पोखरामा थापा भर्सेज आचार्य

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७९
Pokhara mayor

पोखरा । पोखराको मेयरमा एमालेबाट कृष्ण थापा र गठबन्धनबाट धनराज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । लामो समय एमाले राजनीति गरेर पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका आचार्य आफ्नै पुरानो पार्टी एमालेका थापासँग प्रतिस्पर्धी गर्ने भएका छन् ।

थापा भइरहेको सांसद पद त्यागेर मेयरमा उम्मेदवार बनेका हुन् भने आचार्य व्यापार र राजनीतिलाई समानान्तर रुपमा चलाएका पात्र हुन् । दुवै जना पोखराको राजनीतिमा चिरपरिचित अनुहार हुन् । कमजोर पार्टी भए पनि बलियो गठबन्धनबाट उम्मेदवार बनेका आचार्यको जीत गठबन्धन दलहरुको सहयोगमा निर्भर छ भने एक्लै चुनाव लड्न कस्सिएको एमालेलाई अरुको भर पर्नुपर्ने छैन ।

त्यसो त थापालाई मेयरकै टिकट खोसेकोमा असहयोग हुने सम्भावना पनि छ । शनिबार दीपक पौडेललाई मेयरको टिकट दिइएको थियो । त्यसपछि उनीप्रति प्रहार गर्दै पुराना घटना सार्वजनिक गरिएपछि उनलाई हटाएर थापालाई टिकट दिइएको हो । एकाथरीले भैरहेको सांसद पद छोडेर महानगर ओगट्न आएको आरोप समेत लगाएका छन् । यी सबै चुनौती पार गर्न उनलाई झन् चुनौती छ । आचार्यलाई पनि सधैंको प्रतिस्पर्धी कांग्रेस र माओवादीका मतदाता फकाउन कम्ता सकस छैन । तथापि निर्वाचन आयोगले महानगरमा उम्मेदवार भएका पार्टीको मात्रै चुनाव चिन्ह दिने निर्णय गरेका कारण त्यसको फाइदा भने आचार्यले पाउने छन् । यसपालि राप्रपाका उम्मेदवारले समेत मत बढाउने आकलन गरिएको छ ।

२०७४ को स्थानीय चुनावमा एमाले उम्मेदवार मानबहादुर जिसीले कांग्रेसका स्व. रामजी कुवँरलाई १३ हजार ७ सय २ मतान्तरले पराजित गरेका थिए । फेरि पनि उपमेयर उम्मेदवार एमालेकी मञ्जुदेवी गुरुङले त्यसबेला कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार १ सय १० मतान्तरले पराजित गरेकी हुन् । तत्कालीन समयमा माओवादीले मेयरमा कांग्रेसलाई सहयोग गरेको थियो भने उपमेयरमा आ–आफ्नै उम्मेदवार थिए । माओवादीबाट उपमेयर उम्मेदवार गोमा ढकालले ८ हजार ७ सय ९६ मत पाएकी थिइन् । एमालेले मञ्जुलाई नै उपमेयर उठाएको छ भने गठबन्धनबाट कांग्रेसको भागमा परेको उपमेयरमा कोपिला रानाभाट उठेकी छिन् ।

अहिले पोखरामा मतदाता समेत बढेका छन् । अहिले २ लाख ७ हजार ७ सय १२ मतदाता छन् भने २०७४ मा १ लाख ६८ हजार ६७ मतदाता थिए । ५ वर्षको अवधिमा ३९ हजार ६ सय ४५ मतदाता थपिएका छन् ।

उम्मेदवारी दर्तापछि एमालेका थापाले पार्टीले निर्णय गरेपछि त्यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व हुने बताए । उनले आफूले देखेका पोखरा सपना पूरा गर्न उम्मेदवारी दिएको बताए । उपमेयर उम्मेदवार मञ्जुदेवीले पार्टीले निर्देशन दिएर मात्रै आफूले उम्मेदवारी दिएको बताएकी छिन् ।

गठबन्धनबाट मेयर उम्मेदवार आचार्यले आफूहरुले १५ देखि १८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरे । ‘यो मेरो मात्रै उम्मेदवारी होइन । साझा उम्मेदवारी हो,’ उनले भने । उपमेयर उम्मेदवार रानाभाट पोखरामा यसअघिका जनप्रतिनिधिले घोषणा अनुसार काम नगरेका कारण आफूहरुले जित्ने बताउँछिन् ।

