कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७९
kaski polling

पोखरा, ३० वैशाख । स्थानीय तह निर्वाचनअन्र्तत कास्कीमा ६५ प्रतिशत मत खसेको छ । पोखरास्थित निर्वाचन कार्यालय अनुसार कास्कीका एक महानगरसहित ५ पालिकामा गरी कुल ६५ प्रतिशत खसेको हो ।
निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले शुक्रबार भएको स्थानीय तह निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र कुल ६५ प्रतिशत मत खसेको बताए ।
कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता हुन् । कास्कीमा ७२ वडा छन् । पोखरामा मात्र ३३ वडा छन् । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ जना मतदाता छन् । चुनावमा पोखरामा ९८ वटा मतदानस्थलका २ सय ४२ मतदान केन्द्र तय गरिएको थियो । समग्र कास्कीमा भने १ सय ५० मतदानस्थलमा ३ सय ३६ मतदान केन्द्र थिए ।
जिल्लाको ग्रामीण भेगमा मतदानको लागि मतदाताको उत्साहजनक उपस्थिति देखिन्थ्यो । सहरी क्षेत्रमा भने खासै उत्साह देखिएन । दिउँसो वर्षाका कारण केही मतदान केन्द्रमा मतदान कार्य लम्बिएको थियो । टन्टलापुरे घामको समेत परवाह नगरी मतदाता लाइन बसेर मताधिकारको प्रयोग गरेका थिए । मतदानका लागि किरियापुत्रीसमेत सहभागी थिए ।
मतदान कार्य सम्पन्न पछि सबै मतदान केन्द्रबाट मतपेटिका शुक्रबार राति अबेरसम्ममा संकलन हुने जनाइएको छ । पोखरा महानगरपालिकामा भने शनिबार बिहान सर्वदलीय बैठक पछि मात्र मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।
सहिदचोकस्थित जिल्ला समन्वय समिति, मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समितिको सभाहलमा गणना हुनेछ । मतगणना सुरक्षाका लागि तारजाली लगाएर व्यवस्थित गरिएको छ ।

पोखरा महानगरपालिकाको मेयरमा मात्र २३ जना र उपमेयरमा ८ जनाले प्रतिस्पर्धा गरेका छन् । पोखरामा एमाले र गठबन्धनबीच मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमा मुख्य प्रतिस्पर्धा छ । कास्कीका ५ पालिकामा गरी ३ सय ७० जना जनप्रतिनिधि चुनिने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width