क्याप्टेन भुवनसिं गुरुङ बौद्ध अर्घौं सदन पोखराका अध्यक्ष हुन् । समाजसेवा र बुद्ध धर्मको प्रचार तथा विकासमा उनले महत्वपूर्ण योगदान गर्दै आएका छन् । पोखरा–१०, गौतम बुद्ध मार्गमा रहेको उक्त सदन (गुम्बा) मा २०६९ देखि उनी निरन्तर अध्यक्ष रही आएका छन् । तीन कार्यकाल सचिवको रुपमा पनि सेवा गरे । २०२६ सालमा बेलायती गोर्खा सैनिकमा भर्ती भई २३ वर्ष सेवा गरेर २०४९ सालमा निवृत्तपछि उनी निरन्तर समाजसेवामा लागिरहेका छन् । पोखरामा पहिलोपटक तामागी क्याब भनेर मारुती ट्याक्सी उनकै समूहले २०५३ सालमा भित्र्याएको थियो । सोही साल पोखरा फाइनान्स स्थापनामा पनि उनले अग्रणी भूमिका खेले । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक मूलथलो भएका उनी हाल पोखराको गैह्रापाटनमा बस्छन् । निरन्तर काममा खटिने र खरो बोलीका गुरुङसँग आदर्श समाज राष्ट्रिय दैनिकका रुपनारायण ढकालले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ :
गुम्बाअन्तर्गत के–कस्ता गतिविधिहरु संचालन हुँदै आएका छन् ?
गुम्बाले हरेक वर्ष गर्ने वार्षिक कार्यक्रमको सूची हामीले पहिला नै क्यालेण्डररुपमा तय गरी सार्वजनिक गर्ने गरेका छौं । जसअनुसार साउनमा लेखापरीक्षण गर्ने, भदौमा नवीकरण गर्न तयारी गर्ने, असोजमा साधारणसभा र नवीकरणका काम हुन्छन् । असोज वा कात्तिकमा दसैंको समयमा २० वर्षदेखि १०३ ठेलीको कांग्यूर पाठपूजा र संस्थाको वार्षिक साधारणसभा हुने गरेको छ । दसैं चाड बुद्ध धर्मसँग पनि जोडिएको छ । यो बेला धेरै मठमन्दिरमा निर्दोष प्राणीहरुको काटमार र बली दिने कार्य हुन्छ । सम्राट अशोकले सधैं काटमार र लडाइ तथा हत्याहिंसा गर्दा कहिले कसले जित्ने कहिले कस्ले जित्ने हुँदा शान्ति कहिले पनि हुँदैन भनी शान्तिका लागि हातहतियार त्यागी हिंसामाथि अहिंसाको जीत भएको घोषणा दसैंकै दिनमा गरे । त्यसकारण दसैंको दशमी र बुद्ध धर्मको सम्बन्ध देखिन्छ । पछिल्लोक्रममा बली दिनेक्रममा पनि न्युनता आएको पाइन्छ । त्यस्तै मंसिरमा यहाँ ल्होसारको तयारी हुन्छ । पुसमा ल्होसार पर्व मनाउन १ गतेबाट १५ गतेसम्म विविध कार्यक्रम हुन्छन् । यही समयमा लुङ्दा ¥हम्ने गर्ने र टाँस्ने कार्य पनि सम्पन्न हुन्छन् । दोष मेट्न लामाले मन्त्रमार्फत र्हम्ने गरेपछि मात्र लुङ्दा वास्तविक अर्थमा टाँग्न योग्य मानिन्छ । माघ÷फागुन महिनामा १६ दिनको न्यूङनी अर्थात् मौन ब्रतको कार्यक्रम हुन्छ । यसका लागि त गुम्बामा नै बास बस्नुपर्छ । पहिलो दिन पूजापाठ हुन्छ । १२ बजेअघि एक छाक खाने काम हुन्छ । दोस्रो दिन खाना खाने र पानी पिउने काम पनि हुन्न । तेस्रो दिन खाने र चौथो दिन पुनः नखाने यसरी कार्यक्रम अगाडि बढ्छ । यसैगरी चैत महिनामा धार्मिक प्रवचन र बैशाखमा बुद्धिजयन्ती समारोह सम्पन्न हुने गरेको छ । बुद्धजयन्तीका सप्ताहव्यापी कार्यक्रमअन्तर्गत प्राण दानको कार्यक्रम पनि हुन्छ । माछाका भुरा खरिद गरेर लामाले पूजा गरी खानेकुरा समेत दिने कार्य प्राण दानअन्तर्गत हुन्छ । यस्तो कार्य गर्न हामी