स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?

रासस
जेठ १५, २०७९
election comission

काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।

नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्यांकन भइरहेको छ । करिब १ वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँचदलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा (एमाले) ले एक्लै निर्वाचन जित्ने दाबीका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित छ ।

नेपालको संघीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मंसिरसम्म रहेको र अबको बढीमा ७ महिनामा संसदकै निर्वाचन हुने भएकाले पनि प्राप्त स्थानीय निर्वाचनको जोड घटाउको चर्चा चुलिएको हो । यस निर्वाचनमा राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौं महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि निर्वाचन परिणामलाई रोचक बनाइदिएको छ ।

स्थानीय तह निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको काम गरी विशेषतः २ मान्यता स्थापित गर्न खोजेको देखियो । राजधानी काठमाडौंमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्रनारायण साहलाई विजयी गराएका छन् ।

यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलका विगतका महानगरका नेतृत्वले दिन नसकेका परिणामको नतिजा हो । काठमाडौंसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले ६५ वर्षीय चिरिबाबु महर्जनलाई पुनः चुनेका छन् । राजधानी बाहिर धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले परम्परागत दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन् । यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रुपमा लिन सकिन्छ ।

३५ हजार २ सय २१ पदका लागि निर्वाचन भएको थियो

मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ । कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । कांग्रेसबाट १३ हजार ७ सय ३७ जनप्रतिनिधि निर्वाचित भएका छन् । यस्तै नेकपा (एमाले) बाट ११ हजार ८ सय ७२, नेकपा (माओवादी केन्द्र) बाट ५ हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी ४ हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालमा ३ चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४ सय ५६, एमालेबाट १४ हजार १ सय र माओवादी केन्द्रबाट ५ हजार ४ सय ४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट १ सय ४० प्रमुख, १ सय १० उपप्रमुख, १ सय ८८ अध्यक्ष, १ सय ९० उपाध्यक्ष, २ हजार ६ सय ६१ वडाध्यक्ष, २ हजार ६ सय महिला सदस्य, २ हजार ५ सय ४७ दलित महिला र वडा सदस्य ५ हजार ३ सय १ निर्वाचित भएका छन् । एमालेबाट ८२ प्रमुख, १ सय १३ उपप्रमुख, १ सय २३ अध्यक्ष, १ सय २६ उपाध्यक्ष, २ हजार १ सय २७ वडाध्यक्ष, २ हजार ३ सय ४० महिला सदस्य, २ हजार २ सय ८५ दलित महिला सदस्य र ४ हजार ६ सय ७६ वडा सदस्य निर्वाचित भएका छन् ।

कुल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा १ हजार ५३, महिला सदस्यमा ९ सय ६३, दलित महिला सदस्य ९ सय ७३ र वडा सदस्यमा १ हजार ८ सय ६ निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट ४ हजार ३ सय ४८ निर्वाचित भएको आयोगले जनाएको छ ।

यस्तै ६ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २ सय ७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४ सय ६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७ सय ४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४ सय ८६ वडा सदस्य गरी ३५ हजार २ सय २१ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा करिब १ लाख ४५ हजारले उम्मेदवारी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width