गोरखा भूकम्पको ७ वर्ष: बन्दैछन् भत्केका घर

धनबहादुर गुरुङ
वैशाख १२, २०७९
Bhukampa Photo

पोखरा । गोरखा भूकम्प गएको सोमबार ७ वर्ष पुग्यो । २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्पले सयौंको ज्यान लियो । हजारौं घाइते भए । लाखौं घर भत्कायो । झण्डै ३ करोड नेपालीको मनमा पीडा थप्यो । ७ वर्षसम्म पनि पीडामा छन् त्यो बेलाका भूकम्प प्रभावितहरु ।

उक्त भूकम्पले ८ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ घाइते भएका थिए । भूकम्पले करिब १० लाख निजी आवास, ७ हजार ५ सय ५३ विद्यालय, ४९ हजार ६ सय ८१ कक्षाकोठा, ५ सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी ४ सय १५ सरकारी भवन, विश्वसम्पदा क्षेत्रका १ सय ७० सम्पदासहित ९ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३ सय ८३ भवनमा क्षति पुगेको थियो । ३ हजार २ सय १२ खानेपानी संरचना, ५३ सडक र २ सय ९९ मानव बस्तीमा क्षति पुगेको तथ्यांक प्राधिकरणसँग छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकबाट दुरीका हिसाबले नजिक रहेको कास्कीमा अरु जिल्लामा जस्तो मानवीय क्षति त पुर्‍याएन् तर सयौंको संख्यामा घर भत्कायो । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका अनुसार ७ हजार ३ सय ९७ घर भत्किएका थिए । ती घर जिल्ला आयोजना कार्यान्वयन इकाइले पुनः निर्माणको काम गरिरहेको छ । सरकारले उपलब्ध गराउने ३ लाख तीन चरणमा पाउने गरी इकाइले काम गरिरहेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका सूचना अधिकारी रामकृष्ण गिरीले बताए । कास्कीको पोखरा महानगरमा ३ हजार ५ सय २२, अन्नपूर्ण गाउँपालिकामा ४ सय ६०, माछापुच्छ्रेमा ५ सय २४, मादीमा १ हजार ३ सय ५० र रुपमा १ हजार ५ सय ४१ घर भत्किएको इकाइले जनाएको छ ।

भूकम्पबाट कास्कीमा ७३९७ घर भत्किएका थिए

कास्कीमा १० प्रतिशतभन्दा बढीले पहिलो किस्ताको रकम नलिएको सूचना अधिकारी गिरीले जानकारी दिए । कास्कीमा अहिलेसम्म ६ हजार ४ सय ९६ जनाले पहिलो किस्ता बुझेका छन् । यस्तै ४ हजार ७ सय ७७ जनाले दोस्रो किस्ता र ४ हजार १ सय ७५ जनाले तेस्रो किस्ता रकम बुझेको उनले बताए ।

प्रदेशमा पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इकाइ मातहत कास्कीसहित स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्ला रहेका छन् । मनाङमा भूकम्पले घर नभत्काएका कारण त्यहाँ हेर्न नपरेको उनको भनाइ थियो । बाँकी ५ जिल्लाहरुमा काम चलिरहेको छ । पुनः निर्माण गरेका घरहरुको सरकारले दिने रकममध्ये पहिलो किस्तामा ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख दिने व्यवस्था रहेको छ ।

केन्द्रले बजेट पठाउन ढिलाइ गर्दा काम केही रुपमा ढिलासुस्ती भएको उनले बताए । पछिल्ला समय इन्जिनियर र सब इन्जिनियर कटौती गर्दा पनि समस्या भएको सूचना अधिकारी गिरीले जानकारी दिए । ‘इन्जिनियर र सव–इन्जिनियर भइरहेको छ, कार्यालय सहयोगी र कम्प्युटर अपरेटर कटाउँदा समस्या परेको छ,’ उनले भने, ‘बजेट पनि पुगेको छैन । कास्कीकै केसमा पनि बजेट नपुग भएपछि गोरखा र स्याङ्जाबाट मागेर काम गर्ने भनेर केन्द्रमा पठाएको छ ।’

गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो । यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width