साईकल लेन कि पार्किङ ?

धनबहादुर गुरुङ
जेठ २४, २०७९
Cycle Lane Photo

पोखरा । जुन ३ अर्थात् विश्व साइकल दिवस । दिवस अवसरमा पोखराका साइकल यात्री यात्रामा निस्किए । पोखरामा भर्खरै बनेको साइकल लेनमा सरर कुदाउँला भनी सोचेका उनीहरुको यात्रा भनेजस्तो भएन ।

पोखरामा उपलब्ध करिब ७० साइकल यात्रीहरु साइकल लेनमै कहिले ट्याक्सी पार्किङ त कहिले बाइक–स्कुटर पार्किङले हैरानीमा थिए । कुनै स्थानमा पैदल यात्रुले नै बाटो छेक्थे ।

पोखरा महानगरले जिरो किलोमिटरदेखि बिपीचोकसम्म बनाएको लेनमा चलाउँदा पटक–पटक समस्या भोग्नुपरेको साइकल यात्री विश्व तण्डुकारको गुनासो छ । ‘विश्व साइकल दिवस मनाउने भनेर हामीले नयाँ लेनमा यात्रा गरेका थियौं, साह्रै गाह्रो भयो,’ उनले भने, ‘जिरोबाट बिपीचोकसम्म पुग्दा ठाउँठाउँमा पार्किङ गरेको भेटियो ।’ बिहानको समयमा गु्रपमा साइकल यात्रा गर्दा समेत झमेला व्यहोरेको उनको भनाइ थियो ।

साइकल लेनबारे धेरैलाई ज्ञान नहुँदा सर्वसाधारण साइकल यात्रीले झनै समस्या झेलिरहेको उनको भनाइ थियो । ‘हामी ग्रुपमै हिंड्दा त यति धेरै समस्या झेलियो,’ उनले भने, ‘अझै एक्लै हिंड्नेहरुको हालत कस्तो होला ?’

पोखरा महानगरले भर्खरमात्र साइकल लेन तयार गरेको हो । स्थानीय तहको निर्वाचनको समयमा सुरु गरेर अहिले सम्पन्न गरिसकेको छ । साइकल सिटी पोखराको परिकल्पना र महानगरको लगानीमा साइकल लेन निर्माण गरिएको साइकल सिटी पोखराका उपाध्यक्ष एवं पोखरा साइकल लेन निर्माण उपभोक्ता समिति संयोजक राजन गोंगजुले जानकारी दिए । साइकल लेन बनाउन महानगले ३० लाख खर्चिएको छ । अहिलेको बजेटमा उपलब्ध ३० लाखमा उपभोक्ता समितिले ५ लाख ३० हजार उठाएको उनले बताए । उनका अनुसार रातारात काम गरेर आयोजनाको काम सकाएको हो । हेमजासम्मै पुर्‍याउने योजना भए पनि बजेट अभाव कारण नसकिएको उनले सुनाए । आगामी दिनमा पोखराभरी नै दुवैतर्फ लेन बनाउने योजना रहेको छ ।

आवश्यकता आधारमा बने पनि अव्यवस्थित : मेयर आचार्य

साइकलमैत्री सहर बनाउने उद्देश्यले पोखराका सडकमा साइकल लेन बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ । पोखरा महानगरपालिकाले धेरै महत्व दिएर बनाएको जिरोकिलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र महेन्द्रपुल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ । पछिल्लो समय स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि यस प्रकारको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साही बनाएको छ । पछिल्ला समय लेनहरूमा पार्क गरिएका ट्याक्सीहरू र निजी सवारीहरूको फोटो र भिडियोहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

लेनका पार्किङ नगर्न नराउन साइकल सिटी पोखराले जनचेतना मुलक कार्यक्रम गर्न लागेको साइकल सिटी पोखराका उपाध्यक्ष राजन गोंगजुले जानकारी दिए । ‘यसका लागि हामीले बोर्डहरु त राखेका छौं, सुरुमा साइकल लेन नबुझेकै कारण समस्या भएको हो विस्तारै व्यवस्थित बन्दै जान्छ,’ उनले भने, ‘विस्तारै बुझ्दै गएका छन्, अर्को हप्ताबाट हामीले जनचेतनाका कार्यक्रम गर्दैछौं ।’

पोखरामा राम्रो कामको सुरुवात भएकाले सकरात्मक रुपबाट हेरिदिन उनको आग्रह छ । ‘हामीले बुझाउँदै छौं सबै कुरा नकरात्मकबाट मात्र सोंचेर पनि भएन केही कुरा सकारात्मक भएर पनि सोच्नुपर्छ,’ उनले भने, ‘इन्धनको मूल्य बढ्दै गएको अवस्थामा पछि यसले धेरै सहयोग गर्छ ।’ देशका धेरै स्थानमा लेन बनिरहेका अवस्थामा पोखरामा केहीले नकरात्मक रुपमा हेरिरहेका उनको भनाइ थियो । तर कालान्तरमा यसको आवश्यकता सबैले बुझ्ने गोंगजुले बताए । पोखरामा दैनिक १ हजार साइकल गुड्छन् । साइकल सिटीमा २ सय ५० भन्दा बढी साइकलयात्री आबद्ध रहेका छन् ।

यता, पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले भने आवश्यकता आधारमा बने पनि अव्यवस्थित बनेको प्रतिक्रिया दिए । यसलाई पुनः हेरेर समस्या समाधान गर्ने उनको भनाइ थियो । ‘मैले ट्राफिकसँग कुरा गर्दा जसरी बन्नुपर्ने हो त्यसरी बनेको छैन भन्ने भएको छ,’ मेयर आचार्यले भने, ‘अहिले जे जस्तो देखिएको छ यसले त झन सुन्दरता बढाउने भन्दा घटाउने जस्तो देखियो, त्यो लेनमा साइकल चल्छ कि चल्दैन्? बसको पार्किङको व्यवस्था पनि भएको छैन ? यस कारण यसलाई हामी रिभ्यू गरेर हेर्छौ ।’

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width