प्रदेशमा गठबन्धनको बैठक : एउटै घोषणापत्र बनाउने, मिलेर चुनाव लड्ने

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
gathabandhan

फाइल फोटो

पोखरा । ५ दलीय सत्ता गठबन्धनको केन्द्रीय समिति बैठकले निर्देशन दिएसँगै प्रदेश र जिल्ला तहमा गठबन्धनको बैठक तीव्र पारिएको छ । गण्डकी प्रदेशसहित ११ वटै जिल्लामा गठबन्धनका दलहरुको संयुक्त बैठक बसेको हो । शुक्रबार गण्डकी प्रदेशको कांग्रेस कार्यालयमा कास्की र प्रदेश स्तरका नेताहरुबीच छलफल भएको छ । केन्द्रीय समितिले स्थानीय आवश्यताका आधारमा गठबन्धनमा बाटो खोलिदिएपछि त्यसको तयारी प्रदेश स्तरबाट सुरु भएको छ ।
सबै पार्टीका नेताहरु आसन्न निर्वाचनमा मिलेर जान राजी भएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुसुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोतीप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल उपस्थित थिए ।
त्यसबाहेक सबै पार्टीका शीर्ष नेतासमेत सहभागी भएका कांग्रेस सभापति शर्माले जानकारी दिए । ‘यो प्रारम्भिक भेटघाट हो । केन्द्रीय सर्कुलर अनुसारको बैठक भएकोले औपचारिक रुपमा भेटघाट मात्रै भयो,’ उनले भने, ‘अब निरन्तर भेटघाट र छलफल हुन्छ । आगामी बैठकहरुमा तालमेलको मोडालिटी बन्छ ।’ बैठकले स्थानीय निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै ५ दलको संयुक्त घोषणापत्र जारी गर्ने समझदारी गरेको छ । गठबन्धनका दलहरुबीच एउटै विचार प्रवाह गर्न सहमति भएको छ ।

अब निरन्तर भेटघाट र छलफल हुन्छ । आगामी बैठकहरुमा तालमेलको मोडालिटी बन्छ

यस्तै गठबन्धनका गण्डकी प्रदेश भित्र दलहरुले आ–आफ्नो पार्टीको वर्तमान सांगठनिक अवस्थाको यथार्थ विवरण मातहतका संगठनबाट संकलन गरी केन्द्रमा पठाइने र त्यसको विस्तृत विवरण आगामी बैठकमा पेस गर्ने निर्णय भएको बैठकमा सहभागी दलहरुले बताएका छन् । माओवादी अध्यक्ष गुरुङले अहिले साधारण छलफलमात्रै भएको बताइन् । ‘गठबन्धनको सन्देश दिने काम भएको छ । यसले सकारात्मक सञ्चार तल्लो स्तरसम्म पुग्छ,’ उनले भनिन्, ‘बाँकी एजेन्डामा बिस्तारै प्रवेश हुन्छ ।’ गठबन्धनको आगामी बैठक आगामी चैत २२ गते बस्ने बताइएको छ ।
केन्द्रकै निर्णयअनुसार गठबन्धन अघि बढ्ने उनले बताइन् । गण्डकीमा महानगरसहित ८५ स्थानीय तह छन् । कुन पालिका कसले नेतृत्व गर्ने भन्ने छलफल भएको छैन । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले ४४ स्थानीय तहको प्रमुख जितेको थियो । ३४ वटामा एमाले, ५ वटामा माओवादी केन्द्र, एउटामा जनमोर्चा र अर्को एउटा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । मतको धरातल, अघिल्लो निर्वाचनको नतिजालगायत आधारमा अहिलेको गठबन्धनमा भागबण्डा गरिने नेताहरुले बताएका छन् ।
‘कुन पद कसलाई भन्ने होइन । एउटा बास्केट बनाएर जित्ने उम्मेदवारलाई अघि सार्नुपर्छ,’ एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा महानगर इन्चार्ज श्रीनाथ बरालले भने, ‘यहाँ थोरै थोरै मतले हार जीत भएका छन् । त्यसैले सबै पार्टीको योगदान राम्रो हुन्छ ।’ एमालेको विभाजनपछि एकीकृत समाजवादीमा एउटा मात्रै पालिकाकी उपाध्यक्ष लागेकी छिन् । आँधीखोला गाउँपालिका उपाध्यक्षले एकीकृत समाजवादी रोजेकी हुन् । अरु पालिकामा वडाध्यक्ष र वडा सदस्यहरु समाजवादीमा खुलेका छन् भने अधिकांश जनप्रतिनिधि पुनः एमालेमै फर्किएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width