पुम्दीकोटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनेछौं : चन्द्रकान्त बराल

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
Chandrakanta Baral 2

सामाजिक व्यक्तित्व चन्द्रकान्त बराल कास्कीको पुम्दीकोटमा हालै प्रतिष्ठापन गरिएको विशाल महादेव मूर्ति स्थापनाका प्रमुख सूत्रधार हुन् । व्यावसायिक व्यक्तित्वसमेत रहेका पोखरा २२ पुम्दीकोटका बासिन्दा बराल र उनको समूहले विभिन्न दाताबाट दान संकलन गरी यहाँ ५१ फिट अग्लो महादेव मूर्ति र अन्य संरचनाहरु निर्माण गरेको छ । यही वैशाख ४ गते उत्तर प्रदेशस्थित काशी सुमेरुका पीठाधीश्वर जगतगुरु शंकराचार्य नरेन्द्रनन्द सरस्वती महाराजबाट उक्त मूर्तिको उद्घाटन पनि गरिसकिएको छ । बराल अध्यक्ष रहेको पुम्दीकोट कोट विकास समिति र उनी नै अध्यक्ष रहेको मूल आयोजक समितिले सोही दिनदेखि यही वैशाख १२ गतेसम्म जारी रहने गरी यहाँ शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव २०७९ पनि सञ्चालन गरिरहेको छ । समृद्धि, विकास र रोजगारीको दीर्घकालीन लक्ष्यसहित आयोजित महोत्सवले पुम्दीभुम्दी क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेको छ । मूर्ति उद्घाटन र महायज्ञका सन्दर्भलाई जोडेर अध्यक्ष बरालसँग आदर्श समाज प्रतिनिधिले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ 

पुम्दीकोटमा विशाल महादेव मूर्ति स्थापना गर्ने सोच कसरी पलायो ?

सात वर्ष अघि नै महादेव मूर्ति र यहाँको धार्मिक तथा पर्यटकीय विकास गर्ने सोच पलाएको हो । कोटमा पहिला मेरा हजुरबुबाले बनाएको मन्दिर र भूमे थान थियो । यही स्थानमा जनताको पानी प्यास मेटाउन उहाँमा इनार खन्ने हिम्मत र विचार आयो अनि इनार खन्ने काम पनि भयो तर लामो समयसम्म खन्दा पनि पानी भने निस्केन । अन्ततः गाउँलेकै सहयोगमा गाग्रीमा पानी बोकाएर इनारमा राखी सन्तुष्टि मेटेको भन्ने गरिन्छ । सोही इनार भएको ठाउँमा अहिले विशाल घडा बनाइएको छ । हजुरबुबाले केही विकास गर्न चाहेको स्थानमा हामीले गाउँलेसँग सल्लाह र सहकार्य गरी बिस्तृत परियोजनाअन्तर्गत काम अगाडि बढाएका हौं । यसैगरी अहिलेका पाताले छाँगोभन्दा माथि पानीको रहमा पौडिने क्रममा सपनामा मलाई एउटा मन्दिर र हाल पुम्दीकोटमा प्रतिष्ठापन गरिएको शिवमूर्ति जस्तै स्वरुपका शिवको दर्शन प्राप्त भयो । रहमा ढुंगाको चेपबाट यस्तै शिव जलमा प्रकट हुनुभयो । उहाँले दर्शन दिएपछि मैले साथीहरु बोलाएँ तब उहाँ अलप हुनुभयो । त्यो बेला मैले जस्तो शिव देखेको थिए, त्यस्तै स्वरुपमा मूर्ति र मन्दिर बनाउने योजनाअनुसार आर्किटेक्ट इन्जिनियरको टिमलाई यस्तो बनाउने भनेर खाका सुनाएपछि उहाँहरुको टिमले १सय ८ शिवलिंगले घेरेको र गणेशले परिक्रमा गरेको डिजाइन पछ्याउँदै अहिलेको स्वरुप तयार पार्‍यो । स्काइल्यान्ड आर्किटेक्ट प्रालिका प्रवीण लघुको समूहले यो डिजाइन तयार गरेको हो । पछि ९ जनाको प्राविधिक समूह बनाइयो । त्यसको संयोजक माछापुच्छ्रे कन्सल्टेन्सीका स्थानीय आर्किटेक्ट इन्जिनियर बाबुराम बराललाई बनाइयो ।

