पोखराका मेयरमा १८, उपमेयरमा १० आकांक्षी

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७९
Pokhara mayor

पोखरा । नेपाली कांग्रेसबाट पोखराको मेयर बन्न १८ जनाले आकांक्षा देखाएका छन् । जसमा बहालवाला मन्त्रीदेखि पार्टीका जिल्ला सभापतिसम्म छन् । प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले मन्त्री पद छोडेरै पनि मेयर बन्न दौडधुप गरिरहेका छन् । यस्तै, पार्टी सभापति किशोरदत्त बराल पनि मेयरको रेसमा छन् ।

यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङले पनि मेयरमा नाम टिपाएकी छिन् । मेयरमा महिलाबाट २ जनाको आवेदन परेको छ । कांग्रेस गण्डकीकी सहमहामन्त्री कोपिला रानाभाटसमेत मेयरको आकांक्षीको रूपमा अघि सरेकी छिन् ।

यस्तै, नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्य, जिल्ला सभापतिमा पराजित सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, बाबुराम गिरी, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले नाम टिपाएका कांग्रेस पोखराका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

नेपाल सरकारका पूर्व सचिव, गण्डकीका बहालवाला मन्त्री, जिल्ला सभापति र पोखराकै बहालवाला उपमेयरलगायत रेसमा छन्

उनका अनुसार उपमेयरमा भने १० जनाको नाम परेको छ । उपमेयरमा आवेदन दिने अधिकांश महिला छन् । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, मीलन थापा र चिनु गुरुङले नाम दर्ता गरे भने पुरुषबाट दीपक महत, शिव केसी र गोविन्द नेपालीको नाम दर्ता भएको छ । कांग्रेस पोखराले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार स्वेच्छिक शुल्क लिएको थियो ।

मन्त्रीको मेयर इच्छा

विन्दुकुमार थापा अहिले गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री हुन् । उनी पोखराको मेयरका आकांक्षी छन् । थापाको राजीनामा भए गण्डकी सरकार टिक्दैन । सरकार ढालेर मेयरमा उनी आउने सम्भावना करिब छैन । त्यसो त एमालेबाट पनि २ सांसदले मेयर ताकेका छन् । कृष्णबहादुर थापा र राजीव पहारी मेयरको रेसमा छन् । उनीहरुमध्ये एकले टिकट पाए थापालाई पनि ढाडस मिल्छ । एमालेका पनि प्रदेश सांसदलाई छेक्ने प्रयास भइरहेको छ । कांग्रेसमा पनि थापाको आकांक्षालाई धेरैले आलोचना गरेका छन् ।

मादीमा १२ आकांक्षी

गाउँपालिका अध्यक्षमा १२ जनाले आकांक्षा देखाएका छन् भने उपाध्यक्षमा नाम नै संकलन गरिएको छैन । जिल्ला सचिव भानुभक्त ढकाल, जिल्ला सदस्य अर्जुन गुरुङ, पूर्व क्षेत्रीय सभापति बृजमान गुरुङ, क्षेत्रीय सचिव ओमप्रकाश गुरुङ, पालिका सभापतिमा चुनाव हारेका देवीजंग गुरुङ, सरोज केसी, सागर गुरुङ, कृष्णचन्द्र बराल, यमनाथ सापकोटा, लेखबहादुर गुरुङ, प्रेमबहादुर तामाङ र सूर्यमोहन सापकोटाले प्रमुख पदका लागि उम्मेदवारी दिएका हुन् ।

कांग्रेसले शनिबार नै नाम टिपाउन आह्वान गरेको थियो । दिउँसो ३ बजेसम्मको समय दिइएकोमा १२ जनाले मात्रै नाम टिपाएका सभापति यमबहादुर गुरुङले जानकारी दिए । यसअघि माओवादीले अध्यक्ष दाबी गरे पनि कांग्रेसले छोड्न नसक्ने बताएपछि उपाध्यक्ष छोडेर अध्यक्षमात्रै नाम सिफारिस गर्न लागिएको हो । स्रोतकाअनुसार मादीको उपाध्यक्ष माओवादीलाई दिने बुझिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width