बुट्टाले चम्किएका चन्द्रमान

धनबहादुर गुरुङ
फागुन ८, २०७९
Wood Carving Photo~suman

पोखरा । वरपर असरल्ल काठका टुक्रा । केही कँुदेर बुट्टा भरिएका, केही आकार दिन तयार । त्यही बीचमा छन्, चन्द्रमान कपाली । नजिकै उनकी श्रीमती बिनी श्रेष्ठ पनि काठकै काममा व्यस्त छिन् । कहिलेकाहीं श्रीमतीले केही बिगारिहाल्छिन् कि ? भनेर सिकाउन पनि पुग्छन् कपाली । उनीहरुको दैनिकी यसरी नै बित्ने गरेको छ ।

यसैगरी कपालीले काठसँग साइनो जोडेको २० वर्षभन्दा बढी भयो । २०६१ सालदेखि पोखरा आएर व्यावसयिक रुपमा लागेका कपाली अहिलेसम्म यही पेसामा छन् । उनले काठको कलाको काम सानैदेखि सिकेका थिए । पुख्र्यौली थलोमा सबैले काठमा बुट्टा भर्ने काम गर्ने गरेको उनले सम्झिए । ‘ललितपुर बुङ्मतीमा धेरै काठको काम गर्छन् । मैले पनि बाबुबाजेले गरेको हेरेरै सिकेको हुँ,’ उनले भने, ‘२०६१ सालमा पोखरा आएँ, त्यसपछि मेरो कमाइखाने माध्यम नै यही बनेको छ ।’

यहाँ आएको केही वर्षपछि कामको काम गर्न मुस्ताङ पुगे । त्यो बेलासम्म पोखराकी बिनीसँग बिहे भएकै थिएन । सदरमुकाम जोमसोममा केही वर्ष काम गरेर फर्केपछि उनी पोखरामा लुनिभा उड कार्भिङ सञ्चालन गरिरहेका हुन् । उनलाई तन्नेरी उमेरमा अरु विदेश जाँदा पनि कहिल्यै विदेशिने सोच आएन । ‘सानैदेखि यही कामले मन तान्यो । हातमा सिप भएपछि आम्दानी पनि राम्रै भयो,’ उनले भने, ‘साथीहरु कोहीकोही विदेश गए । मलाई त कहिल्यै जामजाम नै भएन ।’

जोमसोमबाट फर्केपछि २०६७ सालमा उनले आफ्नै व्यवसाय चलाएका हुन् । त्यसपछि उनलाई काठको कामले जीवन धानेको छ । ‘म यो कामबाट सन्तुष्ट छु । यो कामले सबैथोक दिएको छ,’ उनले भने, ‘यसबाट भएको आम्दानीले खान पुगेको छ । श्रीमती, १ छोरा र १ छोरी पाल्न पुगेको छ ।’ काष्ठकलाको आम्दानीले उनले पोखरामा घर किनिसिकेका छन् ।

उनको काममा श्रीमतीले पनि साथ दिन्छिन् । जसले गर्दा कामदारलाई दिनुपर्ने पैसा जोगिएको कपालीले बताए । छोराछोरीलाई स्कुल पठाएपछि बचेको समय काममा सघाउने उनले बताइन् । ‘बिहान बेलुका खाना बनाउने काम हुन्छ । अनि बच्चालाई स्कुल पु¥याउने र ल्याउने कामपछि यही आएर सहयोग गरिरहेको छु । श्रीमान्ले थालेको कामबाट सन्तुष्ट छु,’ बिनीले भनिन् ।

यो दम्पतीको काष्ठकला गण्डकी प्रदेशका विभिन्न जिल्लासँगै अन्य स्थानमा पनि पुगेको छ । माग आधारमा सबैका लागि सबै स्थानमा काठका सामग्री पु¥याएको उनले सुनाए । उनले बढी मात्रामा झ्यालढोका बनाउने गरेका छन् । ‘मैले बढी मात्रामा झ्यालढोका नै बनाउने गरेको छु,’ चन्द्रमानले भने, ‘मन्दिर, होटल, पुराना सांस्कृतिक सम्पदा बनाउँदा मान्छेहरु आउँछन् अनि पैसा भएकाहरुले कलात्मक झ्यालढोका प्रयोग गर्छन् ।’

उनकोमा झ्यालढोका अलावा कलात्मक काठका मायाको चिनो लगायत सामग्री पाइन्छ । कलात्मक काठको मूल्य १ हजारदेखि ५ लाखसम्म पर्छ । ‘मेरोमा १ हजारको फ्रेमसहित ५ लाखसम्मका सामान छन्,’ उनले भने, ‘झ्यालढोका ७० हजारदेखि ५ लाखभन्दा बढी पर्छ ।’ उनीहरुले यही पेसाबाट सबै खर्च कटाएर मासिक ३५ हजारसम्म बचत गर्ने गरेका छन् ।

पछिल्लो समय काठको कलात्मक काम लोप हुँदै गएकोमा उनी चिन्ता व्यक्त गर्छन् । आधुनिक जमानामा मेसिनबाट बुट्टा भर्ने काम हुने भए पनि हातले बनाएकोजस्तो राम्रो नहुने कपालीको तर्क छ । ‘हातले नै कुँदेर यसरी सामान बनाउने काम बिस्तारै हराउँदै जान थालेको छ,’ उनले भने, ‘मैले त कलात्मक काम गर्छु । यस्तै कामबाट बन्ने ठेका, ठेकी, मदानी, मादलजस्ता काम लोप हुँदै जान लागेको छ । यसलाई बनाउनु जरुरी छ ।’ कलात्मक काष्ठ उद्योगको काम सिक्न खोज्नेलाई आफूले जानेको सिकाउन तयार रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width