कृष्ण थापाः सधैं अवसर

२०४९ को स्थानीय निर्वाचनमा तत्कालीन पोखरा नगरपालिका उपमेयरमा पराजित कृष्ण थापा २०५४ को तत्कालीन पोखरा उपमहानगरको मेयर निर्वाचित भए । उनै थापा २५ वर्षपछि पोखरा महानगरको मेयर उम्मेदवार बनेका छन् । उनले राजनीतिमा आफ्नो रेकर्डमात्रै राखेका छैनन्, संघीय संरचनापछि पहिलो पटक गठन भएको प्रदेशसभामाथि नै अविश्वास गर्दै तल्लो तहको सरकार नेतृत्व गर्न झरेका छन् ।

उनको जन्म २०१६ सालमा भएको हो । ०३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेको दाबी गर्ने उनले ०४१ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएको बताएका छन् । ०३९ मा चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सह–सचिव भएका थिए । ०४० मा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा ०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सदस्य निर्वाचित भए । ०४१ साल २९ भदौमा तत्कालीन नेकपा (माले)बाट कम्युनिस्ट पार्टीको सदस्यता लिएको उनले बताए । सोही वर्ष अनेरास्ववियु कास्कीको छैटौं अधिवेशनबाट अध्यक्ष चुनिएका उनी ०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजक भए भने २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल परे । २०४९ सालमा नेकपा एमाले कास्कीको सचिवालय सदस्य बनेका उनी ०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए । ०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा ०७० सालमा नवौं अधिवेशनबाट कास्की अध्यक्ष निर्वाचित भए ।

उनी २०५१ सालमा उपत्यका नगर विकास अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिति सदस्य, २०५५ देखि २०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्यका रुपमा कार्यरत थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क) बाट निर्वाचित उनी ०७० को संविधानसभा चुनावमा भने कास्की २ बाट पराजित भएका थिए । उनी एमालेबाट सधैंजसो अवसर पाइरहेका नेता हुन् ।

धनराज आचार्यः काम धेरै अवसर कम

मेयरका प्रतिस्पर्धी कृष्ण थापा १० वर्षको हुँदा जन्मिएका धनराज आचार्य जीवनभर एमालेको राजनीतिमा सक्रिय रहेर पार्टी विभाजनका बेला एकीकृत समाजवादी छिरे । भन्नेहरुले उनलाई मेयर बन्नकै लागि पार्टीमा विद्रोह गरेको पनि भन्छन् । तर आचार्य त्यसलाई स्वीकार्दैनन् । आचार्यलाई सत्ता गठबन्धनको साझा उम्मेदवार रुपमा अघि सारिएको छ । ५३ वर्षीय आचार्य २०४४ मा विद्यार्थी राजनीतिबाट सक्रिय भएका हुन् । ०४५ मा अनेरास्ववियुको कास्की जिल्ला सदस्य बनेका उनी संगठनको सचिव हुँदै अध्यक्षसम्म बने । ०४८ सालमा अनेरास्ववियुको गण्डकी अध्यक्ष चुनिएका आचार्य सोही समयमा केन्द्रीय सदस्य भएका थिए ।

२०४९ मा भएको चुनावमा आचार्य पिएन क्याम्पस स्ववियु कोषाध्यक्ष हुँदै २०५१ मा स्ववियु सभापति बने । सोही कार्यकालमा स्ववियु काउन्सिलको महासचिव बनेका उनी अनेरास्ववियुमा २०५० सालदेखि २०५४ सालसम्म पश्चिमाञ्चल प्रमुख र ०५४ देखि ०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य बनेर काम गरे । १४ वर्षको उमेरमै तत्कालीन नेकपा मालेको युवा लिगमा आवद्ध आचार्य ०४४ सालमा नेकपा मालेको सक्रिय दलमा लागे । उनी २०४५ सालमा जेल परे । ५२ सालमा एमाले कास्कीको जिल्ला कमिटी सदस्य निर्वाचित भए भने ०५४ मा पार्टी विभाजनका बेला नेकपा मालेतिर लागे । सोही बेला आचार्य मालेको जिल्ला सचिवालय सदस्य भएका थिए । ०६० सालमा नेकपा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमुख, ०६४ देखि ५ वर्षसम्म फ्रयाक्सन सचिव, ०६९ सालदेखि ०७६ सालसम्म नेपाल उद्योग व्यवसायी महासंघको स्थायी कमिटी सदस्य र २०७१ सालदेखि ४ वर्षसम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य रहेर काम गरे । ०७५ देखि ०७८ सम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य भएका उनी पार्टी विवादका क्रममा समानान्तर कमिटी गतिविधिमा सक्रिय रहे । ओलीको गढ कास्कीमा आचार्यले नै माधव नेपालको टेक्ने ठाउँ जोगाइदिएका थिए । उनले सामाजिक संस्था लायन्स क्लबको डिस्ट्रिक्ट गभर्नर भएर काम गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width