जनतालाई घरमै पुगेर सेवा दिनेछु : सन्तोष बास्तोला

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७९
Santosh Bastola

युवा नेता एवं व्यवसायी सन्तोष बास्तोला नेपाली कांग्रेस पोखरा– १२ को वडाध्यक्षको उम्मेदवारको रुपमा दलको तर्फबाट टुंगो लगाइएका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकर्ताको रुपमा २०६३ सालबाट राजनीतिमा सक्रिय बास्तोला वडा १२ मा मात्र नभई पोखरा नगरकै लोकप्रिय नेताका रुपमा पनि चिनिन्छन् । स्थानीय चापापानीका बास्तोला हाल नेपाली कांग्रेस वडा १२ को सभापतिको रुपमा सक्रिय छन् । उनी अटोमोबाइल्स, पर्यटन, रियल स्टेट र कृषि क्षेत्रसँग समेत जोडिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा बास्तोलासँग आदर्श समाज प्रतिनिधिले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

सर्वप्रथमतः कसको प्रेरणाले राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभयो? यसबारे बताइदिनुस् ।
जिन्दगीमा सबैकुरा सोचेजस्तो नहुने रहेछ । सुरुमा राजनीतिमा लाग्छु भन्ने कुनै पूर्वयोजना नभए पनि १५ वर्षअघि म नेपाल विद्यार्थी संघसँग आबद्ध हुन पुगें । त्यसपछि पोखरा इन्जिनियरिङ कलेजमा इकाइ सचिवको रुपमा चयन भएर विद्यार्थी राजनीतिलाई अगाडि बढाएँ । दुई वर्ष सचिवको रुपमा काम गरेपछि २०६६ देखि २०६८ साल विचमा क्षेत्र नम्बर २ को नेविसंघ सभापतिको जिम्मेवारी पनि पूरा गरें । यही क्रममा पोखरा विश्वविद्यालय केन्द्रीय तदर्थ समिति उपसभापतिको भूमिकामा रहने अवसर प्राप्त भयो । यसबीचमा म आन्दोलन र संघर्षका कार्यक्रममा सक्रिय रुपमा लागि नै रहें । मैले प्रहरीको कुटाइ खाएको छु । जेल पनि परें । वाइसिएलको कुटाइ खाएर घाइते नै भएँ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिको रुपमा समेत काम गरें । १४ औं महाधिवेशनको क्रममा वडाको सभापतिमा चुनिएँ । प्रेरणा र सक्रियताको क्रम यसैगरी नै अगाडि बढ्न पुग्यो ।

प्रतिस्पर्धाका हिसाबले आसन्न चुनावलाई कसरी लिनुभएको छ ?
चुनाव एउटा लोकतान्त्रिक प्रक्रिया हो । यहाँ प्रतिस्पर्धा त हुन्छ नै तर पनि मैले यसलाई स्वाभाविक रुपमा लिएको छ । म आफैं पनि युवा भएका कारण यसलाई मैले प्लस प्वाइन्टका रुपमा बुझेको छु । वडा नम्बर १२ मा निकै पहिलादेखि नै कांग्रेसको विरासत सशक्त रहेको छ । विपक्षी दलहरुका थुप्रै क्रस भोट पनि मैले प्राप्त गर्ने देखेको छु । त्यो भन्दा पनि वडा १२ कांग्रेसको गढ नै हो । तर पनि सबैभन्दा पहिला मतदाता चेतनशील हुनुपर्छ । उम्मेदवारको योग्यता, विगत र वर्तमान पनि हेरिनुपर्छ । भविष्यमा गएर उ महानगर नै हाँक्न सक्ने क्षमताको छ, छैन, त्यो पनि हेर्न म मतदातालाई आह्वान गर्न चाहन्छु । अर्को कुरा म अविवाहित पनि हुँ । म विकास र जनताका लागि समय पनि दिन सक्छु । र, विजेता भएपछि म पोखराको सबैभन्दा कान्छो वडाध्यक्ष पनि हुनेछु । त्यसैगरी केन्द्रीय नेतृत्वगणसँग पनि मेरो राम्रो सम्बन्ध र सम्पर्क त छ नै ।

