पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको छ ।
बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट उडेको कलसाइन ९ एनएइटी ट्वीनअटर जहाज अन्तिम पटक १० बजेर ११ मिनेटमा सम्पर्कमा आएको थियो । त्यसपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन जहाज मुस्ताङको थासाङ गाउँपालिका २, कोवाङको मानापाथी हिमाल आसपास दुर्घटनाग्रस्त भेटिएको दाबी गरिए पनि आइतबार रातिसम्म पत्ता लागेको छैन । जोमसोम विमानस्थलका अनुसार मौसम खराब भएका कारण जहाज झरेको ठाउँ पत्ता नलागेको हो ।
‘हेलिकोप्टरबाट जान सक्ने अवस्था भएन । कुन ठाउँमा दुर्घटना भयो भन्ने पनि पक्का छैन,’ विमानस्थल प्रमुख पुस्कल शर्माले भने, ‘अब पैदल जाने तयारी छ । आर्मी र प्रहरी सहितको टोली तयारी अवस्थामा छ ।’ स्थानीयको भनाइका आधारमा आशंका गरिएको ठाउँ मानापाथी हिमालकै रेन्जलाई मानिएको छ । अहिले सुरक्षा टोलीले त्यसैलाई केन्द्रिकृत गरेर खोजीको तयारी थालेको छ । तारा एयरकै एक जना कर्मचारी र केही प्रहरी भने घटनाको आशंका स्थलमा यसअघि नै गइसकेका छन् तर उनीहरुले सम्पर्क नगरेका कारण घटनाबारे थाहा नभएको यति एयरलाइन्सले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । खोजी र उद्धारमा खटिएको टोली कोवाङ पुगेर बसेको र सोमबार बिहानैदेखि काम सुरु गर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ‘टुकुचेसम्म नपुगेको र लेतेबाट पास भएको भन्ने छ । एयरपोर्टसँग कन्ट्याक्ट नभएपछि खोजी गर्न थालेका हौं,’ उनले भने, ‘म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको होहल्ला छ । जेहोस्, स्थानीयका कुरा सुन्दा जहाज झरेको ठाउँ करिब नजिक पुगेका छौं ।’
मौसमका कारण उडान ढिला
विमानस्थलका अनुसार पोखरा–जोमसोम उडान बढीमा १७ देखि २० मिनेट हुन्छ । आइतबार बिहान ताराको जहाज उड्नुअघि समिट एयरले २ फ्लाइट गरेको थियो । ६ बजे उड्ने पहिलो फ्लाइटको जहाज मौसमकै खराबीले करिब १० बजेसम्म स्थगित भएको थियो । ‘नउडाउने योजना थियो । समिटले २ फ्लाइट गरेपछि पठाएका हौं,’ यतिका एक कर्मचारीले भने, ‘त्यही भएर ६ बजे उडाउन ठिक्क पारेको जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।’
को–को थिए जहाजमा ?
बेपत्ता जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेको विमानस्थलले जनाएको छ । चालक दलमा पाइलट प्रभाकर घिमिरे, सहायक पाइलट उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा रहेको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । यात्रुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रिटग्राफ, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए । यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, बि विलनर पनि जहाजमा रहेको खुलेको छ । यात्रुमा २ जना जर्मन नागरिक, ४ भारतीय र १३ जना नेपाली हुन् ।
के भन्छन् स्थानीय ?
मुस्ताङको मौसम निकै खराब थियो । शनिबारदेखि पानी परेकाले त्यहाँ बाक्लो हुस्सु र कुहिरो थियो । यत्तिकैमा आकाशमा जहाजको आवाज आयो । स्थानीयले जहाज देखेका थिएनन्, आवाज मात्रै सुनेका थिए । सवा १० बजेतिर लार्जुङमा एसेम्ब्ली चलिरहेको थियो । जहाजको आवाज सुनेपछि अनेक अड्कलबाजी गरिएको थियो । ‘हामी एसेम्ब्ली गर्दै थियौं । स्कुलमाथि तिर जहाजको आवाज आइरहेको थियो । केही साथीहरुले डोल्पा हिड्न लागेको भनेर ठट्टा गर्नुभयो । एकजनाले यो अब हराउने भो भनेर पनि चर्चा गर्नुभयो,’ शिक्षक वीरेन्द्र लामिछानेले भने, ‘केहीबेरमा आवाज हरायो । जहाज सम्पर्कविहीन भएको समाचार सुन्यौं ।’
विमानमा चालक दलका ३ सदस्य र १९ यात्रु गरी २२ जना थिए
अर्का स्थानीयले लेते क्षेत्रमा उक्त जहाज २ पटकसम्म घुमेको बताएका छन् । ‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्ने छ,’ स्थायीयसमेत रहेका पत्रकार सुशील थकालीले भने, ‘बादल टम्मै छ । कतै केही देखिंदैन । एक पटक आवाज अलि अस्वभाविक पनि सुनेका रहेछन् ।’ स्थानीयकै कुरा सुनेर अहिले प्रहरी मानापाथी हिमाल क्षेत्रमा केन्द्रित भएको छ । जहाज खोज्न पोखराबाट आर्मीको हेलिकोप्टर गएको छ भने जोमसोममा फिस्टेल एयरको अर्को हेलिकोप्टर राखिएको छ ।
यार्सा टिप्न गएकाहरुले पनि मानापाथी हिमालकै आसपासलाई संकेत गरेका छन् । जहाज दुर्घटनामा परेकाहरुको आफन्त दिनभर पोखरा विमानस्थलमा भावविह्वल थिए । जहाज सम्पर्कविहीन भएको समाचार पछि उनीहरु एयरपोर्टमा भेला भएका हुन् ।
मानापाथी हिमाल आसपासमा भेटिएको भनिएको जहान खोज्न शेर्पा टोली त्यसतर्फ पठाइएको छ । पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले मानापाथी हिमाल फेदी भन्दा केही पर उनीहरुलाई छोडेर फर्केको छ । टोलीमा ९ शेर्पा र आर्मी छन् । दुर्घटना लोकेट भएको भनिएको स्थान र उनीहरुलाई छोडिएको स्थान पैदल यात्रामा ३÷४ घण्टा टाढा पर्छ ।
७ वर्षअघिको त्यो दुर्घटना
आजभन्दा ७ वर्षअघि पोखराबाट जोमसोमकै लागि उडेको तारा एयरको जहाज सोही रुटमा दुर्घटनामा परेको थियो । २०७२ फागुन १२ मा ९एन–एएचएच कलसाइन ट्वीनेटर विमान म्याग्दीको दानास्थित केकरको बुटामा दुर्घटना भएको हो । दुर्घटनामा चालक दलका ३ जना र २ बालबालिकासहित २३ जनाको मृत्यु भएको थियो । पोखरा जोमसोम हवाइ रुट निकै जोखिमपूर्ण छ । यो रुटमा करिब ५ मिनेट कुनै पनि टावरले काम गर्दैन । त्यसैले प्राधिकरणले नै यो ठाउँलाई ‘बफरिङ जोन’ भनेर चिनाउँछ । घोरेपानीदेखि तातोपानीसम्मको भागमा पाइलटले चाहेर पनि टावरसँग कनेक्सन गर्न सक्दैन । तर अहिलेको दुर्घटना भने टावरसँग सम्पर्क भइसकेपछि भएको बताइएको छ । पोखरा टावरबाट छुटेर जोमसोम टावरसँग सम्पर्क भएपछि पाइलटले मौसमबारे सोधेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
hero news full width
मुख्य समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१