बेगनास तालमा जाने गरेका छौं । जेठ महिनामा म्हणि धुङ्ग्यूर पूजा हुने गरेको छ । यसमा हरेक बिहान भेला भएर पूजा गरी दिनभरि नै माला जप्ने काम हुन्छ । सबैले गरेको जपको योगफललाई रेकर्डको रुपमा राखिन्छ । असारमा भने बज्रगुरु जप र नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत र पारित गर्ने कार्यक्रम हुने गर्छन् । यसैगरी असार पूर्णिमा अर्थात् धर्मचक्र प्रवर्तन दिवस मनाउने र साङ पूजासमेत गर्ने कार्यक्रम हुने गरेको छ । अन्तिममा गुरु पूर्णिमाको कार्यक्रम आयोजना हुँदै आएको छ ।
बौद्ध अर्घौं सदन स्थापनाको इतिहास र यहाँका पूर्वाधारबारे बताइदिनुस् न ।
२०२९ सालतिर यहाँ सुरुमा केही गतिविधि हुन थाले । त्यो बेला मुख्य संरचना बनेका थिएनन् । सुरुमा के कारणले स्थापित भयो भने पोखरामा त्यो बेलाबस्ती र जनसंख्या कम थियो । डाँडाकाँडामा बस्ने गुरुङहरु बिरामीलाई धामि, झाँक्री र लामामार्फत उपचार गर्दा पनि निको नभएपछि यहाँ आउँथे । निजी अस्पताल थिएनन् । एउटा गण्डकी अस्पताल थियो सरकारी । बिरामी कुर्न एकदुई जना आउँथे । बिरामीको निधन हुँदा शव व्यवस्थापन गर्न गाह्रो हुन थाल्यो । सदगतका लागि दाउरालगायत आफन्त जुटाउन पनि गाह्रो भएपछि सम्मानजनक अन्त्यष्टिका लागि यो गुम्बाले पहल अगाडि बढाएको देखिन्छ । त्यो बेला पोखरामा समाज घर पनि थिएनन् । यो गुम्बा क्षेत्र बयरघारी र पाती घारी रहेछ । मुख्य कुरा बेवारिसेरुपमा घिसारेर शव फाल्न नपरोस् भन्ने हिसाबले गुम्बाले आफ्नो गतिविधि अगाडि बढाएको हो । त्यसपछि जग्गाप्राप्तिको काम अगाडि बढ्न पुग्यो । यहाँ हाम्रो लालपूर्जा भएको जग्गा १५ रोपनी छ । विधिवत रुपमा भवन बनी संस्था दर्ता भएको २०३५ सालमा हो । पछि महाभूकम्पले २०७२ सालमा मुख्य गुम्बामा क्षति पुगेपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणमार्फत केही रकम सहयोग प्राप्त गरी गुम्बा मर्मतसंभार गरिएको हो । यहाँ एक बौद्ध शिक्षा अध्ययन केन्द्र पनि छ । कार्यालयको रुपमा प्रयोग भएको भवनमा माथिल्लो तलामा कार्यालय र तल्लो तलामा शवहरु सदगत गर्नु अघि राखिन्छ । कतिपयले आफन्त बितेपछि शव सिंधै घरमा नलगी सदगत अघि यहाँ राख्न पनि ल्याउँछन् । कतिपयले आफ्नो घर नभएर त कतिले भएर पनि ल्याउँछन् । किचन, डाइनिङ र अर्घौं गर्ने प्रयोजनका लागि अर्को एक भवन पनि यहाँ छ । धार्मिक कार्यहरु पनि यहाँ हुन्छन् । अर्को नयाँ गुम्बा र शवदाहगृह पनि बन्दै छन् । क्याप्टेन बुद्धिबल गुरुङ गुम्बाका संस्थापक अध्यक्ष हुन् । त्यसपछि क्रमशः मेजर पूर्णबहादुर गुरुङ, नासु बिलबहादुर गुरुङ, सिआई प्रेमबहादुर गुरुङ, शंकर गुरुङ, क्याप्टेन उमरध्वज गुरुङ, वीरबहादुर गुरुङ र क्याप्टेन मनबहादुर गुरुङले गुम्बामा अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
विद्युतीय शवदाहगृहले समय कम लाग्ने, व्यवस्थापन सहज, वन जंगल नमासिने, लागत पनि कम लाग्ने र पोलुसन पनि कम हुने भयो
सदन नजिकैको सेती किनारको रामघाट व्यवस्थापनको काम कसरी अगाडि बढ्दै आएको छ ?
