पोखराका मेयरको घोषणा : ३ महिनाभित्र १ घर १ वृक्षरोपण

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७९
dhan raj ach

पोखरा । पोखरा महानगरपालिकाले ३ महिनाभित्र महानगरका सबै घर कम्पाउन्डमा बिरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ । महानगरका मेयर धनराज अचार्यले अबको ३ महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवसको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन् ।

आइतबार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले १ घर १ वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक बिरुवा उपलब्ध गराउनेसमेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन् ।

केही वर्ष अगाडि सेती नदीमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपण अनिवार्य रहेको धारणा राखे । उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् ।

पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र वरपीपल मासिएका उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निष्कर्षमा पुगिने बताए । ‘विगतमा पोखरामा प्रशस्त पोखरीहरु थिए । चौताराहरु थिए । प्रशस्त वर पीपलका रुखहरु थिए, ती सबै मासिए ।’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौं । अनि पोखरालाई नाराअनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं ।’

विगतमा पोखरामा प्रशस्त पोखरी, चौतारा, प्रशस्त वर पीपलका रुखहरु थिए, ती सबै मासिए

मेयर आचार्यले खाली जमिनमा वृक्षरोपण कार्यक्रम गर्न पोखरास्थित सम्पूर्ण संघसंस्थालाई आग्रहसमेत गरेका छन् । वृक्षरोपणका लागि वृक्षरोपणमात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका बिरुवाको संरक्षण पनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए । सरकारले निजी जमिनमा रोपिएका रुख कटानको सन्दर्भमा लिएको निर्णयले आम नागरिकलाई आम्दानी दिने बिरुवा रोपेर आयअर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै उनले वृक्षरोपण गरेर यसको फाइदा लिनसमेत आग्रह गरेका छन् ।

मेयर आचार्यले पोखरा २४ मा रहेको ठूली पोखरी (कश्यप ताल) को संरक्षणका लागि महानगरको तर्फबाट समेत योगदान रहने बताए । वडाको समग्र विकासका लागि वडाध्यक्ष र निर्वाचित जनप्रतिनिधिसँग बसेरै योजना बनाउने उनले आश्वासन दिए ।

महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मेयर आचार्य, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालसहित जनप्रतिनिधि, महानगरका कर्मचारी र स्थानीहरुको सहभागिता थियो ।

पोखरा २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण गरिएको हो । वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीका अनुसार विभिन्न प्रजातिका २ सयभन्दा धेरै बिरुवा रोपिएको छ ।
कार्यक्रममा वडाध्यक्ष अधिकारीले अहिले वडावासी दाजुभाइ दिदीबहिनी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनुपर्ने अवस्था रहेको जानकारी दिए । यसको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टै सम्पन्न गरेर नगरवासीलाई खानेपानी उपलब्ध गराउने काममा आफूहरु लागिपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width