घरदैलोमा पुगी जनताको समस्या बुझ्दै छौं : बोधबहादुर कार्की

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
Bodh Bahadur Karki (3)

बोधबहादुर कार्की नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरपालिका वडा नम्बर १४ का लागि आसन्न स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय उनी सामाजिक तथा धार्मिक काममा पनि उत्तिकै लागि पर्ने व्यक्तित्व हुन् । पोखराको ल्यान्डफिलसाइट र नयाँ विमानस्थल निर्माणपूर्वदेखि नै पोखराको दक्षिणी भेगमा पूर्वाधार र विकास भित्र्याउन उनले खेलेको महत्वपूर्ण भूमिका सम्झन लायक मानिन्छ । २०४६ सालबाटै राजनीतिमा सक्रिय युवा उम्मेदवार कार्कीसँग नजिकिँदै गरेको निर्वाचनको सन्दर्भलाई लिएर आदर्श समाज प्रतिनिधिले गरेको वार्तालापको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :

तपाईंको चुनावी प्रचार अभियान कसरी अगाडि बढ्दै छ, पाँच दलीय गठबन्धनभित्रको खटपट मिलिसकेको हो ?

प्रचारप्रसारको कामलाई हामीले व्यवस्थित ढंगले अगाडि बढाएका छौं । समूह नै बनाएर हरेक दिन गाउँ र टोल डुल्ने तथा मतदातालाई भेट्ने काम भएको छ । उहाँहरु सबैले मेरो उम्मेदवारीलाई सकारात्मक रुपमा लिनुभएको छ । यस अभियानमा हामीले निर्वाचनको आचारसंहितालाई मध्यनजर राख्दै नेपाली नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तासहित हरेक जनताको घरदैलोमा पुगी जनताका समस्या पहिचान गर्ने, मत माग्ने र पूर्ण रुपमा वाचाकबोलका साथ समस्या समाधान गर्ने प्रतिबद्धतासहित अगाडि बढिरहेका छौं ।
गठबन्धनको कुरा गर्दा यो राष्ट्रिय पार्टीको बाध्यात्मक परिस्थितिको उपज हुन पुग्यो । हाम्रा अग्रज नेताहरुले निर्णय गरेपछि हामीले त्यसलाई मान्यौं । नेपाली कांग्रेसलाई गठबन्धन गर्नु जरुरी त थिएन तर बाध्यतावश र माथिको कारणले गर्दा यो सबै भएको हो । वडामा एक सदस्य सिट नेकपा माओवादी केन्द्रलाई प्रदान गर्ने शर्तमा यहाँ गठबन्धन भएको छ । नेकपा एकीकृत समाजवादीले त मेयरकै उम्मेदवार पाउनुभएको छ । गठबन्धनभित्र अहिले त्यस्तो केही खटपट छैन, सबै कुरा मिलिसकेको छ ।

तपाईंका भावी योजनाहरु के–कस्ता रहेका छन्?

विशेषतः वडा नम्बर १४ लाई पोखराका अन्य ३२ वटा वडाभन्दा नमुना वडा बनाउनका लागि दत्तचित्त भएर लागिपर्ने मेरो योजना छ । यसका लागि जनतासँग वचनबद्धता पनि प्रकट गर्दै हिँडेका छौं । शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी, सिँचाइलगायत पूर्वाधारका काममा मेरो ध्यान जानेछ । शिक्षालाई गुणस्तरीय बनाउने र प्रत्येक सरकारी विद्यालयमा प्राविधिक शिक्षा प्रदान गर्ने योजना पनि मैले समेटेको छु । सुकुमवासी र अव्यवस्थित जग्गाधनीको समस्या समाधानका लागि मैले पहल गर्ने छु । यसैगरी यस १४ नम्बर क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने मेरो योजना छ । पोखराको यो तल्लो बेल्ट भएका कारण र सवारी साधानका पहुँच पनि चाहेजस्तो सहज नभएका कारण एम्बुलेन्स सेवाले जनतालाई दुख परेको बेला राहत हुनेछ । युवाहरुको हकमा कम्तीमा पनि ५० जनालाई एक वर्षमा रोजगारी प्रदान गर्ने गरी मैले काम गर्नेछु । अरु थुप्रै विकास योजनाका कुराहरु हामीले हाम्रो घोषणापत्रमा पनि समटेका छौं । यसैगरी आफूले पाएको तलब भत्ता र सुविधाहरु राज्यबाट लिएर गरिब, निमुखा, असहाय र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गर्ने मेरो लक्ष्य छ । यी र यस्तै आधारले पनि मैले चुनाव जित्नेमा ढुक्क छु ।

आफ्नो उम्मेदवारीलाई कसरी हेर्नुभएको छ, तपाईंले चुनाव जित्ने आधार के छन्?