अब पैसा कहाँबाट जुटाउने भन्ने समस्या प¥यो फेरि । २०७२ सालमा काठमाडौं जाने आउने क्रममा नेपाल सरकारका तत्कालीन सचिव लोकदर्शन रेग्मीकहाँ पुगियो । उहाँले तत्काल २५ लाख रुपैयाँ विनियोजन गरिदिनुभयो । त्यसलाई आधार बनाएर हामीले महायज्ञ सुरु गर्‍यौं । सुरुमा हामीसँग महायज्ञ गर्ने पैसा पनि थिएन । २०७३ साल फागुनमा आयोजित महायज्ञबाट ६ करोड २८ लाख रुपैयाँ नगद र २० रोपनी जग्गा प्राप्त भयो । तत्कालीन सभासदहरुले पनि हामीलाई २ करोड रुपैयाँ प्रदान गर्ने वचन दिनुभएको थियो । तर त्यो पैसा प्राप्त हुन सकेको छैन । महायज्ञमा प्राप्त दान रकमबाट हामीले काम सुरु गर्‍यौं । पोखरा नगरका तत्कालीन प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलबाट ३ करोड रुपैयाँ प्रदान गर्ने निर्णय भयो । त्यसपछि पर्यटन मन्त्रालयले पहिलो र दोस्रो वर्ष ८०/८० लाख रुपैयाँ २ पटक रकम सहयोग गरेको छ । त्यसपछि गण्डकी प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । संघ सरकारले विभिन्न समयमा हामीलाई ४ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ । प्रदेश सरकारले २ करोडभन्दा बढी सहयोग प्रदान गरेको छ । पुनः अहिले ५० लाख रुपैयाँ विनियोजन गरेअनुरुप काम पनि सम्पन्न भइसकेको छ । महायज्ञको चौथो दिनसम्म आइपुग्दा पैसाको क्राइसिस, मौसमको प्रतिकूलता र राजनीतिक चहलपहलले मानिस सोचेजति नआए पनि मानिसको उपस्थिति अत्यधिक छ । बच्चाहरुको एसइई र अन्य परीक्षा लगायत कारणले तमाम आमा समूहहरु पनि आउन सक्ने सहज अवस्था रहेन । अब पुनः भक्तजन र दानवीरहरुको आगमन बिस्तारै बढ्ने अपेक्षा हाम्रो छ ।

तपाईंहरुले यस क्षेत्रलाई भूमेश्वर कैलाश धामको रुपमा विकास गर्ने भन्दै चुनौतीपूर्ण काममा हात हाल्नुभएको छ, कस्तो महसुस हुँदै छ ?

यो ठाउँ अत्यन्त पिछडिएको ठाउँ हो । बजारसँग नजिक भएर पनि यो ठाउँलाई मैले कर्णालीको रुपमा हेरेको थिएँ । घर र बस्तीहरु हेर्दा पनि कर्णालीका जस्तै देखिन्छन् । अहिले एकाएक यहाँको परिस्थिति कस्तो बद्लिएर गयो भने जग्गाको मूल्य कहाँ पुग्यो,पुग्यो । १० लाखको जग्गा करोड पुग्यो । यहाँका बासिन्दाले पनि यहाँ उत्पादित कृषि उपजहरु आफ्नै गेटमा ल्याएर व्यापार गर्न सक्ने अवस्था बन्यो । सबै जना खुसी छन् । व्यापारकै कारण महायज्ञलाई समय छुट्याउन समेत उहाँहरुलाई हम्य परेको छ । अवस्था नै त्यस्तो पर्न गएको छ । बिस्तारै महायज्ञमा आउने र सहयोग गर्ने काम उहाँहरुले पक्कै गर्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु,सानो मन नगरीहालौं । अर्को कुरा के रह्यो भने पहिला यहाँका सबैले पैसा दान गरेका कारण पनि अहिले उहाँहरुलाई सहयोग प्रदान गर्न सक्ने परिस्थिति नभएको हुन सक्छ । त्यही कारण पनि बाहिरबाट यहाँ आएर सहयोग र दान प्रदान गर्नेको संख्या अत्यधिक छ । सायद आजबाट स्थानीयले पनि थप सहयोगका हात बढाउनु हुनेछ । धनाढ्य, उद्योगपति, व्यवसायी र संघसंस्था सबैले यहाँ सहयोग गरेको अवस्था छ । शिवमा यस्तो प्रकारको शक्ति रहेछ, जुन शक्तिको कारणले यो भएको हो । शिवको दर्शन मैले नपाएको भए मैले जति नै दौडधुप गरे पनि यस्तो अवस्था आउँथ्यो जस्तो लाग्दैन । शिवकै शक्तिको कारणले अहिले हामीले जुन काम गरिएको छ, त्यो सम्भव भएको हो । मानिस यति धेरै शिवभक्ति रहेछन् भन्ने अनुभूति गरेका थिएनौं, अहिले अनुभूत गरेका छौं ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणबाट हेर्दा यस स्थलले कस्तो महत्व बोकेको पाउनुहुन्छ ?