वडाध्यक्षको रुपमा उम्मेदवारी दिंदै हुनुहुन्छ, तपाईंका भावी योजना कस्ता रहने छन्?
सर्वप्रथम म के भन्न चाहन्छु भने वडा १२ मा तीन वटा राम्रा सरकारी विद्यालय छन् । अमरसिंह मावि, शीतलादेवी मावि र सरस्वती निमावि । यीमध्ये अघिल्ला दुई विद्यालयले नेपाल टपको पुरस्कार पनि पाएका हुन् । यी विद्यालय नेपालकै नमूना र अब्बलमध्ये मानिन्छन् तर सरस्वती चाहिं त्यसका लागि संघर्ष गर्दै छ । यसका लागि हाम्रो सहयोग रहनेछ । यो विद्यालयलाई बाल मन्दिर र सरकारी मन्टेसरीको रुपमा विकास गर्ने मेरो योजना छ । यसैगरी सरकारी विद्यालयहरुमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने योजना पनि मैले अगाडि बढाउनेछु । म अध्यक्षमा चुनिएपछि सरकारी बजेटमात्र कुरेर बस्ने छैन । स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाहरुसँग समन्वय गरेर बजेट आउने व्यवस्था मिलाउने छु । पूर्वाधारहरुको विकास, वातावरण संरक्षण र सरसफाईको उचित प्रबन्ध, सामाजिक विकास र गुणस्तरीय सेवा, सुलभ र सहज स्वास्थ्य सुविधा प्रदान जस्ता विषयलाई हामीले हाम्रो घोषणापत्रमा पनि समेटेका छौं । यसैगरी महिला, युवा, रोजगारी तथा उद्यमशीलता र कृषि तथा खाद्यान्नका पक्षलाई पनि घोषणापत्रमा ध्यान दिइएको छ ।

चुनावलाई जोडेर गठबन्धनको कुरा पनि आएको छ । तालमेल कसरी अगाडि बढ्दै छ, तपाईंको वडामा?
केन्द्रले भनेपछि गठबन्धन गर्ने निर्णयलाई मान्नै पर्‍यो तर यो वडामा गठबन्धन नहुने भएको छ । अवस्था र आवश्यकताको आधारमा गठबन्धन गर्ने भन्ने दलको निर्णयका कारण पनि यो बाध्यकारी रहेन, त्यसैले यो वडामा गठबन्धन हुन्न । तर पनि वडा नम्बर १२ का मतदाताले मलाई विश्वास गरेर भोट दिनु हुनेछ । युवा हुनु आफैंमा लोकप्रियताको कडी पनि हो । मेरो छबि स्वच्छ छ । र, मेरो उद्देश्य खासमा शून्य भ्रष्टाचार हो । चुनाव भनेपछि खर्च त हुन्छ नै । तर पनि मितव्ययिता अपनाएर म खर्च गर्नेछु । आवश्यक खर्च गरे पनि निर्वाचन आयोगले तोकेको सिमाभित्र रहेर नै खर्च व्यवस्थापन गर्नेछु चुनावमा पनि । अन्ततः अन्य दलका उम्मेदवा भन्दा मैले नै बढी भोट पाउने छु ।

वडा नम्बर १२ मा विकास कार्यलाई कसरी अघि बढाउनुहुन्छ?
स्थानीय तह पुनः संरचनाको क्रममा यो वडामा कुनै पनि वडा गाभिने अवस्था बनेन । त्यही भएर पनि यो वडा सानो छ । सानो क्षेत्रमा विकास गर्न पनि सहज हुन्छ नै । वडाका विकास कार्य र प्रदान गरिने सेवामा नयाँपन दिने मेरो सोच छ । छिटो र प्रविधिमैत्री सेवा मैले वडावासीलाई प्रदान गर्नेछु । जन्म र मृत्यु दर्ता, नागरिकताका सिफारिस हुन् वा अन्य वडाबाट प्रदान गरिने सेवामध्ये आधा भन्दा बढी सेवा म नागरिकको घरमै पुगेर दिने व्यवस्था मिलाउने छु । वृद्ध भत्ता, अपांग भत्ता हुन् वा एकल महिला भत्ता म घरमै पुगेर दिने व्यवस्था गर्ने छु । वडा नम्बर १२ पर्यटकीय आकर्षणको क्षेत्र पनि हो । यहाँ रहेको माटेपानी गुम्बा, भद्रकाली मन्दिर र शीतलादेवी मन्दिरलगायत अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा मेरो भूमिका रहने छ । यिनमा हरेक दिन सरसफाइ गर्ने र पर्यटकीय हिसाबले समेत प्रवद्र्धन गर्ने सोच मेरो छ । पोखरामा लामो समयदेखि लोक संस्कृतिको संरक्षणमा लागेको हरिश्चन्द्र नाट्य समूहको प्रयासलाई कदर गर्दै यसको संरक्षण र यसलाई थप सक्रिय बनाउन पहल पनि मैले गर्ने छु ।

Related News

सम्बन्धित समाचार

hero news full width