पर्यटन प्रवद्र्धनका लागि एड्भेन्चर टुरिजम मार्ट

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
gopi bahadur bhatrai

पोखरा । आगामी जेठ महिनामा पोखरामा एड्भेन्चर ट्राभल मार्ट हुने भएको छ । मार्टले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यवसायीहरुले लिएका छन् । कोभिड– १९ बाट थला परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न यस्तो कार्यक्रम सहयोगी हुने उनीहरुको भनाइ छ ।

आउँदो जेठ १३, १४ र १५ गते मार्ट आयोजना गर्ने गरी तयारी अगाडि बढाइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले जानकारी दिए । पोखरा र सिंगो नेपाल सुरक्षित भन्ने सन्देश दिँदै कोभिड मत्थर हुँदै जाँदा यहाँ विभिन्न गतिविधिहरु पनि हुन थाले भन्ने छाप पर्ने गरी गरी मार्ट आयोजना हुन लागेको अध्यक्ष भट्टराईले बताए । ‘पोखरा पर्यटकीय मात्र नभई गतिविधिको पनि राजधानी हो भन्ने सन्देश पनि हामी दिन चाहन्छौं,’ उनले भने ।

व्यवसायीहरुले नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देललाई संयोजक चयन गरी मार्टको आन्तरिक तयारी अगाडि बढाएका छन् । सरकारी स्तरबाट मार्टको कार्यविधि पास गर्न भने बाँकी नै रहेको बताइएको छ । मार्टका संयोजक सिग्देलले मार्टलाई सफल पार्ने गरी तयारीहरु अगाडि बढाइएको जानकारी दिए ।

पोखरामा बृहत रुपमा मार्ट आयोजना गर्ने विषयमा नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयबीच आपसी द्वन्द्व भएकोमा भने पोखराका व्यवसायीले उति निको मानेका छैनन् । फेवा नयाँ वर्ष महोत्सव उद्घाटन गर्न केही दिन अघि पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मार्ट आयोजना गर्न मन्त्रालयले सघाउने बताएका थिए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषय आगामी नीति तथा कार्यक्रममा समेटिने पनि उनले सो अवसरमा आश्वासन दिएका थिए ।

परिषद्का महासचिव एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्ष रामचन्द्र शर्माले अन्य ठाउँमा हुने र पोखरामा आयोजना हुने मार्ट फरक हुने बताए । पोखरा पर्यटकीय सहरसमेत भएका कारण देशविदेशमा यहाँबाट प्रवाह हुने सकारात्मक सन्देशले सिंगो नेपाल प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ । विदेशी व्लगर र ट्राभल राइटरहरु ल्याएर मार्टमा सहभागी गराउन सके प्रवद्र्धन कार्य थप प्रभावकारी हुने सुझाव उनको छ ।

पोखराका व्यवसायीले लामो समयदेखि फेवा किनारस्थित रत्न मन्दिर सर्वसाधरणका लागि खोल्न माग गर्दै आएकोमा सोही स्थलमा यो मार्ट आयोजना गर्ने सोचमा व्यवसायीहरु छन् । मन्त्री आलेले समेत वैशाख महिनाभित्रमा उक्त पार्क खोल्न सघाउने बताएका थिए । मार्टमा मुख्य गरी नेपाल र विदेशका टुर र ट्राभल अपरेटरहरुले आफ्ना सेवासुविधाका बारेमा जानकारी लिनेदिने काम गर्नेछन् । आफ्ना पर्यटकीय प्याकेजहरुबारे जानकारी तथा तिनको किनबेचसमेत कार्यक्रममा हुने परिषद्ले जानकारी दिएको छ ।

गण्डकी प्रदेश र सिंगो नेपालका पर्यटकीय सेवा सुविधाबारेमा समेत जानकारी लिनेदिने क्रम चल्नेछ । मार्टमा भाग लिन भारत, चीन, कम्बोडिया, भियतनाम, सिंगापुरलगायत अन्य देशबाट समेत गरी कूल २ सय व्यवसायी आउने अनुमान आयोजकको छ । यसअघि २०७६ को जेठ १८ गते परिषद् र नेपाल पर्यटन बोर्डले बिटुबी नाम दिएर एउटा ट्राभल मार्ट आयोजना गरेका थिए । यसैगरी गत मंसिर २ गते पनि टुरिजम नेटवर्किङ नाम दिएर परिषद्ले १ ट्राभल मार्ट आयोजना गरेको थियो ।
पर्यटनका हिसाबले पोखरालाई अन्नपूर्ण र धौलागिरि पदयात्रा क्षेत्र

प्रवेशद्वारको रुपमा समेत बुझ्ने गरिएको छ । यहाँ आउने ६० प्रतिशत पर्यटक पदयात्रामा जाने बताइन्छ । पदयात्रा र हिमाल आरोहण आफैंमा साहसिक गतिविधि हुन् । पोखरा र वरपर पछिल्ला वर्षहरुमा जिपफ्लायर, बन्जी जम्पिङ, स्काई वाक, हनि हन्टिङ, अग्ला र लामा पुलहरुको अवलोकनलगायत सेवा सुविधा थपिंदा यहाँ आयोजना हुने एड्भेन्चर मार्टको सान्दर्भिकता थप बढ्ने विश्वास गर्न सकिन्छ । प्याराग्लाइडिङले त पोखरालाई २ दशकभन्दा बढी समयदेखि चिनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • रचनाले नचाइन् पोखरेली

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • चिसापानी एकता समाजको भेटघाट

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ…
  • महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । करारमुक्त महानगर बनाउने निर्णय गरेको पोखराले शुक्रबारदेखि ५१ जना स्वास्थ्यतर्फका कर्मचारीलाई हाजिरी गर्न रोकेको छ । उनीहरुको १…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…

hero news full width