ग्रामीण पर्यटनको स्मार्ट घलेगाउँ ‘सुखी गाउँ’ घोषणा

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
Ghale gaus

लमजुङ । लमजुङको ग्रामीण पर्यटनको स्मार्ट घलेगाउँ ‘सुखी गाउँ’ घोषणा भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरेका हुन् ।

सो अबसरमा पूर्वप्रधानमन्त्री ओलीले घलेगाउँ स्मृति स्तम्भको समेत उद्घाटन गरे । उनले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना घलेगाउँबाट शुरु भएको पनि बताए । घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले ‘नेपालको पहिलो सुखी गाउँ’ घोषणा गर्न पाउँदा खुसी व्यक्त गरेका थिए ।

चुनावको प्रचार अभियानमा जुटेका ओलीले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दावी गरे । एमालेप्रति जनताको आकर्षण बढ्दै गएकोले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने उनको जिकिर थियो । उनले भने, ‘एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको हो ।’

घोषणासभा कार्यक्रममा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका एमालेका केन्द्रीय, प्रदेश र जिल्लास्तरका नेताहरूको सहभागिता थियो ।

आधारभूत मापदण्ड पूरा भएको हुँदा घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिएको हो । २०५६ सालबाट घलेगाउँमा होमस्टे (घरबास कार्यक्रम)अवधारणा शुरु भएको हो । स्याङ्जाको सिरुवारीको सिको गर्दै घलेगाउँले होमस्टेको थानली गरेको हो । त्यसपछिका वर्षमा लमजुङमा होमस्टेको लहर चलेको छ र ऐले जिल्लामा झण्डै दुई दर्जन होमस्टे गाउँ बनिसकेका छन् । उक्त गाउँमा परम्परागत गुरुङ संग्रहालय समेत छ । २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त गुरुङ संग्रहालय उद्घाटन गरेकी थिइन ।

घलेगाउँ दुईपटक सार्क राष्ट्रको नमुना गाउँ घोषणा भइसकेको छ । पहिलो पटक २०६५ मा पहिलोपटक दक्षिण एसियाली मुलुकको नमुना पर्यटकीय गाउँ ‘सार्क भिलेज’ घोषित भएको हो । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर तत्कालीन गाविस अध्यक्ष प्रेमबहादुर घलेले छलफल चलाए । उनले गाउँमा पाहुना बोलाउन थाले । काठमाडौं, पोखराका सरकारी कर्मचारी घलेगाउँ आउन थाले । २०५७ वैशाख २३ मा प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर होमस्टे स्थापना गरे । गाउँको प्रचारप्रसार गर्न २०५८ वैशाखमा घलेगाउँ पहिलो पटक कला महोत्सव आयोजना गरिएको थियो ।

क्व्होलासोंथर गाउँपालिका– ३ मा पर्ने घलेगाउँमा १ सय ३० घर छन् । यो गाउँमा सुरुका दिनमा १० घरबाट घरबास कार्यक्रमको अवधारणा अनुरुप होमस्टे सञ्चालनमा ल्याइएको थियो । गाउँमा अहिले दलित समुदायका दुई घरसहित घले र गुरुङका गरी ४२ घरमा होमस्टे सञ्चालित छन् । विदेश गएकासमेत घलेगाउँ आएर होमस्टे चलाउन थालेका छन् । घलेगाउँमा यो अवधिमा सवा २ लाख बढी पर्यटकले अवलोकन गरेको तथ्यांक यहाँको होमस्टे व्यवस्थापन समितिसँग रहेको पर्यटन समितिका सविच उमलबहादुर विकले बताए । उनका अनुसार अन्य होमस्टे सञ्चालन नगरेकाहरूले हस्तकलाका सामग्री समेत तयार पार्छन् । होमस्टेसँगै घलेगाउँका बासिन्दाको आम्दानीका स्रोत थपिँदै गएको छ ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनको पहलमा २०६४ फागुनमा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ (सार्क भिलेज) घोषणा भयो । घलेगाउँ २०७० मा पनि सार्क भिलेज बन्न सफल भयो । आधारभूत सुविधा पुगेपछि घलेगाउँलाई २०७६ मंसिर १७ मा स्मार्ट भिलेजको घोषणा गरियो । उक्त घोषणासँगै गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत ग¥यो ।

हरेक होमस्टेको आम्दानी मासिक सरदर ५० हजार रुपैयाँ भन्दा बढी रहेको क्व्होलासोंथर गाउँपालिका अध्यक्षसमेत रहेका पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए । उनका अनुसार घलेगाउँका होमस्टेले मात्रै वर्षमा करिब २ करोड रुपैयाँ बढी भित्राउँछन । उनले भने, ‘पर्यटनबाटै आर्थिक समृद्धि सम्भव भन्ने घलेगाउँबासीले सिद्ध गरिसकेका छन् ।’

घलेगाउँमा परम्परागत संस्कृति घाँटु, सोरठी, सेर्गालगायत नाच गाउँका प्रमुख सांस्कृतिक विशेषता हुन् । पाहुनालाई स्वागत गर्न गाइने र नाचिने ‘यालमी’ यस ठाउँकै मौलिकता बोकेको प्राचीन गीत हो । करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँकारुपमा प्रख्यात बनाएको छ । घलेगाउँमा गुरुङ जातिको कर्मकाण्डीय वेद तथा शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ निर्माण गरिएको छ ।

त्यसबाहेक घलेगाउँबाट गोर्खा पार्क, भ्युटावर, स्वर्गभूमि रंगशाला, बास्केटबल कोर्ट, उत्तरकन्या मन्दिर, चियाबारीलगायतका फराकिलो ठाउँले पर्यटकलाई आकर्षित गर्ने गरिआएको छ ।

समुद्री सतहदेखि २१ सय मिटर उचाइको घलेगाउँमा प्रकृति, संस्कृति र रहनसहन देखाएर, गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थालेका हुन् । लमजुङ हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण, डा. हर्क हिमाल, हिमालचुली, मनास्लु, गणेश हिमालले घलेगाउँलाई रमणीय तुल्याएको छ ।

लमजुङ सदरमुकाम बेसीसहरबाट ६ घण्टा हिँड्नुपर्ने घलेगाउँ अहिले डेढ घण्टामै जिपहरूको यात्राबाट पुग्न सकिन्छ । काठमाडौ– पोखरा सडकको तनहुँको डुम्रे बजारबाट उत्तरतर्फ लागेको पछि लमजुङको जिल्ला सदरमुकाम बेसीसहरसम्म पुगिन्छ । बेसीसहरबाट घलेगाउँ पुग्न बेसीसहरबाट २४ किलोमिटरको यात्रा पार गर्नुपर्छ । संघीय राजधानीबाट सडक दुरीको १७२ किलोमिटर छ । प्रदेश राजधानी पोखराबाट बेसीसहर ११० किलोमिटरको दूरीमा छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width