एयरपोर्ट बन्यो अहिले, उडान हुने कहिले ?

दिन तोक्ने बेलामा ल्यान्डफिल साइटको खोजी

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
airpor photo

पोखरा । चिनिया विदेश मन्त्रीको नेपाल भ्रमणका बेला उनले २ साता अगाडि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरे । यसबाट २ थरी चर्चा सुरु भए । एकातिर विमानस्थलको निर्माण सकियो, अब सञ्चालन हुने भयो । अर्कोतिर विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइट अन्त नसारेसम्म कसरी सञ्चालन गर्ने होला भनेर ।

निर्माणको काम अन्तिम चरणमा पुगिरहँदा विमानस्थल कहिले सञ्चालन हुन्छ भन्ने टुंगो छैन । स्थानीय तह अर्थात् पोखरा महानगरले ल्यान्डफिल साइट खोज्नुपर्ने भए पनि निधोमा पुग्न सकेको छैन । चिनिया सरकारको झण्डै ३० अर्ब ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थलको ९५ प्रतिशत काम पूरा भइसकेको छ । ल्यान्डफिल साइट निर्माण र पूर्वतिरको रिठेपानीडाँडा कटानमा ढिलाइ भइरहेको छ ।

डाँडाको कटान त अब केही महिनामा सकिन्छ तर ल्यान्डफिल साइट कहाँ बनाउने हो र अहिले भइरहेको स्थानबाट कहिले सार्ने हो भन्ने नै ठूलो अन्योल हो । यसै बारेमा बुद्ध एयरले आइतबार पोखरामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा सरोकारवालासँग छलफल गरेको छ । अबको १५ दिनमा ल्यान्डफिल साइटको जग्गा पहिचान गरी प्रतिवेदन पेस गर्ने सहमति भएको छ । यसका लागि प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेल संयोजकत्वको समितिले काम गर्नेछ ।

मुख्यमन्त्री पोखरेलले अहिलेको ल्यान्डफिल साइट एअरपोर्टको नजिकै रहेको र यसको विकल्प नखोजेसम्म उडान सुरु गर्न नसकिने भएकाले यसतर्फ तुरुन्तै काम थाल्न पोखरा महानगरपालिकालाई निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले रिठेपानी डाँडाको कटान र पोखराको सुन्दरतामा समेत विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए । उनले भने, ‘सब काम पोखरा महानगरले मात्र गर्नुपर्छ भन्ने होइन, हामी संघ सरकारसँग पनि समन्वय गर्छौं तर यसको जिम्मेवारी त महानगरकै हो नि ।’ बरु यसमा प्रदेश सरकारले के सहयोग गर्नुपर्छ त्यसका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मुलुककै गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले प्रदेशप्रदेशबीच मात्र होइन, पोखरासँग बाहिरी मुलुकको सिधा सम्पर्क गराउने भएकाले अब यहाँको भौतिक संरचना पनि त्यहीअनुसार बनाउनका लागि निजी क्षेत्रबाट समेत पहल हुनुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘विदेशका विमानस्थलबाट सिधै पोखरामा पर्यटक अवतरण गर्दा पर्यटकहरु सिधै यहाँ नै आउँछन् । जसका कारण पोखरामा आएर उनीहरुले खर्च गर्ने क्रम बढ्छ । पहिला काठमाडौं भएर पोखरा आउँदा पर्यटकको पकेट आधाआधी खाली भइसक्ने अवस्था थियो ।

उडान सञ्चालनका लागि प्रदेश सरकारले अब नागरिक उड्डयन प्राधिकरणसँग मिलेर नेपालमा उडान भरिरहेका हवाई कम्पनीका प्रमुखहरुलाई पोखरा नै बोलाएर छलफल गर्दै छ । काँहुडाँडादेखिको पानीको भल विमानस्थलमा पुग्छ । त्यसलाई बाइबास बनाएर विजयपुर खोलामा झार्नका लागि संघ सरकारले काम थालिसकेको छ । बाढीको कटान रोक्न ३४ करोडको योजना पनि सुरु भइसकेको उनले बताए ।

विमानस्थल सञ्चालनका लागि गण्डकी सरकारले गठन गरेको सहजीकरण समितिका संयोजक प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले छिटोभन्दा छिटो विमानस्थल सञ्चालन होस् भनेर नै समितिले पहल गर्दै आएको बताए । कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेकामा पुस ११ र फागुन १८ मा बैठक बसेको मन्त्री कँडेलले बताए ।