यो घाटमा ४ वटा चिताहरु छन् । ४ शव एकैपटक सदगत गर्न सकिन्छ । सेतीको पानीले हरेक वर्ष डुवान पनि हुन्छ, त्यहाँ । ७८ लाख रुपैयाँ खर्च गरेर पहरोलाई डोजरले ताछेर, तल सम्याएर चिता बनायौं । मलामी लगायतका लागि टिनले छाएर टहरोहरु बनाइयो । एक दिनमा यहाँ ७ वटासम्म शव ल्याइएको छ । शव जलाउन केही रकम लिने गरिएको छ । एउटा शव जलाउन ३ क्विन्टल जति दाउरा लाग्छ । हामीले लमजुङको बेंशिसहरबाट दाउरा ल्याउँछौं । ५० देखि ६० लाख रुपैयाँको दाउरा स्टोर गरेर राख्ने गरेका छौं । दाउरा व्यवस्थापन निकै गाह्रो काम रहेछ । दाउराको खरिद गर्दा अन्दाजभरमा भुक्तानी गर्ने गरेका छौं । जोख्न पनि गाह्रो छ । सप्लायरलाई ठूलो पनि होइन सानो पनि होइन, ठिक्कको ल्याउ भन्छम् । तर गाडीमा माथि ठिकैको राख्छन् भित्र र तल ठूलो दाउरा राख्दा पनि समस्या भएको छ । यसको व्यवस्थापनका लागि छुट्टै स्वयंसेवक खटाउने गरेका छौं । हरियो दाउराको तौल पछि निकै घट्दो रहेछ । यहाँ सबै समुदायका मानिसले शव जलाउन ल्याउँछन् । त्यसकारण पनि दाउरा व्यवस्थापन कार्य गाह्रो भएको छ । धर्मले सानो ठूलो र यो जात त्यो जात नभन्ने कारण परोकारी काम भनेर सबैका लागि दाउरा उपलब्ध गराउँदै आएका छौं ।
गुम्बा नजिक विद्युतीय शवदाहगृह निर्माणको कुरा पनि आएको थियो, यो विषय कहाँ पुग्यो ?