यो हामीले परापूर्व कालदेखि मानी आएको एउटा सांस्कृतिक धरोहर र शक्तिपीठ हो । कास्कीका राजाहरु यहाँ आएर शक्ति लिएर नुवाकोट युद्ध गर्न गएको किंवदन्ती छ । यहाँ यस्तो शक्ति छ कि पानी नपरेको अवस्थामा यहाँ आएर पूजा गर्दा पानी आउने र असिना तथा दैवी विपत्ति पनि रोक्न सक्ने । अझ रोचक के छ भने हामीले यहाँ पूजा नगरेसम्म चट्याङको भय थियो तर यो स्थल धामको रुपमा तयार भएपछि चट्याङको डर हटेर गएको छ । अहिले पहिलाको जस्तो अवस्था छैन । यहाँको सिंगो गाउँ क्षेत्र नै सुरक्षित भएको हामीले महसुस गरेका छौं । त्यस्तै ‘धार्मिक पर्यटन प्रवद्र्धनका लागि पुम्दीकोट, विशाल महादेव मूर्ति निर्माण गर्ने हाम्रो अठोट’ भन्ने हाम्रो नारा भनौं वा हाम्रो संकल्प करिब सफलतातिर गएको छ । अर्को नारा के थियो भने,‘समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुको लागि निकास ।’ यो नारा पनि सिद्ध भएको छ । हाम्रा कतिपय दाइभाइहरु विदेश गएर अर्काको भाँडा माँझेर जागिर खाने अवस्था थियो तर अहिले यहाँ एउटा घरले ५ जनासम्मलाई रोजगारी दिएको अवस्था पनि छ । यो स्थल र यहाँको विकासले विदेश जानेक्रम पनि थप रोकिने हाम्रो अपेक्षा छ । यहाँ अहिले ४०/५० होटल तथा रेष्टुराँ छन् । अरु सयौं आउने तयारीमा पनि छन् ।

१० लाखको जग्गा करोड पुग्यो । स्थानीयबाट उत्पादित कृषि उपज आफ्नै गेटमा ल्याएर व्यापार गर्न सक्ने अवस्था बन्यो

पर्यटन प्रवद्र्धनका लागि मनोरञ्जनात्मक गतिविधि, खेल क्षेत्रको विकास, केबलकार र मोनोरेलको विकास गर्ने योजना पनि छ । यो स्थल यस्तो एउटा हब बन्नेछ कि पोखरा आउने पर्यटकलाई कसरी पोखरा राख्न सकिन्छ भन्ने हाम्रो लक्ष्य छ । पर्यटकहरु पुम्दी नै बस्नुपर्छ भन्ने पनि छैन । समग्रमा पर्यटकको बसाइ अवधि लम्ब्याउने हाम्रो सोच हो । शिवको इतिहासलाई समेटेर एक घन्टाको भिडियो हेर्ने व्यवस्था पनि हामीले यहाँ गर्ने छौं । यसले भारतीय र आन्तरिक पर्यटक बढाउनसमेत मद्दत पुग्नेछ । हामीले राजनीतिक दलका नेता र प्रधानमन्त्रीसम्म ल्याएर मूर्तिको उद्घाटन गर्ने कार्यक्रम थियो । चुनावका कारण यो सम्भव भएन । तर पनि काशी पीठाधीशबाट मूर्तिको उद्घाटन गरायौं, एउटा भारतीयबाट अरु भारतीय पर्यटक थपिने सम्भावना यसले बढाएको छ । शिलान्यास गर्दा पनि पशुपतिका मुल भट्ट गणेश भट्ट ल्याएर हामीले शिलान्यास गरेका थियौं ।