विमानस्थलको ९५ प्रतिशत काम सकिँदा ल्यान्डफिल साइट निर्माण र रिठेपानीडाँडा कटानमा ढिलाइ भइरहेको छ

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पोखरा विमानस्थलले सबैको सरोकारको विषय भए पनि यसको सञ्चालनमा ठूलो चुनौती रहेको भनाइ राखिन् । उनले भनिन्, ‘कार्यान्वयनमा जान धेरै चुनौती छन् । यसमा को कसरी जिम्मेवार हुने भन्ने नै विषय मुख्य कुरा हो ।’ उनले यसका बारेमा बेलैमै छलफल हुनुपर्ने भए पनि ढिला भइसकको भन्दै अब ३ तहकै सरकार यसमा संवेदनशील हुँदै टाइमलाइन बनाएर अगाडि जानुपर्ने भनाइ राखिन् ।

बुद्ध एअरका कार्यकारी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गण्डकी प्रदेशको सबै बासिन्दाको समानुपातिक आर्थिक उन्नतिको नवनिर्मित ढोका रहेको बताउँछन् । ल्यान्डफिल साइटकै कारण विमानस्थल सञ्चालन नहुने भएकाले सरोकारवालासँग छलफल गरिएको बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जिम्मा पाएका पोखरा विमानस्थलका निर्देशक विक्रम गौतमले एअरपोर्ट प्रमाणीकरणका लागि आशयपत्र पठाइसकिएको बताए । यति ठूलो लगानीको एअरपोर्ट जति छिटो सञ्चालन गर्न सक्यो, त्यति फाइदा हुने भएकाले यसका लागि माहोल बनाइदिन ३ तहकै सरकारसँग आग्रह गरिएको उनको भनाइ थियो । पहिला समस्याको पहिचान गरी कसले समाधान गर्ने हो चेकलिस्ट नै तयार पारेर पठाइएको भन्दै सबैभन्दा पहिला ल्यान्डफिल साइट नै स्थानान्तरण हुनुपर्ने बताए । उनले भने, ‘समस्याहरुका बारेमा प्रधिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति, सम्बन्धित मन्त्री, प्रदेश र स्थानीय तहलाई पनि यसबारेमा जानकारी गराइसकेका छौं ।’
उनकाअनुसार ल्यान्डफिल साइटमा चराहरुको आवतजावत बढी नै हुन्छ । चराको आनीबानी सुधार्न कम्तीमा पनि ६ महिना लाग्छ । अहिलेकै अवस्थामा विमानस्थलमा चराको सबैभन्दा बढी खतरा छ । यसका लागि तत्कालै ल्यान्डफिल साइट स्थानान्तरण गर्नुपर्छ । ‘यसका लागि चराविज्ञसँग बसेर यसका बारेमा जानकारी लिएका छौं, विजयपुर खोलाको सरसफाइ पनि आवश्यक छ, यसका अतिरिक्त विमानस्थल आफैंले पनि प्राविधिक काम गर्छ, गुलेली, आवाज, रिफ्लेक्टरको व्यवस्था गर्छ,’ निर्देशक गौतमले भने ।

पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले ल्यान्डफिल साइटका लागि जग्गाको खोजी भइरहे पनि स्थानीयको विरोधका कारण अगाडि बढाउन नसकिएको भनाइ राखे । स्थानको पहिचान हुनेबित्तिकै प्रशासनको सहयोगमा जग्गा अधिग्रहणको काम अगाडि बढ्ने बताए । उनले भने, ‘डम्पिङ साइट भन्ने बित्तिकै स्थानीय तर्सिने अवस्था आएको छ, यो अवस्थाको अन्त्य हुनुपर्छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रक्रिया पुगेर आएको २ घन्टाभित्रै जग्गा अधिग्रहण र क्षतिपूर्तिको काम थाल्ने प्रतिबद्धता जनाए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले पोखरा रैथाने चराको बासस्थान, आगन्तुक चरा पनि यहाँ प्रशस्त आउने भएकाले समस्या रहेको बताए । स्थान पहिचानका लागि टास्क फोर्स बनाएर अगाडि बढ्न उनले सुझाव दिए ।

कार्यक्रममा नाट्टा गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देल, टान अध्यक्ष सुशील पौडेललगायतले यति ठूलो सहर हामीले अहिलेसम्म फोहोर व्यवस्थापनका बारेमा केही गर्न सकेका छैनौं, यो ठूलो बिडम्बना रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width