शव जलाउन दाउरा व्यवस्थापना गर्न गाह्रो भइरहेको र बीचमा नाकाबन्दीका कारण दाउरा व्यवस्थापन कार्य झनै जटिल भएका कारण विद्युतीय शवदाहगृहको आवश्यकता बढी नै खट्कियो । हुन त यस्तो शवदाहगृहको कुरा पहिला नै उठेको थियो यहाँ । यसका लागि नगर विकासको सिफारिसमा पोखरा नगरले २०५६ असार ६ गते गुम्बा क्षेत्रको सिमासँग जोडिने गरी १० रोपनी जग्गा हामीलाई दिएको हो । बनाउने योजना र उद्देश्य निकै पहिला नै भएको तर कार्यान्वयन नभएको विषय हो यो । पछि आएर संघीय सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन पनि गरियो । त्यसपछि प्रदेशको सहरी विकास मन्त्रालयलाई शवदाहगृह निर्माणको जिम्मा दिइयो । ग्राउण्ड सर्भे, माटो परीक्षण, नक्सा बनाउने र इस्टिमेटको काम सम्पन्न भएपछि टेन्डर आह्वान गरियो । सिनर्जी बिल्डर्सले सबैभन्दा कम १४ करोड १३ लाख ४७ हजार रुपैयाँमा निर्माणको जिम्मा पायो र काम सुरु पनि भयो । पछि भयो के भने त्यहाँ रहेका केही साना बोटहरु काट्न वन कार्यालयमा अनुमति माग्दा अनुमति दिइएन । अनि नगरका मेयर गुहारियो, उहाँले डिएफओलाई कुरा राख्दा पनि अनुमति नभएपछि मेयरकै जिम्मामा रुखहरु एस्काभेटर लगाएर हटाउने काम भयो । पछि फेरि स्थानीयले रुख काटेको उजुरी गरे । उच्च र सर्वोच्च अदालतमा मुद्दा चलेपछि काम रोक्न भनियो । पछि अदालतलाई यो अति आवश्यक योजना हो र प्रदूषण पनि निकै गुणा कम हुन्छ भनेपछि अदालत पनि कन्भिन्स भयो र काम अगाडि बढाउन अनुमति दियो । अहिले सेती किनारका घाटमा जताततै राम्रोसँग नजलेका काला मुढाहरु, दुर्गन्ध र धुवाँको मुश्लो देख्न सकिन्छ । विद्युतशक्तिबाट शव जलाउने हो भने गन्ध पनि आउँदैन । चैत बैशाखमा यहाँका चितामा लास जलाउँदा गन्ध र खरानी आउँछ । यसरी खुलारुपमा शव जलाउनु भन्दा बिजुलीले जलाउँदा कम प्रदूषण हुन्छ भन्नेमा अदालत पनि सहमत भएर काम अगाडि बढाउन लाग्दा ठेकेदारले आँट गरेनन् । स्थानीयले पनि कसरी काम सुरु गर्दा रहेछौ भनेर धम्की दिए । अदालतले नरोके पनि काम सुरु गर्ने वातावरण भएन । अनि सिडिओसमक्ष गयौं । उहाँले एसपीलाई भन्दिन्छु भन्नुभयो तर एसपी आएनन् । यो शवदाहगृह सबै जातजातिका लागि र विदेशीका लागि समेत उपयोगी हुने भएपछि अहिले पुनः काम सुरु भएको छ । संरचना बनाउने स्थल केही पर सारेर बनाउने क्रममा स्ट्रक्चरको काम सकियो । २ मेसिन भारतबाट आउँदै छन् भन्ने कुरा छ । भवनमा स्लट भने ३ वटा बनाइएको छ । प्रदूषणको कुरा गर्दा ९६ प्रतिशत कम हुने देखियो तर यो कुरा भिडियोमा हेर्न आऊ भन्दा स्थानीय आएनन् । विद्युतीय शवदाहगृहमा ३५ देखि ४० मिनेट लाग्ने रहेछ शव जल्न । अरु गतिविधि सबै जोड्दा एक शवलाई २ घण्टा समय लाग्ला । विद्युतीय शवदाहगृहले समय कम लाग्ने, व्यवस्थापन सहज, वन जंगल नमासिने, लागत पनि कम लाग्ने र पोलुसन पनि कम हुने भयो । यसरी विद्युतीय शवदाहगृहका लागि निकै संघर्ष गरियो, मन्त्रीदेखि सांसदसम्म नभेटेको कोही छैन ।
बुद्ध धर्मको प्रचार र विकासमा यो गुम्बाले कस्तो भूमिका खेल्दै आएको छ ?
