माओवादी पोखरामा चरम अन्तरविरोध

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७८

पोखरा । चरम अन्तरद्वन्द्वबाट गुज्रिरहेको माओवादी केन्द्रको पोखरा महानगर कमिटीमा पुनः निर्वाचन भएको छ । यसअघि सर्वसम्मत चयन गरिएको कमिटीलाई निर्वाचित कमिटीले हटाएको छ । पार्टीमा समानान्तर गतिविधि बढ्न थालेपछि शुक्रबार पुनः मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो ।

गत फागुन १९ गते हरिनारायण गिरी (विज्ञान) को अध्यक्षतामा कमिटी सर्वसम्मत रुपमा चयन गरिएको थियो । उनलाई अर्को पक्षका नेताहरुले स्वीकारेनन् । तत्कालीन कमिटी उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुगांना र हर्कमान बिक चयन भएका थिए । सचिवमा जनक पराजुली, सहसचिवमा विमला पहारी तथा कोषाध्यक्षमा सूर्यराज तिवारीलाई सर्वसम्मत चयन गरिएको थियो ।

जिल्लामा माओवादीको दुई पक्षीय नेताहरुको जुंगाको लँडाइँको चेपुवामा कार्यकर्ताहरु परेका छन् । गिरी जिल्लामा दीपक कोइराला पक्षका हुन् भने उनको कमिटीलाई जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) को समूहले नस्वीकारेको हो । कोइराला पोखरा महानगरको इन्चार्ज हुन् भने दुवै जना केन्द्रीय सदस्य हुन् । करणको समूहले असहमति जनाएपछि समानान्तर बैठक बोलाउने सम्मका गतिविधि भएका थिए । शुक्रबार पुरानो कमिटीलाई रिप्लेस गर्दै नयाँ कमिटी मतदानबाट निर्वाचित भएको हो । विज्ञानकै अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएका हुन् । गिरीले ३९ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी शिवजी लामिछानेले ३७ मत मात्रै पाए । लामिछाने यसअघि पनि अध्यक्षको दाबेदार थिए ।

विज्ञानको अध्यक्षतामा कमिटी गठन गरिएकोमा महिना नपुग्दै फेरि निर्वाचन

सर्वसम्मत नाममा आफूलाई उम्मेदवारी नै हाल्न नदिइएको भन्दै उनले आफ्नो समूहको छुट्टै बैठक बोलाउन थालेका थिए । अहिलेको कमिटी उपाध्यक्षमा भानुभक्त अधिकारी र हर्कमान बिक दोहोरिएका छन् भने पुष्प अधिकारीको ठाउँमा विमला पहारी निर्वाचित भएकी छिन् । विमला यसअघि सहसचिवमा निर्वाचित भएकी थिइन् । उपाध्यक्षमा हर्कमानले ४५, भानुभक्तले ४३ र विमलाले ४२ मत पाए । निकटतम प्रतिस्पर्धी लक्ष्मीप्रसाद सुवेदीले २७ र हरि भण्डारीले ४० मत पाए । सचिवमा सचिव जनक पराजुली नै दोहोरिएका छन् । पराजुलीले ४० मत पाउँदा प्रतिस्पर्धी विपीन आचार्यले ३६ भोट पाए । यस्तै सहसचिवमा ईश्वरी लम्साल तथा कोषाध्यक्षमा बुद्धिमाया गुरुङलाई निर्वाचित गरिएको छ ।

लम्सालले ४५ मत ल्याएका हुन् भने प्रतिस्पर्धी सविन जिसीको ३१ मत छ । कोषाध्यक्षमा गुरुङको ३९ मत आउँदा निकटतम प्रतिस्पर्धी सूर्यप्रसाद तिवारीको ३४ भोट आएको निर्वाचन अधिकृत बेदनाथ भण्डारीले जानकारी दिए । योसँगै अहिलेको अन्तरविरोध टुंगिएको नेताहरुको दाबी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width