मैले विगत ३० वर्षदेखि यस वडामा विभिन्न सामाजिक र धार्मिक काममार्फत् सेवा गर्दै आएको छु । यस क्षेत्रको आर्थिक आर्थिक र शैक्षिक विकासमा समेत म उत्तिकै अग्रसर र सक्रिय भएर काम गर्दै आएको छु । यस क्षेत्रका विभिन्न क्लबहरु, मन्दिरहरु र आमा समूहका कार्यक्रमहरुमा पनि म पुग्ने र सहयोग गर्ने गरेको छु । यस क्षेत्रलाई विकृति र विसंगतिरहित बनाउन तथा युवा रोजगारीका लागि समेत मेरो योगदान छ । त्यसकारण मतदातालाई म के आह्वान गर्न चाहन्छु भने म पहिला यस वडामा झिनो मतले हारेको युवा हो । अहिले सबैले तिमी उठ्नुपर्छ भनेर हौसला प्रदान गरेपछि मैले उम्मेदवारी दिएको हुँ । पार्टीले पनि जुझारु युवा भनेर मलाई अगाडि बढाएको हो । मैले यहाँका जनता, मतदाता र मैले संघसंस्था, टोल, मन्दिर र आमा समूहमा गरेको काम, सहयोग र सहकार्य गरेको छु । त्यसैले मेरो योगदान नै मैले चुनाव जित्ने आधार हो । विपक्षी दलका साथीहरुले पनि मलाई प्रोत्साहन दिनुभएको छ, सदासयता प्रकट गर्नुभएको छ ।

विमानस्थल र एयरपोर्टका सन्दर्भमा १४ नम्बर वडाको विकास र त्यस क्षेत्रका जनताको हितका लागि निकै लाग्नुभयो, यो विषयलाई कसरी सम्झन चाहनुहुन्छ?

यस क्षेत्रका जनताको सहयोग नभएको भए अहिले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने अवस्था थिएन । सस्तो मुआब्जामा यस क्षेत्रका जग्गाधनीले थुप्रै जग्गा सरकारलाई दिएका छन् । यसैगरी ल्यान्डफिलसाइट निर्माणको क्रममा पनि यस क्षेत्रको सकारात्मक सहयोग नभएको भए काम अगाडि बढ्न सक्ने थिए । ल्यान्डफिलसाइटको निर्माण भइसकेपछि पनि यस क्षेत्रको विकासका लागि पहलकदमी लिएर मैले काम गरेको हुँ । एयरपोर्टको माध्यमबाट पनि विकासका लागि थुप्रै पहलहरु गरियो । धेरै धम्की र चुनौतीको सामना गरेर अगाडि बढेका हौं । तर हामीले राखेका मागहरु जस्ताको तस्तै अझै पूरा भएका छैनन् । हामीले माग राख्यौं तर सरकारीस्तरबाट पूर्ण रुपमा सुनुवाई भएन । पछिल्लोपटक यस क्षेत्रको सिँचाइको लागि मेरो अगुवाईमा पहल अगाडि बढाएपछि ३५ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । यो आयोजना सफल भएपछि यहाँको दक्षिणी भेकमा राम्रो सिँचाइको व्यवस्था हुनेछ ।

तपाईंको राजनीतिक र सामाजिक जीवन कसरी अगाडि बढ्यो?

म २०४६ सालबाट नेपाल विद्यार्थी संघको सदस्य भएर राजनीतिमा प्रवेश गरेको हुँ । पृथ्वीनारायण क्याम्पसको आन्दोलनमा पनि सहभागी भई मैले संघर्ष गरेको छु । २०४६ र २०६२/०६३ को आन्दोलनमा पनि मेरो सक्रिय सहभागिता रह्यो । पछिल्लो आन्दोलनमा म १५ दिन राजनीतिक बन्दीको रुपमा पनि रहन पुगेँ । पछि आएर पार्टीको तर्फबाट गण्डकी प्रदेशको अधिवेशन प्रतिनिधिको रुपमा चुनिएँ । नेपाली कांग्रेस १४ नम्बर वडाको सभापति भएर ३ कार्यकाल काम गरिसकेको छु । म पूर्व आमन्त्रित कास्की जिल्ला सदस्य र पूर्व क्षेत्रीय सदस्य बनेको छु । यस्तै स्थानीय शुभकामना बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष, माछापुच्छ«े सामुदायिक सेवा भवनका संस्थापक अध्यक्ष, काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसको उपाध्यक्ष र सामुदायिक प्रहरी सेवा कास्कीमा अध्यक्षका रुपमा म जोडिन पुगेको छु । यसैगरी स्थानीय वात्स्यायन वृद्धाश्रमको अध्यक्ष, सहरी स्वास्थ्य केन्द्र वडा १४ को उपाध्यक्ष, शुक्रराज बलभद्र माविको पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार, नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्य भएर पनि काम गरेको छु । लायन्स क्लब अफ पोखरा विन्ध्यवासिनी चौतारीको संस्थापक अध्यक्ष, स्थानीय मनोहर युवा क्लब र नवप्रतिभा सामुदायिक विकास प्रतिष्ठानमा सल्लाहकार पनि रहन पुगेको छु । म रोटरी क्लब अफ पोखरा फिस्टेलको संस्थापक सदस्य पनि हुँ । खुला दिशामुक्त अभियान वडा १४ को कार्यक्रम संयोजक भएर काम गरेबापत् स्थानीय विकासमन्त्रीबाट म पुरस्कृत पनि भएको थिएँ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width