कास्कीमा गठबन्धनः खुलेन मन, केन्द्रको अलमल

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७८
gathabandhan

फाइल फोटो

पोखरा । केन्द्रकै निर्देशनअनुसार पालिका हुँदै वडासम्म गठबन्धनमा रहेका सत्तारुढ दलहरुबीच अझै अन्तरघुलन हुन सकेको छैन । गठबन्धनका दलहरुले आ–आफ्नै दाबी गर्दा अलमल भएको छ । केन्द्रीय नेतृत्वको निर्णयमा ढिलाइ हुँदा तल्लो तहमा उम्मेदवार सिफारिसदेखि चुनावी गतिविधि सञ्चालनमा अलमल छ । गठबन्धनभित्रको दल माओवादीले कास्कीमा २ वटा पालिका प्रमुखमा दाबी गरेको छ भने एमालेबाट फुटेको एकीकृत समाजवादीले पनि दुईवटै पालिकाको प्रमुख खोजिरहेको छ । गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस भने कुनै पनि पालिकाको प्रमुख नछोड्ने अडानमा छ । पाएसम्म जनता समाजवादी पार्टीले पनि पालिका प्रमुखको दाउ हेरेको छ ।

जसपाले कास्कीको अन्नपूर्ण गाउँपालिकासहित केही वडामा उम्मेदवार टुंग्याएको छ । अन्नपूर्णमा २१ वर्षका नवराज पौडेललाई अध्यक्षमा अघि सारेको छ । त्यसबाहेक अन्नपूर्णका ८ वडामा पनि अध्यक्षका उम्मेदवार सिफारिस भइसकेको नेत्र चपाईंले जानकारी दिए । तर गठबन्धन कायम हुँदा अन्नपूर्णको उपाध्यक्ष अन्तिम बटमलाइनमा जसपा छ । उपाध्यक्षसहित २ वडाध्यक्ष र ८ सदस्यमा गठबन्धनसँग मिल्न सकिने जसपाको आन्तरिक तयारी छ । ‘हामीले जिल्लाका कुनै पनि पालिकामा प्रमुख लिने ठाउँ छैन । कुनै पालिकाको उपाध्यक्ष लिएर सबैजसो वडामा सहभागी हुने हिसाबले जान्छौं,’ एक नेताले भने, ‘प्रभावका हिसाबले अन्नपूर्णमा हाम्रो दाबी छ ।’ नेता चपाईं पार्टीको तर्फबाट गाउँ घुम्ने र उम्मेदवार चिनाउने गरी काममा व्यस्त छन् । उनले भने, ‘अन्नपूर्णको उपाध्यक्ष लिने र सबैजसो वडामा प्रतिनिधित्व हुने गरी गठबन्धन हुन्छ । हामी त्यसकै पक्षमा छौं ।’

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा प्रमुख पद ताकेको छ । जिल्ला अध्यक्ष धनराज आचार्य आफैंले पोखराको मेयरमा दाबी गरिरहेका छन् । पार्टीमा पूराना नेता श्रीनाथ बरालसमेत मेयरको दाबेदार हुन् । तर, पोखराको मेयर कुन पार्टीले पाउने भन्ने टुंगो केन्द्रले गर्छ । ६ वटा महानगरमध्ये पोखरामा एकीकृत समाजवादीको बढी जोड छ । कांग्रेसले भरतपुर नछोडे पोखरामा माओवादीले पनि माग्न सक्छ ।

बैठकमा सबै पार्टीले आफ्नै अडान दोहोर्‍याउँछन्, सहमति जुट्दैन र बिना निष्कर्ष टुंगिन्छ

