अधुरा कार्य पूरा गर्न पुनः उम्मेदवारी : युवराज कुँवर

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७९
youbaraj kuwar

कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा निर्वाचित युवराज कुँवर दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको तर्फबाट सोही गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका छन् । उनी केही महिना अगाडिमात्रै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि तथा जिल्ला उपसभापति निर्वाचित भएका थिए । २०४६ सालको जनआन्दोलनसँगै राजनीतिमा क्रियाशील कुँवरसँग क्षेत्रीय सचिवदेखि क्षेत्रीय उपसभापतिको जिम्मेवारीसमेत बहन गरेको अनुभव छ । उनी कुँवरसँग आसन्न स्थानीय तह निर्वाचन सम्बन्धमा आदर्श समाज प्रतिनिधिले गरेको कुराकानी :

गाउँपालिका अध्यक्षको ५ वर्षे कार्यकालमा के के काम गर्नुभयो ?

जब नेपाली कांग्रेसले २०७४ सालमा मेरो टिमलाई टिकट दियो । त्यसपछि निर्वाचन जित्यौं । त्यस पूर्व अन्नपूर्ण गाउँपालिका १ देखि ११ वडासम्मको अवस्था अत्यन्तै जटिल थियो । भूकम्पबाट प्रभावित देशभरिको अवस्था अन्नपूर्णमा पनि थियो, नाकाबन्दीको प्रभाव पनि राम्रै थियो । त्यसका बाबजुद पनि जब निर्वाचित भयौं । त्यसपछि विकास र जनताका न्यूनतम आवश्यकतामा अगाडि बढयौं । अन्नपूर्ण गाउँपालिकाका वडा केन्द्रसँग बाटो पुर्‍याउन सफल भयौं । सुरुको १ वर्ष सिक्दै कामको सुरुआत गरेका थियौं । दोस्रो वर्ष काम गर्न जब हामी बामे सरेका थियौं । कोभिडको प्रभाव पर्‍यो । त्यसबेला पनि अन्नपूर्णका कुल २३ हजारमध्ये १८ वर्ष माथिका जनता सबैलाई कोभिड खोप लगाउन सफल भयौं । ५ वर्षको अवधिमा कुल १८ किलोमिटर सडक ढलान पनि गर्‍यौं । नागडाँडा स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शड्ढयाको अस्पताल निर्माण कार्यको सुरुआत पनि गर्‍यौं । अस्पताल निर्माणबारे धेरैले धेरै कुरा गर्न सक्छन् । मेरो सरकारले ल्याएको हो भन्न पनि भ्याउँछन् । यो अस्पताल बनाउने भन्ने २०७७/०७८ को अर्थमन्त्रालयबाट निस्कने रातो बुकमा थियो । यो कुनै पार्टीले ल्याएको होइनन्, गाउँपालिकाको पहलमा आएको हो, कसैले दाबी नगरे हुन्छ । म त्यसको प्रतिवाद गर्न पनि सक्छु ।
अन्नपूर्ण गाउँपालिका मूलतः पहाडी बेल्ट हो । त्यहाँ पानीको ठूलो समस्या थियो । यो समस्या समाधानका लागि भइराखेको स्रोतलाई नै व्यवस्थापन गरी करिब ९० प्रतिशत घरकुरियामा १ घर १ धारा सम्पन्न भइसकेको छ । आगामी ५० वर्षसम्मको दीर्घकालीन योजनाका लागि वडा १ देखि ७ सम्म समेट्ने गरी बुहद् लान्द्रुक खानेपानी योजना अब चाँडै नै अगाडि बढ्दै छ ।

अन्नपूर्णको पर्यावरण, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास देखेर यहीँ बसौं बसौं लाग्ने बनाउन प्रयासरत रहनेछु

११ वटै वडामा स्वास्थ्य इकाइ बनेका छन् । ती इकाइबाट स्वास्थ्यकर्मीले सेवा दिन थालिसकेका छन् । ५ वर्षको कार्यकालमा कुल १ सय १० नयाँ कक्षाकोठामात्रै बनेनन्, १४ माविमा आइसिटीदेखि विज्ञान प्रयोगशाला पनि सम्पन्न गरिएको छ । हामीहरु आइसकेपछि घान्द्रुक, तिखेढुंगाजस्ता ठाउँमा पनि १० जोड २ कक्षा पठनपाठन सुरुआत गरेका छौं । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमार्फत् कृषि उत्पादनका लागि भवन शिलान्याससहित बाली विज्ञानको पठनपाठन पनि सुरु भइसकेको छ । १ घर १ फलफूल, १ विद्यार्थी १ फलफूल अभियानअन्तर्गत झण्डै साढे २ लाख बिरुवा वितरण पनि गर्‍यौं ।

