अभि सुवेदी र ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा सम्मान’

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
prativa 2078d

पोखरा । प्राडा अभि सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट सम्मानित भएका छन् । प्रतिभा मावि, नदीपुरले बर्सेनि प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रमअन्तर्गत यस वर्ष उनलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’ बाट सम्मान गरिएको हो ।
यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८’ बाट सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, सञ्चालक डा. राजेन्द्र चापागाईं, प्राचार्य विश्वगोपाल पराजुली, निर्देशक किरण सापकोटालगायतले प्रा.डा.सुवेदी र क्रिकेटर मल्ललाई जनही एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरे ।
प्राडा सुवेदीले झण्डै ६० वर्षदेखि कला र साहित्य तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको विद्यालयले जनाएको छ । नेपाली तथा अंग्रेजी भाषामा कविता रचना, साहित्य समीक्षा र नाटक लेखन गर्दै आएका छन् ।
क्रिकेट खेलमा पुर्‍याएको विशिष्ट योगदानको कदर स्वरुप मल्ललाई सम्मान गरिएको विद्यालयले जनाएको छ । यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरी जनही १ लाख राशीसहित सम्मान गरिसकिएको छ । एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ।
विद्यालयले विद्यालय छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान–२०७८’बाट सम्मान गरेको छ । ‘वल्र्ड इकोनोमिक कप’ मा काश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्न सम्मान–२०७८’ बाट सम्मान गरेको हो । यस्तै, नेशनल इकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनौट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ ।
सो अवसरमा प्राडा सुवेदीले ५३ वर्ष प्राध्यापन गरिरहेको उल्लेख गर्दै हाल ७५ वर्षको उमेरमा पनि पढाइरहेको बताए ।
शिक्षण पेशामा रहँदा खुसी पनि मिलेको र चित्त पनि दुखेको उनले सुनाए । ‘शिक्षक नदी किनारको माझी जस्तै हुन् । तर्छन्, जान्छन्, माझी उहीं रहन्छन् । शिक्षा र समय नदी हो, बगिरहन्छ । मेरो जिन्दगीभरको काममा खुशी छु, गर्व पनि छ । र, चित्त दुखेको पनि छ,’ उनले भने, ‘मैले पढाएका विद्यार्थीहरु सबै पदमा पुगे । देशका प्रधानमन्त्री पनि भए, शिक्षा मन्त्री, विदेश मन्त्रीहरु भए । चित्त दुखेको यहाँ हो । मैले जे अपेक्षा गरें । त्यो भएन ।’
अर्का सम्मानित व्यक्तित्व क्रिकेटर मल्लले प्रतिभा माविको सम्मानले आफूलाई झनै राम्रो गर्न प्रेरित गरेको बताए । ‘मलाई गरिएको सम्मान सम्पूर्ण खेलाडीलाई गरिएको सम्मानका रूपमा लिएको छु । यसले मलाई प्रेरणा मिलेको छ,’ मल्लले भने, ‘कोही पढाइमा, कोही खेलकुदमा अब्बल छन्, सबै आफ्नै ठाउँमा अगाडि हुनुहुन्छ र प्रतिभामा तपाईहरु हुनुहुन्छ भविष्यको लागि सेफ ह्याण्डमा हुनुहुन्छ ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गण्डकी प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित भएको बताए । पौडेलले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मानलाई निरन्तरता दिने बताए ।
विद्यालयका निर्देशक किरण सापकोटाले २०४३ मा स्थापित प्रतिभाले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण पोखराको उच्चा शिक्षामा प्रमुख आकर्षणको गन्तव्य बनेको बताए । साईन्स, म्यानेजमेन्ट र होटल मेनेजमेन्ट गरी १२ सय ४९ जना विद्यार्थी प्रतिभामा रहनु यसको पुष्टिको आधार रहेको उल्लेख गरे ।
कार्यक्रममा २०७६ मा कक्षा १२ मा व्यवस्थापन संकायतर्फ नेपाल टपर सुरती पाण्डे, साइन्सतर्फ उत्कृष्ट हुने सराहना श्रेष्ठ, २०७७ मा साइन्सतर्फ उत्कृष्ट विद्यार्थी प्रमेश्वर अधिकारी, म्यानेजमेन्ट तर्फ एञ्जिला बडगामी, २०७८ मा साइन्सतर्फ सुप्रिया मल्ल र म्यानेजमेन्ट तर्फ सिमरन थापालाई प्रतिभा रत्न अवार्डसहित जनही २५ हजारले पुरस्कृत गरिएको थियो । सुरतीलाई यसअघि नै डेढ लाख नगदसहित सम्मान गरिसकिएको छ ।
विद्यालयबाट अध्ययन पूरा गरी कृषि, बन, नर्सिङ, फार्मेसी, बीबीए, सीए, ईञ्जिनियरिङ, एमबीबीएस पढाईमा पूर्ण छात्रवृत्ति प्राप्त गरेको दर्जनौं विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कक्षा १२ का विद्यार्थी अस्मित भुषाललाई प्रतिभा कविको उपाधिसहित पुरस्कृत गरिएको छ ।
विद्यालयको वार्षिक परीक्षा तथा वर्षभरी भएका विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । च्याम्पियन सेक्शन घोषित भएकालाई शिल्ड प्रदान गरिएको थियो । हिसान कास्कीले आयोजना गरेको खेलकुदमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । साथै, विद्यार्थीहरुले कविता, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थी विपीन सुवेदीले स्वागत र शिक्षक जीवनसागर भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयले त्रिदिवसीय कार्यक्रम गरी पुरस्कार वितरण गरेको हो । पहिलो दिन बिहीबार कक्षा नर्सरीदेखि १ सम्मका विद्यार्थी र दोस्रो दिन शुक्रबार कक्षा २ देखि १० सम्मका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width