जहाँ पुरानो जीत दोहोरिएन…

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७९
Local Election

पोखरा । पहिले जितेका पालिकामा अधिकांश कांग्रेसलाई नोक्सान भएको छ । केही पालिकाहरुमा सत्ता गठबन्धनबीचको प्रतिस्पर्धाका कारण एमालेले नाफा कमाएको छ । मालिका गाउँपालिकामा कांग्रेस, एमाले र माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा थियो । झिनो मतान्तरले एमाले विजयी हुँदा माओवादीले २ हजार १ सय २५ भोट ल्यायो । गणना भएको हालसम्मका पालिका हेर्दा कांग्रेसले ९ वटा अध्यक्ष–उपाध्यक्ष गुमाएको छ भने एमालेले ७ पद गुमाएको छ । माओवादीले पनि एउटा पद गुमाएको छ । कांग्रेसले गुमाएका ८ पद एमालेले जितेको छ भने एउटामा माओवादी जितेको छ । माओवादीले गुमाएको एउटा पदसहित एमालेका ७ पद कांग्रेसले जितेको छ ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका कांग्रेसबाट एमालेले खोसेको छ । यहाँ अध्यक्ष र उपाध्यक्ष नै एमालेले जित्यो । मुस्ताङकै बारागुङ मुक्ति क्षेत्र उपाध्यक्ष सुरक्षित गर्दै अध्यक्ष समेत कांग्रेसबाट खोसेको छ । थासाङ गाउँपालिकाको अध्यक्ष पनि एमालेले कांग्रेसबाट खोस्यो । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्ष कांग्रेसबाट एमालेमा सरेको छ । एमालेले नवलपुरको बुलिङटारको अध्यक्ष तथा बौंदीकालीको अध्यक्ष र उपाध्यक्ष नै खोसेको छ । तनहुँको म्याग्देबाट अध्यक्ष एमालेले खोस्यो ।
कांग्रेसले पनि कास्कीको माछापुच्छ्रेमा बहुमत वडासहित एमालेबाट अध्यक्ष र उपाध्यक्ष खोसेको छ । बागलुङ ताराखोलामा उपाध्यक्ष माओवादीबाट तानेको छ भने गलकोटको उपमेयर माओवादीलाई सुम्पिएको छ । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर नै एमालेबाट फुत्काएको छ । तनहुँको देवघाट गाउँपालिका अध्यक्ष एमालेबाट कांग्रेसले तानेको छ ।
माओवादीले गोरखाको अजिरकोटमा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसबाट खोस्यो । भीमसेन थापा गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसले गुमाएको छ । गोरखाका अधिकांश पालिका यसपालि माओवादीले जित्ने सम्भावना छ । यसअघि २ पालिकाका अध्यक्ष र उपाध्यक्ष मात्रै जितेको माओवादीले अधिकांश पालिका जित्ने देखिन्छ । बागलुङको गलकोट नगरपालिका उपमेयर कांग्रेसबाट माओवादीमा सरेको छ । तनहुँको देवघाट पनि कांग्रेससँग मिलेर एमालेबाट उपाध्यक्ष खोस्यो । अझै अर्काले जितेको पालिका खोस्ने क्रम सबै पार्टीको जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width