औषधीको रुपमा समेत प्रयोग गर्न मिल्ने कुरिलोका कुल ३५ हजार बिरुवा घरघरै लगेर रोपण गरियो । प्रत्येक वर्ष आलुको बिउ वितरण गरेका छौं । यस वर्षमात्रै कूल २८ हजार केजी बिउ आलु वितरण गरेको छु । कोदोलगायत पुराना खाद्यवस्तुलाई संरक्षण गर्दै आत्मनिर्भरतातर्फ गाउँपालिका गइसकेको छ । मासुजन्य पदार्थमा पालिकालाई आत्मनिर्भर बनाएको छु । हिजो प्रत्येक गाउँवासी पोखराबाट गाउँ फर्कंदा प्लास्टिकमा तरकारी ल्याउने गर्नुहुन्थ्यो । अहिले त्यो अवस्था छैन । तरकारीमा पनि करिब ७० प्रतिशत आत्मनिर्भर भइसकेका छौं । पर्यटन विकासका लागि म्याराथन प्रतियोगिताको सुरुआत पनि भएको छ ।

आसन्न निर्वाचनमा तपाईंका एजेन्डाहरु के के छन् ?

सर्वप्रथम गाउँपालिकाबाट विस्थापन भएका तरुण, युवा साथीहरुलाई फर्काइ विभिन्न सीपमूलक तालिम मार्फत् उनीहरुलाई रोजगारीको व्यवस्थापन गर्नु छ । हामीसँग खेतीयोग्य तथा कतिपय बाँझो जमिन पनि छ । ती युवालाई बाख्रापालन, पशुपालन तथा तरकारी खेती तालिम दिनु छ । कुल ८ सयदेखि ८ हजार ९१ मिटर उचाइसम्म फैलिएको गाउँपालिकामा ३ किसिमको हावापानी छ । हिमाली बेल्टमा खसी, बोका, चौरी पाल्ने तथा पर्यटन प्रवद्र्धन गर्ने योजना छ । पहाडी बेल्टमा फलफूल लगाउने, मैदान एरियामा तरकारीलगायत अन्न उत्पादन गरेर युवालाई व्यवस्थापन गर्नु छ ।

अन्नपूर्णमा धेरै योजनालाई पूर्णता दिनु छ । १५ शैयाँको अस्पताल निर्माण, कुल ४४ करोड लगानीको बृहत् लान्द्रुक खानेपानी योजना, टोल स्तरमा मोटर बाटो लैजान सहजीकरण गर्नुछ । शिक्षा खोज्न बाहिर जान नपरोस् भनेर क्याम्पस (डिग्री) सम्मको पढाइ त्यही व्यवस्थापन गर्नु छ । बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान भनेर मात्रै भएन, धेरै विज्ञानहरु थप्नु छ । पर्यावरणीय हिसाबको लेखाजोखा गरी अन्य थुपै सडकहरु निर्माण गर्नु छ । फेवाताल जोगाउनु पनि छ । त्यो पोखरा महानगरपालिकाले हेर्दैन । हामीले नै जोगाउनुपर्छ । करिब ७० प्रतिशत फेवा पुर्ने अँधेरीखोलाको पहिरो व्यवस्थापन गर्नुछ । यसका अलवा अन्य धेरै कामहरु गर्नुछ ।

एकपटक अध्यक्ष भइसकेको तपाईंलाई अन्नपूर्णवासीले भोट किन दिने ?

