पोखरा । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले कलेज र विश्वविद्यालय राजनीतिको अखडा बन्न नहुने बताएका छन् ।
पोखरा १९, पुरन्चौरमा संचालित प्राकृतिक स्रोत व्यवस्थापन कलेजको छैटौं वार्षिकोत्सव कार्यक्रमको बिहीबार उद्घाटन गर्दै प्राडा रेग्मीले विश्वविद्यालय र कलेज स्वतन्त्र संस्था भएको भन्दै यस्ता संस्थामा कसैले राजनीति गर्न नहुने बताए । संचालक समिति वा अन्य कुनै हिसाबले कलेजमा प्रतिनिधित्व गर्दै हैकम जमाउने मनसाय राखिए यस्ता संस्थाहरु धरासायी हुने उनको भनाइ थियो ।
‘विश्वविद्यालय कसैको स्वार्थमा चल्दैन,’ उनले भने, ‘विश्वविद्यालय अध्ययन र अनुसन्धान गर्ने थलो हो, यसलाई स्वतन्त्रतापूर्वक चल्न दिउँ ।’ सो अवसरमा उनले प्राकृतिक स्रोत व्यवस्थापन कलेजसँग हाल रहेको जग्गा निकै कम भएको उनको भनाइ छ । अध्ययन र अनुसन्धानका लागि यस्तो कलेजका लागि निकै धेरै जग्गा आवश्यक पर्ने उनले सुनाए । हाल उक्त कलेजसँग ५५ रोपनी मात्र जग्गा रहेको जनाइएको छ ।
सबै जग्गा एकै ठाउँमा हुनुपर्छ भन्ने नभएको भन्दै उनले अन्य पालिकाहरुमा समेत सो कलेजले अनुसन्धानका लागि जग्गाको व्यवस्था गर्न सक्ने बताए । यस्तो कलेजका लागि कम्तीमा १ हजार रोपनी जग्गा आवश्यकता पर्ने उनले सुनाए । जग्गा थोरै हुँदा कलेज नै खारेज हुने डर बढेर जाने भनाइ उनको थियो । कलेजका लागि व्यक्तिभन्दा पनि सरकारले जग्गा र आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने भनाइ पनि उनले राखे ।
गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले प्राकृतिक स्रोत व्यवस्थापन कलेजले अब आफूलाई र यहाँ उत्पादित जनशक्ति कसरी प्रतिस्पर्धी बनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने सुझाव राखे । अनुसन्धान र अन्य अध्ययन अध्यापन कार्यका लागि समेत तीनै तहका सरकारले उक्त कलेजका लागि आवश्यक वजेट व्यवस्था गर्नुपर्ने भनाइ उनले राखे । पठनपाठन कार्य अध्ययन अनुसन्धानसँग जोड्नुपर्ने सुझाव राख्दै उनले कलेजप्रति पुरन्चौरवासीको अपनत्व अनुभव हुने वातावरण बनाउनुपर्ने बताए ।
कलेजका प्रिन्सिपल प्राध्यापक चन्द्रेश्वरप्रसाद श्रीवास्तवले कलेजका लागि जग्गा व्यवस्थापन सबैभन्दा चुनौतीको विषय भएको भनाइ राखे । स्थानीय रैकर भन्ने ठाउँमा रहेको ३१ रोपनीमा हाल पोखरा महानगरको आर्थिक सहयोगमा घेराबन्दीको काम अगाडि बढेको जानकारी दिंदै उनले त्यहाँ कर्मचारी र शिक्षकका लागि क्वार्टर तथा सम्भव भए बहुउद्देश्यीय भवन बनाउने योजना रहेको जानकारी दिए । यसका लागि सरकारले आगामी बजेटमा रकम व्यवस्था गर्ने आश्वासन पनि उनले सुनाए । प्रयोगशाला, पुस्तकालय, अनुसन्धान र फार्मका लागि जग्गा व्यवस्था गर्न बाँकी नै रहेको उनले बताए । हाल रहेको कलेज परिसरमा क्यान्टिन बनाउने काम अगाडि बढेको जानकारी दिंदै उनले कलेजका लागि अझै ९० प्रतिशत काम गर्न नै बाँकी रहेको भनाइ राखे ।