माओवादीको जिल्ला स्तरीय नेताहरूले मादी गाउँपालिकाको प्रमुखमा पनि दाबी गरेका छन् । २०७४ सालको चुनावमा कांग्रेससँग मिलेर मादीका ३ वडामा अध्यक्ष जितेको माओवादीले ५ पालिकामध्ये मादीमा आफ्नो दाबी रहने बताएको हो । तर स्थानीय नेताहरू भने उपाध्यक्ष आफूले लिएर कांग्रेसलाई अध्यक्ष दिन राजी भएका छन् । ‘जनाधार हेर्दा गठबन्धनभित्र कांग्रेस पहिलो पार्टी हो । उसलाई अध्यक्ष दिँदा हाम्रो थोरै सहयोगले चुनाव जित्छ,’ वडाध्यक्ष समेत रहेका नेता लालबहादुर गुरुङ भन्छन्, ‘उपाध्यक्षमा हामीले लियौं भने कांग्रेसका साथीहरूले पनि खुसी भएर भोट हाल्छन् । यसरी सहमति गर्नुपर्छ । मैले नेतृत्वलाई त्यही सुझाव दिएको छु ।’

२०७४ सालको स्थानीय चुनावमा अन्नपूर्णको अध्यक्षबाहेक सबै प्रमुख र उपप्रमुख एमालेले जितेको हो । ७२ वडामध्ये २४ वडा कांग्रेसले, ३ वडा माओवादी र बाँकी एमालेले जितेको हो । कांग्रेसबाट हालसम्म १० वटा वडामा उम्मेदवार सर्वसम्मत भइसकेका जिल्ला सचिव भानु ढकालले जानकारी दिए । उनकाअनुसार माथिल्लो तहमा सिफारिस नगरे पनि अधिकांश वडामा उम्मेदवारको टुंगो लागिसकेको छ । उनले प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेदवारको टुंगो लगाउने बित्तिकै आफूहरुले नाम सार्वजनिक गर्ने बताए । ‘लगभग सबै तयार छ । केही वडामा सर्वसम्मत भएका छन् । केहीमा हुने चरणमा छ,’ उनले भने, ‘अहिले एमालेको उम्मेदवारको अवस्था हेरेर गठबन्धनसँग पनि छलफल गरेपछि उम्मेदवार टुंगो लाग्छ ।’ पोखरा १, १०, १८, २७ लगायत वडामा उम्मेदवारको करिब टुंगो लागेको बताइएको छ ।

कांग्रेसले कुनै पनि हालतमा पालिकाको प्रमुख पद नछोड्ने गरी गठबन्धनसँग छलफल भइरहेको उनले बताए । अहिले दैनिकजसो गठबन्धनको बैठक चलिरहेको छ । बैठकमा सबै पार्टीले आफ्नै अडान दोहो¥याउँछन्, सहमति जुट्दैन र बिना निष्कर्ष टुंगिन्छ । २०७४ सालको मतका आधारमा सबै पालिकामा कांग्रेस दोस्रो रहेको भन्दै प्रमुख पद आफूले लिएर अरुमा गठबन्धन दललाई मिलाउने प्रयास कांग्रेसबाट भइरहेको सचिव ढकालले बताए । एकीकृत समाजवादी भने एमालेले जितेका ठाउँमा प्रमुख दाबी आफ्नो रहने बताउँछ । पोखरा महानगरकै मेयरमा कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेकोले मेयर नछोड्ने बताएको छ भने माओवादीले अघिल्लो चुनावको पैंचो फिर्ता मागेको छ ।

२०७४ को चुनावमा कांग्रेसले भरतपुरमा माओवादीलाई सघाएपछि यता कांग्रेसलाई माओवादीले सहयोग गरेको थियो । विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् । एकीकृत समाजवादीले भने एमाले फुटाएको भाग आफूलाई चाहिने बताएको छ । यहाँ कांग्रेसबाट यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङसहित नेताहरु बाबुराम आचार्य, निवर्तमान सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, प्रदेश मन्त्री बिन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, व्यवसायी गणेशबहादुर भट्टराई, पत्रकारिताबाट राजनीतिमा मोडिएका पत्रकार गंगाधर पराजुली लगायतको नाम चर्चामा छ । माओवादीबाट विश्वप्रकाश लामिछाने, बखान गुरुङ, दीपक कोइराला लगायतको चर्चा छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width