कास्कीमा ५ स्थानीय तह छन् । यसअघि ४ पालिकाको मूल नेतृत्व एमालेले जितेको छ । अन्नपूर्णको अध्यक्षमात्रै कांग्रेसले जितेको हो । अन्नपूर्णमा गरिएको विकासको मोडल हेनुहोस् ।कांग्रेसले अगाडि सारेको विकासको मोडल र अन्य पार्टीले जितेको पालिकाको विकासको मोडलबीच तुलना गर्नुहोस् । कति बिग्रिएको र भत्किएको छ त्यहाँ । त्यही भएर पुनः नबिग्रियोस्, नभत्कियोस् भनेर कांग्रेसलाई मत दिने हो । यसअघिका संघीय र प्रदेश सरकारको साढे ३ वर्षको अवस्था र तत्कालीन बेलाको देशको आर्थिक मन्दीको अवस्था तपाईंले पनि देख्नुभएको छ ।

१ गिलास पानी एउटैले खाने होइन, अर्को गिलास पनि थप्ने हो । गिलासको पानीमा झगडा गर्ने त हुँदै होइन । बरु त्यसमा १० गिलास पानी थपेर ११ जनाले पिउने सिद्धान्त कांग्रेसको हो । नेपालको परिवेश र माटोलाई कांग्रेस र विपीको समाजवादभन्दा अरुले व्यवस्थापन गर्न सक्दैनन् । त्यसका लागि पनि नेपाली कांग्रेसको रुख चिन्हमा जनताले अत्यधिक मत दिन्छन् भन्ने लाग्दछ । व्यक्तिगत मलाई भोट दिने होइन, कांग्रेसलाई मत दिने हो । म त पार्टीको एउटा प्रतिनिधिपात्र मात्रै हुँ ।

कतिपय नेता सहरमा बसेर गाउँको राजनीति गर्नुहुन्छ । त्यस्ता नेतालाई तपाईं के भन्नुहुन्छ?

नेपाली केही नेता भनाउँदा साथीहरु महलमा बसेर गरिबमाथि राजनीति गर्नुहुन्छ । हामी झुपडीमा बसेर झुपडीको राजनीति गर्दछौं । म धनीको राजनीति गर्दिनँ । नवधनाढ्यहरु सहरस्थित महलमा बस्नुहुन्छ । तर गरिबको दुवाई दिनुहुन्छ । उहाँहरुले हालसम्म के गर्नुभयो त गरिब र दलितका लागि ? बरु अन्नपूर्ण गाउँपालिकाले ५ वर्षको अवधिमा २ सयभन्दा बढी गरिबका लागि घरको व्यवस्था ग¥यो । हामीले उहाँहरुलाई घरघरै पानीको धारोको व्यवस्था गरिदिएका छौं । घरमै पानी आएको छ, तरकारी लगाएर खानोस् भनेर करिब १ हजार दलितको घरमा म आफैं गएँ पनि । न्यून आय भएका किसानलाई साग लगाएर खानुहोस् भनें पनि । तपाईं तिउन, गोलभेंडा आदि तरकारी यही उत्पादन गरी खानुहोस् पोखराबाट किनेर ल्याएर नखानुहोस् भनें पनि । म पनि न्यून आय भएको मान्छे हुँ । मलाई महलमा बसेर झुपडीको राजनीति गर्नु छैन ।

चुनाव नजिकिएको छ, चुनावी अभियान कसरी अगाडि बढाउनु भएको छ ?

चुनावी रणनीति त पार्टीले बनाउँछ । म त सो पार्टीको एउटा प्रतिनीधि पात्र मात्रै हुँ । म, उपाध्यक्षका प्रत्यासीलगायतले रुख चिन्हमा भोट दिनुहोस् भन्दै हिँडेका छौं । पार्टीले नै चुनावी घरदैलोलाई व्यवस्थापन गरेको छ । म सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको रुख चिन्हमा मत दिएर आगामी ५ वर्षसम्मका लागि पनि गाउँपालिकाको नेतृत्व गर्न अवसर दिनुहुन्छ भन्नेमा पूर्ण रुपमा विश्वस्त छु । यस बीचमा अन्नपूर्णलाई नेपालकै बस्न लायक गाउँपालिका बनाउने इच्छा, आकांक्षा तथा सपना मेरो छ । यहाँबाट अमेरिकालगायत विकसित देश जाने नेपालीले पनि अन्नपूर्णको पर्यावरण, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास देखेर आफ्नै गाउँपालिका बसौं बसौं लाग्ने बनाउन म प्रयासरत रहनेछु ।

Related News

सम्बन्धित समाचार

hero news full width