बुद्ध धर्मको प्रचार कुरा गर्दा हामी केन्द्रीय र ठूलो गुम्बा हौं । हामी ठूलो व्यवस्थापन गर्न सक्छौं । न्यूङनीका लागि हामी एक जोडी वा दुई जोडीका लागि लामाहरु अन्य गुम्बामा पनि उपलब्ध गराउँछौं । हाम्रो आफैंमा न्युङनी गर्दा पनि १६ दिनको गर्छौं । अरु साना गुम्बासँग यसरी गर्ने क्षमता पुग्दैन । यहाँ लसमधसम भन्ने ध्यान पनि हुन्छ । सो समय परिवारसँग देखादेख र कन्ट्याक हुन पाइँदैन । गुम्बाकै कुरा गर्दा बेलायतमा पनि धेरै गुम्बा स्थापना भएका छन् । ३ जना लामा न्यङनी ब्रत बस्न चाहियो भनेर माग आएको छ । गुम्बाका मुख्य लामा शिर लामा (थुप्तेन येसे) पनि अहिले बेलायत भ्रमणमा नै हुनुहुन्छ । शवको सम्मानजनक अन्त्येष्टी गर्दै आएकोमा यसमा मात्र सीमित हुनु भएन भनेर लामाहरुलाई पढाउन र अध्यापन गराउन तथा बौद्ध धर्मको प्रचार होस् भनी २०६१ सालमा बौद्ध शिक्षा अध्ययन केन्द्र यहाँ स्थापना गरियो । सानो उमेरका (ढव) र ठूलो उमेरका लामा गरी ५० जना विद्यार्थीहरु यहाँ छन् । आनीहरु छैनन् । भुइँतलामा पढाउने काम हुन्छ । माथि लामाहरुको आवासस्थल हो ।
सैनिक सेवाबाट निवृत्त भएपछि समाजसेवामा कसरी जोडिनु भयो ?
म निवृत्त भएपछि एक प्रकारको संकल्प भन्ने कि के भन्ने अब विदेशीको जागिर खान्न भन्ने सोच पलायो । अब फेरि म विदेश भौंतारिएर जान्नँ भन्ने भयो । नेपालमै बस्छु भन्ने त भयो तर त्यत्तिकै बसेर नहुने भयो । त्यत्तिकै बसेर त खान पुग्दैन । रिटायर्ड हुँदा म ४० वर्ष उमेरको थिएँ । पेन्सन ४ हजार रुपैयाँ थियो । यतिले त पुग्थेन । यतिले खान नपुग्ने भएपछि नेपालमै केही गर्न सक्छु भन्ने आँट गरें । गएको भए ब्रिटिस बेलफेयर र सेक्युरिटी गार्ड जस्तो क्षेत्रमा अवसर त थियो नि । त्यता कहीं जाने प्रयास गरिन । हातमुख जोर्न आम्दानीका लागि केही गर्नुपर्ने र त्योबिना समाजसेवा गर्न सकिंदैन भन्ने बुझेको थिएँ । भोको पेटले समाजसेवा गर्न सकिंदैन । धर्मको काम गर्न सकिंदैन । यही क्रममा पहिलो मिटर ट्याक्सी (मारुती) पोखरामा हामीले २०५३ सालमा ल्यायौं । सात जना साथीहरु मिलेर तामागी क्याब भनेर केही ट्याक्सी भित्र्याइयो । यी ट्याक्सी राम्रो चले । पछि साथीहरु कोही बेलायतमा जागिर खान गए, कोही कता गएर तितरवितर भए । कम्पनी क्लोज गरियो । ट्याक्सी बेचियो । अनि २०५३ सालमा नै पोखरा फाइनान्स खोल्यौं । गुम्बामा म सुरुमा एक कार्यकाल सदस्य भएर काम गरें । पछि व्यस्त भएपछि एक कार्यकाल बाहिर नै रहें । पछि सचिव भएँ । अब कार्यकाल नदोहोर्याउने भनेको तर यहाँ बन्दै गरेको गुम्बा यही समितिले सक्ने भन्ने कुरा आयो । ७ वर्ष भयो, नयाँ गुम्बा बन्दै गरेको । अति गाह्रो काम रहेछ यो, घर बनाएजस्तो होइन रहेछ । फरक–फरक मन्त्र, सोहीअनुसार बुट्टा राख्नुपर्ने, भगवान्का चित्र राख्नुपर्ने कारणले यो काम चुनौतीपूर्ण रहेछ ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१