यहाँ निर्माण भएका संरचना र थप बन्ने संरचनाबारे बताइदिनुस् न ।

विशाल महादेव मूर्तिबाहेक ३१ फिट अग्लो विशाल डमरु, गंगापोखरी, १०८ स्वर्गद्वारी सिँढी, १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग, शिवताण्डव नृत्य हल र ध्यान केन्द्र निर्माण भइसकेका छन् । यसैगरी, मोनोरेलबाट गणेश परिक्रमा, फूलमाला बिक्रीका लागि ४१ सटर, कम्पाउन्ड वाल, २ सय मिटर पहुँच मार्ग र प्रशासकीय भवन पनि निर्माण गरिएको छ । त्यस्तै बिस्तारित परियोजनाअन्तर्गत अब नजिकैको अर्को डाँडोलाई सुमेरु पर्वत घोषणा गरी कुमार र पार्वतीको मूर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म विद्युुतीय कुर्सीकार निर्माण गर्ने, हरियाली पार्क स्थापना र पार्किङस्थलको व्यवस्था गर्ने जस्ता योजना पनि रहेका छन् । यिनै कामहरु सम्पन्न गर्न अहिलेको महोत्सव सञ्चालन गरिएको हो । यसै सन्दर्भमा के जोड्न चाहन्छु भने हाल गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनबाट प्राप्त ६४ लाख रुपैयाँ आर्थिक सहयोगमा यहाँ १ टावर निर्माणको सुरुआत पनि गरिएको थियो । तर पछि मन्त्रीज्यूहरुको सल्लाह र सुझावमा टावर नभत्काई त्यही स्थलमा डमरुको निर्माण गरियो । डमरु निर्माण गर्ने हाम्रो गुरुयोजनामा पनि थियो । सिंगो परियोजनाका लागि सुरुमा २० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यति रकम खर्च भइकन पनि केही ऋण लागेको छ । पछिल्लो क्रममा परियोजना बिस्तारित भई कूल ४० करोड रुपैयाँका काम गर्ने योजना रहेको छ ।

अन्त्यमा भक्तजन र दाताहरुलाई केही आव्हान गर्न चाहनुहुन्छ कि ?

सम्पूर्ण भक्तजनहरु, पोखरा निवासी, विशेष गरी पोखरा र सम्पूर्ण पर्यटन व्यवसायीहरु यहाँ आएर यो महान् कार्यलाई सफल तुल्याउन म आह्वान गर्दछु । नेपालभरिका भक्तजनलाई पनि यहाँ आई कार्यक्रममा सहभागी हुन अपील गर्दछु । पोखरा बरालफिडबाट महायज्ञस्थलसम्म आउनजान निशुल्क बसको पनि व्यवस्था हामीले गरेका छौं । यो अवसरको सदुपयोग गर्न पनि म अनुरोध गर्दछु । महोत्सव र महायज्ञ सफल बनाउन दान तथा विभिन्न सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दाता र महानुभावप्रति पनि धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु । साथै, महायज्ञको प्रारम्भमै १ करोड ५० लाख दान गरेर हामीलाई उत्साहित गर्नुहुने आदरणीय बुबा वरिष्ठ उद्योगपति समाजसेवी मुरलीधर रुंगटाप्रति हार्दिक सम्मान र आभार प्रकट गर्न चाहन्छु । महादेवको सिंगो मूर्ति नै दान गर्नुभएका व्यवसायी कमल जैनको योगदान अविस्मरणीय रहेको छ । ५५ लाख रुपैयाँ दान गर्नुहुने डाक्टर एवं इन्जिनियर विष्णुप्रसाद बराललगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउनु हुने सबैप्रति आभार व्यक्त गर्दछु । पूर्व पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा उहाँको टिमले यस क्षेत्रको विकासमा खेलेको अहम् भूमिका पनि यो अवसरमा म स्मरण गर्न चाहन्छु ।

Related News

सम्बन्धित समाचार

  • कटुस पनि किनेर खान्छन् नेपाली

    रासस असार १७, २०७९
    काठमाडौं । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।…
  • न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा

    धनबहादुर गुरुङ असार १७, २०७९
    पोखरा । हरिनास गाउँपालिका उपप्रमुख इन्द्रकुमारी थापा रानालाई सुझबुझपूर्वक इन्साफ दिन्छु भन्ने दृढ विश्वास छ । पालिकाको न्यायिक समिति निवेदन…
  • समितिको बैठकमा सभापतिमात्रै !

    आदर्श समाज सम्वाददाता असार १७, २०७९
    पोखरा । गण्डकीको अर्थ तथा विकास समितिले अर्थमन्त्री समेतको उपस्थितिमा संसदको गतिरोध अन्त्यका लागि बिहीबार छलफल आयोजना गरेको थियो ।…
  • सुनिन छाडे असारे भाका

    धनबहादुर गुरुङ असार १७, २०७९
    पोखरा । ‘असार मासको छिपछिपे हिलो, छिः मलाई घीन लायो जेठी र कान्छी नगरे झगडा कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई…
  • संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    डा.जगन्नाथ रेग्मी पोखरा–१ भीमकालीपाटनमा रहेको विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य हुन् । यो विद्यापीठले झण्डै तीन दशकदेखि संस्कृत विषय केन्द्रित गरी…

hero news full width