‘अब कसलाई हेरेर बाँचम् ?’

धनबहादुर गुरुङ
जेठ १७, २०७९
Airport Photo (1)

पोखरा । पोखराको मौसम सोमबार घमाइलै भए पनि पोखरा विमानस्थलमा भेटिएकाहरुको अनुहार अध्याँरो थियो । मानौं, कालो औंसीको रातभन्दा कम थिएन । तारा एयर दुर्घटनामा परेकाहरुको आफन्त बिहानैदेखि पर्खाइमै थिए, मलिन अनुहार लिएर । बिहान करिब ७ बजे टुक्रा–टुक्रा परेको अवस्थामा जहाज भेटिएको खबरपछि झनै सन्नटा छायो । एकपछि अर्को गर्दै आएका समाचार र तस्बिरले झिनो आशा पनि निराशामा परिणत भयो । जीवनको प्राणपखेरु उड्यो, निमेषभरमै ।

सन्नाटा पोखरा विमानस्थलमा दिउँसो २ बजेपछि झन् निकै कारुणिक आवाज सुनियो । ‘मलाई मेरो छोरी भएको ठाउँमा लैजाऔं । छोरीलाई त्यही जहाजले खायो म जहाज चढेर जान्नँ । बाँच्ने भरोसा टुट्यो, अब कसलाई हेरेर बाँचम्,’ यो पीडादायी आवाज थियो एअर होस्टेस किस्मी थापाकी आमा विष्णुदेवीको ।

दुर्घटनास्थलमा उद्धारका लागि पुगेको टोलीले शव छरपस्ट र चिनिन नसकिने बताएपछि डिएनए गरी पहिचान खुलाउनुपर्ने अवस्था आयो । त्यसपछि सुरक्षाको टोली र जिल्ला प्रशासनले सिधैं काठमाडौं लैजाने निर्णय ग¥यो । शव पहिचानमा आफन्तलाई काठमाडौं लैजानुपर्ने भयो ।

विमान दुर्घनामा परेकी एअर हास्टेस स्याङ्जाकी किस्मी थापा थिइन् । उनकी आमा विष्णुमाया, हजुरआमा उमसरा रणपाल र कान्छा मामा राजुसहित केही आफन्त पोखरा आए । गाडीमै काठमाडौं जाँदा असजिलो हुने भएकाले जहाजमा जाने निधो भयो । स्याङ्जाबाट पोखरासम्म आएको बस २ बजे विमानस्थलमा रोकियो । बसबाट झर्ने बित्तिकै किस्मीको आमा र हजुरआमाको बलिन्द्र धारा थामिएन । आँखाले मात्र खोजिरहेका थिए, किस्मी । आफन्तले उनलाई जहाज चढेर काठमाडौं जान सुझाए तर मानिरहेका थिइनन् । पछि सबैले सम्झाएपछि ३ बजेको फ्लाइटमा काठमाडौं जाने हुने भए ।

बसबाट झर्ने बित्तिकै एयर होस्टेस किस्मीको आमा र हजुरआमाको बलिन्द्र धारा थामिएन

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एयरको जहाज दुर्घटनामा परिवारको भरोसा ढलेकाले पनि उनीहरुको कारुणिक आवाज सुनिएको थियो, विमानस्थलमा । परिवारको सहारा थिइन्, किस्मी । किनकि किस्मीका बुवाले सानैमा आमा र उनको साथ छोडेका थिए । बुवाले साथ छोडेपछि उनीहरुको लालनपालनको जिम्मा हजुरआमा उमासराले लिएकी थिइन् ।

स्याङ्जा चापाकोट–४, मल्याङकोटकी विष्णुदेवीले गाउँमै अन्तरजातीय विवाह गरेकी थिइन् । थापा मगर थरका श्रीमानको परिवारले उनलाई दलित भन्दै स्वीकारेको थिएन । उमासराले किस्मी नजन्मिदै श्रीमान् गुमाएका उमासराले छोरी र नातिनी पेन्सनको भरमा आफ्नै भरोसामा राखे । एसएससी गाउँबाटै दिएकी उनले प्लस टू वालिङबाट पूरा गरिन् । त्यसपछि एयर होस्टेस बन्ने सपना लिएर पोखरा आइन् । लक्ष्य पूरा गर्न एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालिन् । अनि सुरु गरिन्, कोर्ष । ६ महिने एयर होस्टेस कोर्स पूरा गरेपछि पोखराकै एभिया क्लबमा काम थालिन् । पछि यतीले एयर होस्टेजका लागि विज्ञापन खुलाएपछि उनको एयर होस्टेस बन्ने सपना पूरा भएको थियो ।

एअर होस्टेसको कामले उनलाई पुगेकै थियो । आफ्नो खर्च टारेका थिए, आमा पालेकी थिइन् र भाइबहिनीलाई पढाउनसमेत भ्याएकी थिइन् । सानैमा बुवाको माया पाउन नसकेकी किस्मीले अभिभावकत्व निभाउन सुरु गरेकी थिइन् । ‘दिदीले बिस्तारै प्रगति गर्दै हुनुहुन्थ्यो, हामीलाई पनि पढाउन थाल्नुभएको थियो,’ उनका भाइ (मामाको छोरा) अमरले भने, ‘कस्तो दिन आयो भगवान्ले पनि कस्तो खेल खेल्छ ।’

किस्मी सन् २०१७ मा यतीबाट तारा एयरमा गइन् । उनले जोमसोम, लुक्ला र नेपालगञ्ज उडानमा काम गर्दै आएकी थिइन् । सधैं यात्रुलाई सजग बनाउने किस्मी आइतबारको फ्लाइटमा भने सधैंका लागि अस्ताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width