता गरेका थिए । जहाँ नेविसंघबाट अनुस्था चापागाईं र अखिलबाट अन्जना अधिकारीको प्यानल चुनावी मैदानमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width