महायज्ञ लगाएर स्थानीय र अन्य दाताबाट संकलित रकमबाट २०७२ सालमा यो कलेज स्थापना गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायअन्तर्गत रहेको यो कलेज उक्त विश्वविद्यालयको पहिलो आंगिक कलेज हो । हालैमात्र कलेजले स्थायी दरबन्दीका ११ जना उपप्रध्यापकलाई भित्र्याएको छ । उनीहरुलाई कार्यक्रम अवसरमा स्वागत गरिएको थियो । ८ सेमेस्टरको पढाइ हुने यो कलेजमा २ सय ५० विद्यार्थी छन् । यिनीहरु अधिकांश स्थानीय कृषकको घरमा नै बसेर कलेज आउने जाने गर्छन् । कलेजमा छात्रावास निर्माण गर्नुपर्ने माग पनि कार्यक्रममा उठेको थियो । यहाँ स्नातक तहको मात्र अध्ययन अध्यापन हुने गरेको छ । यसअघि भारती भवन माविको भवनमा पढाइ हुँदै आएकोमा हालै मात्र नवनिर्मित भवनमा पठनपाठन सुरु गरिएको हो ।
वार्षिकोत्सव अवसरमा आयोजित विभिन्न प्रतियोगिता र खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण पनि गरियो । कार्यक्रममा ५ लाख रुपैयाँ राशि रहेको रेशमलाल रुक्मिणा गौतम अक्षयकोषअन्तर्गत विभिन्न शैक्षिक वर्षका विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको थियो । नाचगान र गीत संगीतका कार्यक्रमलाई पनि वार्षिकोत्सवमा समेटिएको थियो । कलेज स्थापना भएदेखि छैटौं वार्षिकोत्सव मनाउन पहिलोपटक यो वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।
कार्यक्रमको अवसरमा स्थानीयले कलेजका लागि सरकारले आवश्यक वजेट व्यवस्था गर्नुपर्ने, दाताको नाम शिलालेखमा उल्लेख गरी कलेज परिसरमा राखिनुपर्ने, रैकरमा भएको जग्गा सदुपयोग हुनुपर्ने र कलेजमा पुरन्चौरवासीको अपनत्व हुने वातावरण तयार गरिनुपर्ने जस्ता सुझाव राखेका थिए । यहाँ स्नातकोत्तर तहको पढाइ सुरु गर्नुपर्ने र भारती भवन माविमा गाभिएको शिवपुरी आधारभूत विद्यालयको जग्गा सदुपयोग हुनुपर्ने माग पनि स्थानीयको थियो । प्रिन्सिपल श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेल, प्राडा दुर्गा देवकोटा, वन विज्ञान अध्ययन संस्थान पोखराका सहायक क्याम्पस प्रमुख विष्णुप्रसाद देवकोटा, इञ्जिनियरिङ अध्ययन संस्थान लामाचौरका सुरेश तिमिल्सिना र अक्षयकोष स्थापना गर्ने परिवारका सदस्य उपेन्द्रराज गौतमले भनाइ राखेका थिए ।
यसैगरी, कृषि उच्च शिक्षा समन्वय तथा सहयोग समिति अध्यक्ष इमानराज पौडेल, स्थानीय टेकनाथ गौतम, एमाले वडा १९ का अध्यक्ष विष्णुप्रसाद गौतम, नेपाली कांग्रेस १९ वडाका सभापति विष्णु बास्तोला, नेकपा (माओवादी केन्द्र) का वडाध्यक्ष निर्मल बास्तोला, परिवर्तन टोल विकास संस्थाका राम गिरी, भारती भवन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रनाथ अधिकारी, सोही विद्यालयका पूर्व प्रअ गोविन्दप्रसाद काफ्ले पनि बोलेका थिए ।
कलेजका लेखा अधिकृत संजय ढुंगानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रशासन विभाग हेड असिस्टेन्ट दीपेन्द्र पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जनप्रियमा विएमटिएम स्पोर्टस् मिट
हाइकर्स क्लबको साधारणसभामा सम्मान
नेपोन गण्डकीमा सत्यराज
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नारी स्रष्टा एक ठाउँ
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१